सम्भव छ जातविहीन समाज ?

सम्भव छ जातविहीन समाज ?

जेठ महिनाको १० गते पश्चिम रुकुमको सोतीमा जाजरकोटका नवराज विकलगायत उनका ६ जना साथीको एकै ठाउँमा ‘जातीय नरसंहार’ भयो। मल्ल थरकी एक युवतीसँग प्रेम गर्नु नवराजको कथित अपराध थियो। त्यो घटनालगत्तै नवलपरासीकी अंगिरा पासीको हत्या अथवा आत्महत्या गर्न बाध्य पारिएको र जेठ अन्तिम साता धनुषा, सबैलाका शम्भु सदा (मुसहर) लाई प्रहरी हिरासतमै हत्या गरिएका आदि क्रूर हत्याका घटना भए। यी जातका कारणले ज्यान गुमाउन पुगेकाहरूका दुःखद घटनाले मनुस्मृतिको एक स्लोक ‘...धर्माे रक्षति रक्षित’ को पालना गरिएको देखिन्छ।

धर्मो रक्षति रक्षित अर्थात् ‘तिमी धर्मको रक्षा गर, तिम्रो सुरक्षा धर्मले गर्छ।’ सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लामा अझै पनि छाउपडी प्रथा जीवितै छ। त्यस ठाउँका केही बुज्रुक व्यक्तिसँग छाउपडी प्रथाका कारणले चेलीबेटी, आमा, दिदीबहिनी अकाल मृत्युको मुखमा पुग्ने, बलात्कृत हुनुपर्ने समस्या भयो। छाउगोठ भत्काउनुपर्‍यो र कुप्रथाको अन्त्य गर्नुपर्‍यो नि भन्दा उनीहरूको जवाफ थियो, ‘मर्न त मर्छन् नि, तर मारिन्छन्, बलात्कृत भए भन्दैमा धर्मै त्याग्नु त भएन नि !’ सोतीका मल्ल या कथित उपल्ला जातधारीको बुझाइ पनि त्यस्तै हो। दलितसँग छोरीको बिहे हुनबाट रोक्न बरु हत्या गरिदिने। जेल सजाय हुन्छ, थाहा छ, बरु जेल बस्ने तर दलितले छोरी बिहे गरे, धर्म मासिन्छ, इज्जत जान्छ। अर्थात् ‘धर्माे रक्षति रक्षित। जेल जान, दुःखकष्ट भोग्नुपरे पनि भोग तर धर्मको नास हुन नदेऊ।’ देशको संविधान, जनयुद्ध, माक्र्सवाद, भौतिकवादभन्दा ठूलो र अकाट्य जातवाद याने वर्ण व्यवस्था। अब बहस गरौं– वर्ण व्यवस्था या जात व्यवस्था के हो ? जातविहीन समाज निर्माण गर्न के सम्भव छ ?

वर्ण कि जात व्यवस्था ?

ब्राह्मण धर्मको सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेदमा ब्रह्माको शरीरबाट चार वर्णको उत्पत्ति भएको भनिएको छ। ती चार वर्ण हुन्— ब्राह्मण, क्षत्री, वैश्य र शूद्र। त्यहाँ ब्रह्माको मुखबाट ब्राह्मण, छातीबाट क्षत्रीय, पेटबाट वैश्य र पैतालाबाट शूद्रको जन्म भयो भनी भ्रामक, असम्भव र प्राकृतिक सिद्धान्तविपरीतको काल्पनिक व्यवस्था गरिएको छ। त्यसैलाई अन्धभक्तिपूर्वक अनुसरण गरिँदै आइएको छ। जे होस्, वर्ण व्यवस्थाको आधार यही हो।

त्यस्तै ब्राह्मण धर्मकै पवित्रतम् ग्रन्थ मानिने भागवत गीता सारमा भनिएको छ, ‘वर्ण भनेको रङ नै हो। रङ पुस्तान्तरणसँगै बदलिन सक्छ। जस्तै– गोरो वर्ण या रङका व्यक्तिको सन्तान, दरसन्तान कालो वर्णको र कालो वर्ण या रङका व्यक्तिको सन्तान, दरसन्तान गोरो वर्णको जन्मिन सक्छन्। तथापि रङ बदलिएजसरी वर्ण व्यवस्था बदलिन सक्दैन। वर्ण व्यवस्था जन्मका आधारमा निर्धारण हुन्छ, कर्म (काम) का आधारमा होइन।’ यहाँ बुझ्नुपर्ने कुरा के छ भने असल गुण, कर्म, शिक्षा आदिले शूद्र ब्राह्मण बन्न सम्भव छैन। ब्राह्मण बन्न ब्राह्मण कूलमा जन्मिएकै हुनुपर्छ। अर्थात् ब्राह्मणी व्यवस्थामा शूद्र ब्राह्मण बन्न सक्ने कुनै व्यवस्था, उपाय र सम्भावना छैन।

राजनीतिक, सामाजिक, धार्मिक र आर्थिक मुद्दाहरूमा जातीय मुक्तिका कुरा उठाऔं। जातीय विभेदका समस्या समाधान नगरेसम्म समाज र राष्ट्रको उन्नति सम्भव छैन।

ऋग्वेद आदि धार्मिक ग्रन्थहरूमा गरिएका वर्ण व्यवस्थाबमोजिम नै मनुस्मृति आदिमा काम, कर्तव्य र जिम्मेवारी बाँडफाँट र विभाजन गरियो। गीतामै पहिलो र दोस्रो वर्ण ब्राह्मण र क्षेत्री दुई जातीय तथा वैश्य र शूद्र वर्णचाहिँ एक जातीय हुन्छ भनिएको भए पनि वैश्य र शूद्रका झन् धेरै जाति र उपजातिमा विभाजन गरियो।

जात कुनै व्यवस्था होइन, बरु वर्ण व्यवस्थाको उपव्यवस्था जातलाई मान्न सकिन्छ। कतिपयको बुझाइमा शूद्र (दलित) लाई समानता दिने या छुवाछूत व्यवहार हटाइदिएपछि जात व्यवस्थाको अन्त्य भइहाल्छ। ब्राह्मण आदि वर्ण व्यवस्था यथावत् राख्दा हुन्छ र ठीक छ भन्ने गलत मान्यता छ, त्यो भ्रामक र गलत हो। जातीय विभेद तथा छुवाछूत व्यवहार (जसलाई हाम्रो संविधान र कानुनले फौजदारी अपराध मान्छ।) को आधार हिन्दु धार्मिक राजनीति हो। वर्ण व्यवस्थाको अन्त्यविना जातीय विभेद र छुवाछूतको अन्त्य हुँदैन। समानता र अधिकार दलितका मूल मुद्दा हुन्। वर्ण व्यवस्थाको मूल आधार ब्राह्मणवाद हो। त्यसैले दलितलाई विभेदमुक्त गर्ने कुरा दलितमा निर्भर रहँदैन बरु ब्राह्मणवादको खारेजीबाट मात्रै सुरुवात हुनेछ।

जातविहीन समाज सम्भव छ ?     

जातविहीन समाजको अवधारणा के हो ? जातविहीन समाज बनाउने कि विभेदविहीन समाज बनाउने ? प्रश्नहरूमा जस्तै अवधारणा र बुझाइमा अन्योल व्याप्त छन्। एक विश्वव्यापी मान्यता स्थापित छ— मानिसको जात मानिस नै र मात्रै हो, अन्य हुँदैन। तर त्यो कुरा व्यवहारमा लागु भएको खै त ? मानिसबीचका भिन्नता प्रकृति, संस्कृति र राजनीतिको उपज मात्रै हो। त्यसो भए मानिसहरूको नश्ल, जात, रङ, धर्म, भाषा आदिका आधारमा किन विभेद गरियो÷गरिँदै छ ? यी सबै अन्यलाई लुट्न, दबाउन, शासन लाद्न, अन्याय गर्न र आफू उच्च देखाउन गरिएका षड्यन्त्र मात्रै हुन्।

जातविहीन समाज निर्माण गर्नुको अर्थ दलित समुदायको मात्रै परिवर्तन होइन। बाहुनदेखि दलितसम्मले आफ्नो कथित जातमा गरिने गौरव त्याग्नुपर्छ। जात केही होइन भने बाहुन हुनुमा किन घमण्ड र गौरव गर्ने ? जनै भिर्ने, बाहुन कूलमा जन्म हुनुमा आफूलाई उच्च सम्झिने र जातका आधारमा विशेषाधिकार प्रयोग गर्ने अनि अरूलाई भने जात त्याग भन्ने ? स्मरण रहोस्, जातीय विभेदको कारण तल छैन, कथित माथि नै आधार हो।

जातविहीन समाज निर्माणका उपाय छन्, विधि र पद्धति छन्। त्यसको पहिलो खुट्किलो जातमाथिको गौरव त्याग्नु हो। कथित कम्युनिस्टहरू जातका कुरा गर्न निषेध गर्ने गर्छन् र भन्ने गर्छन्, ‘वर्गको कुरा गरौं, जातको होइन।’ जातीय समस्या हाम्रो प्रमुख समस्या हो। समस्याको निक्र्यौल गरेपछि मात्रै समाधान निकाल्न सकिन्छ। त्यसैले राजनीतिक, सामाजिक, धार्मिक र आर्थिक मुद्दाहरूमा जातीय मुक्तिका कुरा उठाऔं। जातीय विभेदका समस्या समाधान नगरेसम्म समाज र राष्ट्रको उन्नति सम्भव छैन। सभ्यता, पूर्वीय मूल्य—मान्यता, विकास र स्थायी शान्तिको वाधक हो वर्ण व्यवस्था। यसको अन्त्यविना जात व्यवस्थाको अन्त्य असम्भव छ।

हालसम्म पनि कथित सुधारवादी ब्राह्मण भनिनेहरू वर्ण व्यवस्था होइन, जात व्यवस्थाको अन्त्य चाहिरहेका छन्। भन्दै आएका छन्– वर्ण व्यवस्था ठीक छ, त्यहाँ विभेद छैन। तथापि यो सरासर झुट हो। कसैका लागि वर्ण व्यवस्था सही लाग्ला, तर हाम्रो समुदाय त्यसैका कारण हजारौं वर्षदेखि विभेद र बहिष्करणमा पिल्सिँदै आएको सत्य लुकाउन सकिँदैन। अनि हामी कसरी भन्न सक्छौं, वर्ण व्यवस्था वैज्ञानिक छ ? यो सम्भव छैन। बरु सुधारवादीहरूले तथ्य बोल्ने र सुधार गर्ने आँट गर्नुपर्छ। दलितीकरणको अन्त्यले मात्रै वर्ण व्यवस्थाको अन्त्य हुन सक्दैन। वर्ण व्यवस्था लागु रहुञ्जेल सभ्य, समृद्ध र शान्त समाज स्थापित हुनै सक्दैन।

अब हामी रोजौं, जातविहीन समाज निर्माण गर्ने या विभेदविहीन ? जातीवादी मानसिकता बोकेर या जातवादी समाज जोगाएरै विभेदविहीन समाज निर्माण गर्नु असम्भव प्रायः देखिन्छ। समाजमा जातको भ्रम यति गढेर बसेको छ कि जात स्वीकारेर विभेद अन्त्य गर्न सयौं वर्षसम्म सम्भव हँुदैन। बरु जातविहीन समाज निर्माण गर्न सके विभेदबाट मुक्ति प्राप्त गर्न सहज हुनेछ। ज्ञातव्य होस्, जातविहीन समाज निर्माणको अर्थ शूद्र (दलित) हटाउँदैमा प्राप्त हुने होइन। सबै वर्णको खारेजीविना जातविहीन मानसिकता र समाजको कल्पना गर्न सकिन्न। जातविहीन समाज बनाउन सबै जातको नष्ट गरी मानवको जात मानव एक मात्रै हो भन्ने तथ्य स्थापित गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.