आलोचना, आन्ट्स र भ्रमानुभूति

आलोचना, आन्ट्स र भ्रमानुभूति

नकारात्मक सोच र आलोचना गर्ने बानीले तत्कालका लागि सन्तुष्टि दिए पनि दीर्घकालीन व्यापक असन्तुष्टि दिन्छ


संसारमै सबैभन्दा तीव्र गति भएका चिज हुन्– मान्छेका मन वा विचार। मान्छेको मन एक मिलिसेकेन्डभन्दा कम समयमा आफू रहेको ठाउँबाट पृथ्वीको अति दूर ठाउँमा मात्र होइन, चार लोक चौध भुवन, आकाश र पातलसम्म पुग्न सक्छ। मान्छेको मानसिकता हरक्षण सक्रिय रहन्छ, चाहे जागा होस् वा निदाएको होस्। विवेकले काम गर्ने गति र प्रकार भने जागा र निद्रा अवस्थामा फरक हुन्छ।

नेसनल साइन्स फाउन्डेसनको खोजअनुसार जागा अवस्थामा औसतमा एकजना व्यक्तिमा एक दिनमा १२ हजारदेखि ६० हजारसम्म विचार प्रवाह हुने गर्छन्। ती प्रवाह हुने विचारमा ८० प्रतिशत मानिसमा ८० प्रतिशत नै विचार नकारात्मक हुने गर्छन् र २० प्रतिशत विचार मात्र सकारात्मक हुन सक्छन्। ती विचारमा ९५ प्रतिशत दोहोरिरहने खालका हुन्छन्। सकारात्मक विचार दोहोरिरहेमा व्यक्तिमा सकारात्मक दृष्टिकोण निर्माण हुन्छ। तर २० प्रतिशत मात्र सकारात्मक सोच हुन्छन्। बाँकी सबै नकारात्मक। ८० प्रतिशत नकारात्मक सोच र विचार दोहोरिरहने सम्भावना बढी हुने गर्छ र बहुसंख्यक यस्तो सोचका सिकार हुन्छन्। यसरी दोहोरिरहने नकारात्मक सोच र विचारलाई स्वास्थ्य विज्ञानले ‘आन्ट्स’ अर्थात् अटोमेटिक निगेटिभ थट्स भन्छ।

नकारात्मक सोच एक प्रवृत्ति हो। नकारात्मक सोच व्यक्तिको मानसिकतामा दोहोरिरहे भने यस्तो सोच व्यक्ति स्वयंले थाहा नपाउने गरी एक मानिसक रोगका रूपमा विकास हुन्छ। अनि व्यक्तिमा जबर्जस्त निगेटिभ थट गाइडेड दृष्टिकोण बन्छ। व्यक्ति हरेक कुरा, कार्य, वस्तु, बोलाइ वा लेखनमा नकारात्मकताको मात्र खोजी गर्छ। भनिन्छ– संसारमा दोषविहीन विल्कुल राम्रो र दोष मात्र भएको विल्कुल नराम्रो भन्ने कुनै कुरा हँुदैन। हरेक व्यक्तिमा केही न केही मानवीय दोष वा गल्ती हुने गर्छन्। आन्ट्सका रोगीले राम्रा पक्षलाई देख्दैनन्, नराम्रा पक्षको मात्र खोजी गर्छन्। नकारात्मक सोच बढ्दै गएको खण्डमा व्यक्ति डिप्रेसनको रोगी बन्न सक्छ।

नकारात्मक सोचबाट निर्देशित बोलाइ, लेखाइ वर्तमान समयका बिकाउ माल बनेका छन्। पत्रपत्रिका, टीभी, रेडियो तथा अनलाइन अन्तर्वार्ता वा लेख पनि ती मात्र बढी सुनिन्छन्, पढिन्छन् र हेरिन्छन्, जसमा नकारात्मक विचार प्रवाह गरिएका अर्थात् खरो र कटु आलोचना गरिएका हुन्छन्। हाम्रा कलम र वाणी पनि कुनै कुराको सकारात्मक पक्षमा भन्दा बढी नकारात्मक कुरा चलाउँदा आनन्दानुभूति गर्छौं अनि सञ्चारमाध्यमको पनि बढी माग यस्तै विचार प्रवाहको हुन थालेको छ। किनकि बजारमा सकारात्मकभन्दा नकारात्मक विचारको भाउ र माग ह्वात्तै बढेको छ। व्यक्ति, संस्था वा सरकारका कमजोर पक्ष ब्यानर न्युज बन्छन् तर सकारात्मक कुरा प्रायः लेखिँदैनन्। लेख्नैपरे कतै कुनाकाप्चामा थोरै लेखिन्छन्। सञ्चारमाध्यम व्यापारिक संस्था पनि हुन्। त्यसैले एक व्यापारीले जुन माल बजारमा बढी बिकाउ हुन्छ, त्यही मालको उत्पादन बढी गर्छ। समाजमा आलोचनाका खुराक बढी बिक्री हुन्छन्। किनकि हामी बहुसंख्यक राम्राभन्दा नराम्रा कुराको खोजीमा हुन्छौं।

अंग्रेजीमा एउटा भनाइ छ, ‘लेम ब्लेम्स ओदर्स’ अर्थात् अबुझले अरूलाई आरोप लगाउँछ। कमजोर ज्ञानका कारण आलोचनामार्फत सुझाव दिनसमेत प्रयास गर्छ। अरूको आलोचना गर्नु आफ्नो तस्बिर अरूमा हेर्नु पनि हो। आफूसँग सुषुप्त चाहनामा रहेका पूर्ण हुन नपाएका नराम्रा दमित चाहना अरू कसैले पूरा गरेको देखेमा वा थाहा पाएमा व्यक्तिभित्र सायद ईष्र्या जाग्छ होला अनि आलोचना गर्न हौसिन्छ। आफूमा रहेका अस्वीकृत विचार, नराम्रा पक्ष जब अरूमा भएको शंका लाग्छ वा देख्छ अनि व्यक्ति आलोचनामा उत्रिन्छ, आत्मसन्तुष्टि लिन्छ।

नकारात्मक सोच एक मानसिक रोग हो, जुन व्यक्तिको प्रवृत्तिमा रूपान्तरण हुन्छ र व्यक्तिले हरबखत, हर कुरालाई नकारात्मक चस्मा लगाएर हेर्छ। नकारात्मक कुराको मात्र खोजी गर्छ, उसको दिमागमा नकारात्मक सोच मात्र सल्बलाइरहेका हुन्छन्, नकारात्मक कुराको खोजीमा उसका कान र आँखा सधैं चनाखो रहन्छन्। यो रोग कोरोना भाइरसभन्दा पनि खतरनाक हो। कोरोना भाइरसले त केही दिनमै जीवन निल्छ, यो रोगले त आफ्नै जीवन तड्पाउँछ अनि अरूलाई पोलिरहन्छ।

पश्चिमाको नेसनल साइन्स फाउन्डेसनले पत्ता लगाएको कुरा हाम्रा कविशिरोमणि लेखनाथ पौड्यालले कविता ‘सत्य सन्देश’ मा एक शताब्दीअगाडि नै भनेका छन्– दोषी मातापिताका वचन गुरुजनादेश निस्शेष दोषी रसत्यात्मा मित्र दोषी गृह परिजनको चाल देखिन्छ दोषी। पत्नीको प्रेम दोषी अमृतमय मीठा वेदका वाक्य दोषी र यो सारा सृष्टि दोषी विधिवश छ भने आफ्नो दृष्टि दोषी।

कुनै व्यक्ति, नेता, मन्त्रालय, कार्यालय वा संघसंस्थाले गरेका राम्रा कार्यका बारेमा भन्दा ती संस्था वा व्यक्तिले गरेका कामका नराम्रा पक्ष मात्र हेरेर बोलिन्छ र लेखिन्छ भने ती लेख र बोलीले सञ्चारमाध्यमको सहज निमन्त्रणा पाउँछन् र पाठक र श्रोताले सहज बजार पाउँछन्। कुनै उच्च व्यक्ति वा संस्थाको जति खरो आलोचना गर्न सक्यो त्यति नै सञ्चारमाध्यमको आकर्षक व्यक्ति बनिने अनि त्यही बन्नका लागि पनि नकारात्मक पक्ष खोज्ने, त्यस्तै कथा बुन्न मान्छे अभिप्रेरित हँुदै जाने र अन्ततः आन्ट्सको सिकार बन्ने सम्भावना पनि उत्तिकै रहन्छ। उखुको डाठ मीठो भएर के गर्नु त्यसमा फल फल्दैन, सुन देख्दा राम्रो र महँगो भएर के गर्नु, बास्ना आउँदैन भनेर आलोचना मात्र गर्ने प्रवृत्ति वृद्धि हँुदै गयो भने समाज, घरपरिवार जर्जर बन्दै जान्छन् अनि जीवन जटिल बन्दै जान्छ। आफूमा भएका राम्रा पक्ष देख्ने व्यक्तिले मात्र अरूका पनि राम्रा पक्ष देख्छ।

हरेक कुरामा खोट देख्ने नकारात्मक सोच भएका व्यक्ति अरूको आलोचनामा आफ्नो ऐना हेर्न बिर्सिएको हुन्छ, स्वार्थी हुन्छ, आत्मकेन्द्रित हुन्छ। अरूलाई तल झार्दा वा अरूका कमजोरी औंल्याउँदा आफूमाथि उठेको भ्रमानुभूति लिन्छ। जो व्यक्तिले आफूमा लघुताभास र ईष्र्या पाल्छ, उसले नै अरूका झीनामसिना कुरा कोट्याएर आलोचना गर्दा मज्जा मान्छ। अरूलाई कमजोर देखाएर आफू बलियो भएको आभास गर्छ र भ्रमको आत्मसन्तुष्टि लिन्छ। तर वास्तवमा अरूका भन्दा आफ्नाले कोरेको रेखा लामो बनाउन अरूको रेखा इरेजरले मेट्नभन्दा आफूले लामो रेखा कोर्न राम्रो हुन्छ। अरूको रेखा इरेजरले मेट्न थाल्दा पन्ना नै च्यातिन सक्छ, बरु आफूले लामो रेखा कोरिदिए त अर्को स्वतः सानो देखिन्छ।

अर्कातर्फ नकारात्मक सोच भएको वा आलोचना मात्र गर्न उद्यत् व्यक्तिको आत्मा कमजोर हुन्छ किनकि ऊ तिम्रो क्षमता देखेर आत्तिएको हुन्छ र आफूमा तिम्रो जति क्षमता नभएकोमा हीनताबोध गरेको हुन्छ, लघुताभासले सताएको हुन्छ। आफ्नो अन्तरमनलाई आलोचनाको मलम लगाएर शान्त पार्ने प्रयास गर्छ। जब तिमी शैक्षिक, राजनीतिक आर्थिक वा अन्य कुनै क्षेत्रमा प्रगति, विकास गर्छौ, व्यक्तित्व निर्माण गर्छौ; उसले आफू कमजोर भएको र असुरक्षित भएको महसुस गर्छ अनि आलोचना गर्न सुरु गर्छ।

आन्ट्स वा इगोमानिया रोग कोरोना भाइरसभन्दा खतरनाक छ। कोरोनाले त केही दिनमै जीवन निल्छ, तर यो रोगले त आफ्नै जीवन तड्पाउँछ अनि अरूलाई पोलिरहन्छ।

त्यस्तै व्यक्तित्वको प्रतिस्पर्धामा जब तिमीलाई वाधक सोच्छ अनि आलोचनाका माध्यमबाट तिमीलाई पन्छाउन र उछिन्न प्रयास गर्छ। तिम्रो बढ्दै गरेको खुबी, क्षमता र आकर्षण बाट भयभीत हुन्छ, आफैं असुरक्षित भएको ठान्छ अनि आलोचनाको आक्रमणमार्फत आफ्नो कमजोरी लुकाउन चाहन्छ। तिमीले नयाँ र धेरैलाई मन पर्ने विचार प्रवाह गर्न थाल्यौं भने उसले आफ्नो विचारको सुरक्षा गर्न र तिम्रो विचार र व्यवहारले उसलाई पाच्य भएन भन्ने जानाकारी दिन पनि तिम्रो विचारको आलोचना गर्न थाल्छ। जब ऊ आफ्नै निजी समस्यासँग जुध्न नसकेको हुन्छ, प्रगति गर्न नसकेको हुन्छ अनि तिमीलाई पनि आफ्नै साइजमा ल्याउन चाहन्छ र कटु आलोचनाको अस्त्र प्रयोग गर्छ। तिमीबाट ऊ प्रशंसित हुन पाएको छैन, अपेक्षित व्यवहार पाएको हुँुदैन भने पनि तिम्रो हरेक कुराको आलोचना गर्न थाल्छ।

कहिलेकाहीं नबुझेर वा आफ्नो बुझाइमा दम्भ गरेर पनि तिम्रो आलोचना गर्न थाल्छ। कतै आफैं आलोचित भएको विगत वा वर्तमानले पनि तिम्रो आलोचना गरेर आत्मसन्तुष्टि लिने प्रयास गर्छ। तिमीले उसलाई लामो समयसम्म वास्ता गरेनौ भने पनि तिमीलाई आफूप्रति आकर्षित गराउनसमेत आलोचना गर्छ। यता आन्ट्स वा इगोमानियाका रोगीले तिमीलाई आलोचनामार्फत कमजोर बनाउन चाहन्छन् तर उनलाई थाहा हुँुदैन कि तिमी झन्झन् बलियो बन्दै गएका हुन्छौ।

विस्टन चर्चिल भन्छन्, ‘आलोचना हुनु तिमी आफ्नै खुट्टामा उभिएका छौ भन्ने जानकारी हो।’ चर्चित निबन्धकार अस्कर वाइल्ड भन्छन्, ‘आलोचना नै आत्मकथाको भरपर्दो रूप हो।’ केही थोरै व्यक्ति जसले तिमीलाई औधि माया गर्छन्, तिनले पनि आलोचनामार्फत तिमीलाई सही बाटोमा हिँडाउन, बलियो बनाउन चाहेका पनि हुन सक्छन्। जुनसुकै उद्देश्य र कारणले आलोचना गरिएको भए पनि आलोचनाले आलोचना गर्ने व्यक्तिको मनोविज्ञान बुझ्न सजिलो बनाउँछ।

जब आलोचना गरिएको व्यक्ति डग्दैन तब आलोचना गर्ने व्यक्ति निराश हुन्छ अनि डिप्रेसनको वा क्रोनिक स्ट्रेसको सिकार बन्न सक्छ। आलोचना गर्ने बानी र नकारात्मक सोचलेले तत्कालका लागि सन्तुष्टि दिए पनि दीर्घकालीन असन्तुष्टि दिन्छ। आलोचना विश्वव्यापी पीडादायी अनुभव हो। तैपनि आलोचनाले आलोचित व्यक्तिलाई सतर्क गराउँछ, बलियो गराउँछ र सही बाटोमा हिँड्न होसियार गराउँछ। नकारात्मक सोचले आफ्नै लागि पनि सावधानी अपनाउन सहयोग गर्छ तर बढ्दै गयो भने भावनात्मक सन्तुलन गुम्छ, कहिल्यै खुसी हुन सक्दैन। इम्युन सिस्टम कमजोर बनाउँछ। आयु घटाउँछ अनि आफ्नै व्यक्तित्व अव्यवस्थित र भद्रगोल बनाउन सक्छ। कतै हामी धेरै आन्ट्स र इगोमानियाका रोगी बनेका त छैनौं ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.