चाडको चहलपहल र कोरोना कहर

चाडको चहलपहल र कोरोना कहर

साउन महिना लागेसँगै चाडपर्व तथा मेलाहरूको लहर सुरु भएको छ। सहर तथा गाउँका मन्दिरमा भक्तजनको भीड बढ्न थालेको छ। जात्रा र मेला चलाउनुपर्ने भएकाले समुदायमा पनि मानिसको चहलपहल बढिरहेको छ। चाडपर्वको चटारोसँगै कोभिड– १९ को संक्रमण जोखिम पनि बढ्दो छ। यतिखेरको आवश्यकता पर्व र मेलाको जगेर्ना पनि हुने र संक्रमण पनि नफैलिने गरी गतिविधि सञ्चालन गर्नु हो। यस्तो बेलामा कोभिड नियन्त्रणका लागि सरकारको मात्रै मुख ताक्नुभन्दा जनता आफैँ सचेत हुनु बुद्धिमानी हुन्छ। सबैमा आफू सुरक्षित भएमात्रै सबै सुरक्षित रहन्छन् भन्ने भावना जरुरी छ।

जात्रा, मेला तथा चाडपर्व नेपाली समाजका पहिचान हुन्। फरक जाति र भाषा भएजस्तै संस्कार पनि भिन्नभिन्न छन्। यी संस्कार हाम्रा अमूल्य निधि हुन्। संस्कार टिकाइराख्न सक्यौं भने मात्रै आफ्नो पहिचानलाई जीवन्तता दिन सक्छौं। यसैका आधारमा सयौं वर्षदेखि चलिआएका पूजापाठ, जात्रा, चाडपर्वलाई समुदायहरूले आफ्नै ढंगले निरन्तरता दिइरहेका छन्। नेपाली समाजमा महत्वपूर्ण मानिने नागपञ्चमी भर्खरै मनाइएको छ। जनैपूर्णिमा, गाईजात्रा, हरितालिका तीजहरू सन्निकट छन्। यी सबै पर्वमा आउजाउ धेरै हुन्छ। साथै धार्मिक स्थलहरूमा पनि भीड हुन्छ। यी पर्वकै कारण पशुपति, डोलेश्वर, स्वयम्भू, बौद्धनाथलगायत उपत्यकाभित्र र बाहिरका शक्तिपीठमा पूजापाठ गर्नेको घुइँचो लाग्छ। नेपाली समाजको बनोट हेर्दा ‘कोभिड संक्रमण बढ्छ, धार्मिक स्थलमा भीड नगर’ भन्न सकिने अवस्था छैन। किनकि संविधानले नै धर्मअनुसार रीतिरिवाज र संस्कार अंगीकार गर्ने अधिकार नागरिकलाई दिएको छ। यो संवैधानिक व्यवस्थालाई कुण्ठित गर्ने अधिकार कसैलाई छैन। आस्थाको धरोहर यी स्थललाई कसरी सुरक्षित बनाउने सबाल नै निकै महत्वपूर्ण रह्यो।

कोभिड संक्रमण न्यूनीकरणका लागि मन्दिर जाँदा सामाजिक दूरी कायम गर्नु, मास्क र स्यानिटाइजरको प्रयोग तथा पूजापाठ र दर्शनपछि साबुनपानीले हात धुने पर्याप्त व्यवस्था गर्नुपर्छ। स्थानीय स्तरमा हुने जात्रा तथा मेलालाई पनि व्यवस्थित गरिनुपर्छ। यतिखेरको विषम परिस्थति हेरेर विगतभन्दा फरक ढंगले कसरी जात्रा मनाउन सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ। यसरी नै सञ्चालन गर भनेर कसैले पनि बाध्यकारी व्यवस्था लागू गर्न मिल्दैन। यस्ता संस्कारलाई हरेक समुदायले आफ्नो जीवनशैली र पद्धतिसँग जोडेका हुन्छन्। यस्तो अवस्थामा स्थानीय स्तरमा क्रियाशील सामाजिक संस्था, आमा समूह, युवा क्लबलगायतका संस्थाको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। मेलालाई व्यवस्थित गर्ने विषयमा सरकारी संयन्त्रसँग समेत सहकार्य गरेर चेतनामूलक अभियान चलाउन सकिन्छ। कतिपय ठाउँमा सयौं वर्षदेखि मनाउँदै आएका पर्वहरू कोरोनाकै कारण स्थगित गरिएका छन्। उपत्यकाकै केही जात्रा कोरोनाकै कारण तोकिएको समयमा सम्पन्न हुन सकेनन्। तर पनि मन्दिर तथा शक्तिपीठमा नित्यपूजा भने भइरहेको छ।

रोक्न नमिल्ने वा नसकिने जात्रालाई भने छोटो विधि अपनाएर भए पनि सञ्चालन गर्नुपर्छ। पूजापाठका नाममा घरबाट टाढाको मन्दिर जानुपर्छ र त्यहाँ गएर फूल, अक्षता चढाए मात्रै पुण्य प्राप्ति हुन्छ भन्ने मान्यतमा पनि पुनर्विचार गर्नुपर्ने बेला भएको छ। सास रहे आश भनेजस्तै फेरि पनि यस्ता धार्मिक गतिविधि चलाउन ज्यानको सुरक्षा महत्वपूर्ण हुन्छ भन्ने भावना सबैमा हुनुपर्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.