कैलालीमा बाढी : बालक बेपत्ता
टीकापुर : कैलालीको दक्षिणी भजनी नगरपालिका वडा नं. ८ जनकपुरका एक बालक बाढीमा बगेर बेपत्ता भएका छन्। बुधबार बिहान बाढीमा बगेर स्थानीय ९ वर्षका बालक स्केल चौधरी बेपत्ता भएका हुन्।
उनका काका कृष्ण चौधरीले पथरैया नदीबाट गाउँ पसेको बाढीले स्केललाई बेपत्ता बनाएको बताए। उनी गाउँमा बाढी पसेपछि सुरक्षित स्थानतर्फ जाँदै गर्दा बेपत्ता भएका थिए। पथरैया नदीबाट गाउँ पसेको बाढीले सबैजसो घर डुबानमा परेका छन्। स्थानीयले घरमा भएको सबै खाद्यान्न बगाएको बताएका छन्।
भजनी नगरपालिकाका धेरैजसो वडाका बस्ती डुबेका छन्। उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय युवा जुटेका छन्। पुथ्वीपुर प्रहरी चौकीका इञ्चार्ज चंख कठायतले लालबोझीका ६० जनालाई उद्दार गरेर विद्यालयमा राखिएको बताए। उनले कान्द्रा र मोहना नदीमा पानीको सतह बढिरहेकाले उद्धार कार्यमा निकै कठिनाइ भैरहेको जानकारी दिए।
सोनाहाफाँटा प्रहरी चौकीले उद्धार सामाग्री नभएका कारण बाढीमा फसेका व्यक्तिको उद्धारमा समस्या भएको बताएको छ। त्यहाँ कार्यरत एक सुरक्षाकर्मीले बाढी पसेका बस्तीका बासिन्दालाई आफ्नै ढंगले सुरक्षित बस्न आग्रह गरिरहेको बताए।