विमर्शको संघर्षमा राजनीति
जुन संरचनामा राजनीति टिकेको हुन्छ त्यसले नै व्यवस्थाको रूप र आदर्श किटान गर्छ, राज्यसत्ताको मूल चरित्र नहेरी अंशमा बहस गर्नु विषयलाई मोड्नु हो
शक्तिहरू भ्रष्ट हुन्छन्, निरपेक्ष शक्ति त विल्कुल भ्रष्ट हुन्छन्— लर्ड एक्टन
नेपाली राजनीतिमा रमिता र तमासा ज्यादा भयो। इतिहासमा अरूले गरेका गल्ती र पाएका उपलब्धिबाट सिक्न सकिएन। बालुवाटार र शीतलनिवास ‘पार्टी कार्यालयमा’ फेरिँदै गए। कानुनी नेतृत्व आफैं कठघरामा उभिँदै छ। संवैधानिक निकायका हैसियत खुम्चिँदै छन्। सत्ता–सिन्डिकेट अनौठो प्रकारले भ्रष्टतन्त्र (क्लेप्टोक्रेसी) मा जगल्टियो। शक्ति आलोचना कहिल्यै सुन्न नचाहनेहरूले भड्खारामा जाकिँदै गएको पत्तै पाउँदैन।
राजनीतिक नेतृत्वमा ‘नायकै नायक’ ले भरिएका छन्। आफ्नो औचित्य सावित गर्न र कुकृत्य लुकाउन क्रान्ति, त्याग, बलिदान, स्वाभिमान र सिद्धान्तका बारम्बार चर्चा पनि हुन्छन् तर अनुसरण भने गरिँदैन। सबैका नियति नाप्ने औजार भनेको परिणाम हुँदो रहेछ नै। वर्तमानमा कसले केकसो गरिरहेको छ नियालिँदो रहेछ। कुनै समयका नायक अर्को समय खलनायकमा फेरिँदा रहेछन्। पगरी जोगाउनु धेरै गाह्रो। धेरैलाई जलाए पनि आखिर फिलिंगाको अन्तिम नियति या त खरानी हुनुपर्छ या अँगार। दुवै अवस्था पहिलाको हैसियतमा नरहनु हो। आफ्नै भूमिका र निर्णयले घेराबन्दीमा पर्दै गएपछि भने नयाँ फन्डा फ्याँकिदिएर सबै कृत्य÷कुकृत्य बिर्सने परम्परा स्थापित गरिँदै छ।
माउसुली रातभरि सयौं किराफट्यांग्रा खाएर एकाबिहानै भित्तामा टाँगिएका सहिद एवं महापुरुषको फोटोपछाडि लुक्छ। यस्तै स्वभाव महापुरुषका चरित्र स्वीकार नगर्ने तर उनका नाममा शक्ति हत्याउने शासक र नेता हुन्छन् भन्ने कुरा अहिले राजनीतिक रत्यौलीले देखाउँदै छ। क्रान्तिबाट जन्मिएको गणतन्त्रवादी राजनीतिको अवस्था हेर्दा फ्रान्सेली क्रान्ति (१७८९) को चर्चा गर्दै फ्रान्सेली इतिहासकार तथा चिन्तक टकभिलका भनाइ सान्दर्भिक लाग्छ– क्रान्ति दुई चरण भएर गुज्रन्छ। पहिलो चरण, प्रत्येक पुराना अवशेषलाई ध्वंस गर्नमा र दोस्रो चरण, आफैंले नष्ट गरेका कतिपय कुराको पुनरुत्थान गर्नमा। सायद पहिलोमा बढ्ता क्रान्तिकारी हुन् र दोस्रोमा पुरानो शानशौकतमा लोभिनु हो। क्रान्तिले जन्माएका नायकसँग धनदौलत र सरकारी सत्ता नहुँदा पनि आदर्शको नैतिक पुँजी र त्यसले पैदा गरेको इच्छाशक्तिले वर्चश्वशाली थर्कमान हुन्थे तर आज धनदौलत अपरम्पार छ तर पुराना नायक नै निरीह छन्। वास्तविक शक्ति त विचारयुक्त संगठनमा हुँदो रहेछ।
अहंकारग्रसित हुँदा संसार झुकेको सोच्ने ज्ञानेन्द्रले राजतन्त्रै ढल्दै गएको पत्तै पाएनन्। सबैका भक्तरामहरू समयको संकेत गर्नेलाई पुस्तौनी बैरी सोच्छन्। जारजस्तो व्यवहार गर्छन्। दुनियाँलाई रमिता देखाउँदा र देशलाई नै अनिर्णयको बन्दी बनाउँदा सत्ताउन्माद र जनमौनताको फल भावी सन्तानले भने व्यहोर्नुपर्छ।
अहंकारग्रसित हुँदा संसार झुकेको सोच्ने ज्ञानेन्द्रले राजतन्त्रै ढल्दै गएको पत्तै पाएनन्। सबैका भक्तरामहरू समयको संकेत गर्नेलाई पुस्तौनी बैरी सोच्छन्। जारजस्तो व्यवहार गर्छन्। दुनियाँलाई रमिता देखाउँदा र देशलाई नै अनिर्णयको बन्दी बनाउँदा सत्ताउन्माद र जनमौनताको फल भावी सन्तानले भने व्यहोर्नुपर्छ। गैंडाछापे सरकारी मनुवा त शक्तिको फुर्का समाउलान् तर अचम्म त प्रतिपक्ष र सडक किन भेन्टिलेटरमा हो ? अब आमूल परिवर्तन र गणतन्त्रमाथि नै प्रश्न उठ्न थाले। कोरोना र बाढीपहिरो त रामभरोसे नै बनाइयो।
अनुदारवादको चपेटा
अनुदारवादको आत्मिक बल भनेको सिद्धान्तको राजनीति अन्त्यपछि बहुमतमा धार्मिक वा राष्ट्रवादी आवेग भरेर शक्ति सुरक्षित ठान्नु हो। उदारवादी मूल्यको चिहानमा अनुदारवाद फक्रिन्छ र फैलिन्छ। अहिलेको नेकपाको सरकार पनि वाम आवरणमा उग्र दक्षिणपन्थी बहुसंख्यकवादी अनुदारवादी शासन हो। पार्टीमा देखिएका झैझगडा पनि आचारविचार, सिद्धान्त, योजना, नीति, विधि, कार्यक्रम र कार्यान्वयन, अनुशासन, संस्थागत संरचना र पद्धतिका लडाइँ नभई शक्ति प्राप्ति र जोगाउनेबीचको भिडन्त मात्रै हो।
अनुदारवाद आफंैमा कुनै विचारधारा हैन, भीडतन्त्र मात्रै हो। यसको कुनै मौलिक चिन्तन, दर्शन र साहित्य हुँदैन। परम्परालाई श्रेष्ठ भन्ने होड चल्छ र वर्चश्वशाली तप्का कमजोर र अल्पमतप्रति घृणा फैलाएर आफ्नो औचित्य सावितीको प्रयास गर्छ। काल्पनिक धार्मिक प्रतीक र आख्यानको महिमामण्डन गरेर सांस्कृतिक राष्ट्रवाद मौलाउँदै भीडलाई उत्तेजना भर्छ।
सत्ता संरचनालाई त्यस्ता तर्क, औचित्य र प्रमाणिकीकरण गर्दै वाणी दिने ‘प्राज्ञिक’ जमात र मिडिया हुन्छन्। शासकका लहडलाई जनमतमा फेर्न खोजिन्छ। चर्चामा रमाउँदै जनमत जाँच्न गर्न आफैंलाई विश्वास नलाग्ने कुरा पनि कहिलेकाहीं सत्ताधारी बोल्छन्। पक्षमा को–कति छन् ? विरोध केकस्तो र कुन स्तरको हुन्छ ? तर्क कोरल्न को, कति ‘बुद्धिजीवी’ लाग्छन् जाँच गर्नु पनि हो। फाँसीवादउन्मुख शासकहरू जहिले पनि यथार्थ र मिथकलाई घालमेल गर्छन्। यसो गर्नेमा संसारमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो र दोस्रोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि पर्छन्। उनीहरू आलोचनाको सामना गर्न नसकेर ट्युटोमेसी (टयुटरबाट राजनीति) गर्छन्। कोरोना समाधानमा बबुरो बनेको र लिपुलेक उठान भएर गम्भीर कूटनीतिक सक्रियता नभएकाले राम जन्मभूमि र बहुदलीय जनवाद सडकमा छताछुल्ल पारिएको ‘राष्ट्रवाद’ पनि ओली सरकारको त्यही अभ्यास हो।
आफैंले बनाएको कोरोना निर्देशन शासकहरू पालन गर्दैनन्। संकटकै बीचमा हंगेरीका प्रधानमन्त्री भिक्टोर अर्वनले हिडोस पार्टीको सदनमा अत्यधिक बहुमत शक्तिले शक्ति सुरक्षाको आपत्काल लागू गराउँदै संसद्बाट संविधानमा हेरफेर गराए। रूसमा पुटिन आजीवन शासक बन्ने बाटो खोले। धर्मको साहारा रूसी सेनाको नयाँ केथेड्रलको अनावरण भयो। संसारकै एक मात्र धर्मनिरपेक्ष इस्लामिक देश तुर्कीको रेचेप तैयब एर्दोगानको जस्टिस एन्ड डेभलमेन्ट पार्टीले अदालती आदेशमा ऐतिहासिक हाया सोफिया संग्रहालयलाई मस्जिदमा फेरे। हाया सोफिया पहिला गिर्जा थियो भने त्यसलाई अटोमन साम्राज्यले मस्जिदमा फेर्यो। महान् सुधारक अतार्तुक कमाल पाशाले त्यसलाई म्युजियम बनाएका थिए। जसरी सोफिया मस्जिदमा नमाज पढन भिक्टर अर्वन गत शुक्रबार गए, त्यस्तै राममन्दिरको शिलापूजा गर्न नरेन्द्र मोदी अगस्त ५ मा अयोध्या जाँदैछन्। बेला न कुबेला प्रधानमन्त्री केपी ओलीले राम र अयोध्या प्रकरण उठाए।
जरुरीका आधारमा पँुजीवाद मस्तिक कब्जा गर्ने कोसिस गर्छ। पुँजीवादी मिडिया धारणा बनाउन र बहुसंख्यकवाद र वर्चश्वशाली तप्का प्रयोग गर्छ। मूल समस्याबाट ध्याान हटाउने कोसिसमा धर्म, राष्ट्रवाद, अल्पमतप्रति घृणा र युद्ध हो। जनताको ध्यान आवेग र त्रासमा रहेका बेला युद्ध र महामारी भ्रष्टसत्ताको अवसर बन्छ।
चुनौतीको घेरा कस्सिँदै छ
अत्याधुनिक चुनौतीको सामना परम्परा विधिले सम्भव हुँदैन। विपत्ति दुई किसिमले निम्तिन्छ। प्रथम, प्राकृतिक कारण जो मानव बसमा हुँदैन। दोस्रो, विचारमा भाइरस लागेपछि मानिसको वशमा त हुन्छ तर गलत आचरणले गर्दा अनियन्त्रित बनिदिन्छ। संकट सामने आइपुग्दा पनि सत्ताधारी पूर्ण सुरक्षित छौं भन्ने भ्रममा हुन्छन र विरोधका स्वर कतै सुन्न नपरोस् भनेर विधिमा तोडमरोड गर्छन्। अदालत उनको पापको डाइल्निरर्स, धर्म र आस्था टेको बनेर हाइसञ्चो बनाइदिन्छ। कोरोना कालले देखायो– धर्मविना पनि मान्छे बाँच्न सकिँदो रहेछ तर विज्ञानबेगर चल्नै सकिँदो रहेनछ। जोजफ स्टिग्लिटज (अर्थशास्त्रमा नोबल पुरस्कारप्राप्त) आस्था वा विश्वासले महामारीमा भएका मृत्युको पीडा सहन हामीलाई मद्दत गर्न सक्छन् तर तिनले मेडिकल र वैज्ञानिक ज्ञानको स्थान लिन सक्दैनन् भन्छन्।
कोरोना भाइरसभन्दा हंगर भाइरस (भोक) शक्तिशाली रहेछ। महामारी फैलिँदो छ। अब मान्छे काममा निक्ले। यस्तो बेलामा पनि न भ्रष्टाचारमा कमी आयो न शक्ति प्यासमा। नेपाली राजनीति अटोपाइलट मोडमा छ। भाषण त अर्को दिन बिर्सिइँदो रहेछ। भुक्तभोगी भन्छन्– अवरोध पन्छाउने पर्याप्त गति र वेग छैन भने नदी र आँधीसँग आफ्नो बहाब र बाटो बदल्नुबाहेक अर्को विकल्प हुँदैन। हामी असमान पुराना सम्बन्ध भत्काउने आँट गर्नै सक्दैनौं भने नयाँ युगमा प्रवेश नै गर्न सक्दैनौं।
मध्यम वर्ग जहिले पनि आफ्ना चोटिलो धारणा राख्थ्यो। तर अहिले निराशाको अपसाद झेलिरहेको छ। लिलामीका सूचनाले पत्रिकाका पाना भरिँदै छन् र आत्महत्याको ग्राफ बढ्दो छ। मानसिक रोगीका संख्या थपिँदा छन्।
अन्त्यमा
१. लिबरल कम्युनिस्ट र अल्पमत, लेखक, कवि, कलाकार, बुद्धिजीवीप्रतिको चरम घृणा।
२.वर्चश्वशाली अधिपत्यमाथि प्रश्न गर्नु ठूलो अपराध मानिन्छ। अलिकति कोट्याइदिए मात्र भित्र लुकेको वर्चस्वाद, अहंकार, उच्च जातीय दम्भ देखिन्छ। सर्मनिरपेक्ष बनेर देखिन्छ।
३. देशभक्ति र राष्ट्रवाद फरक कुरा हुन् तर अनुदारवादी भय, असुरक्षा र लालसाका पासा फ्याँकेर सत्तामा पुग्छन्, टिक्छन् र फैलाउँछन्।
४. जनतामा सोच्न सक्ने क्षमताको ह्रास हुन्छ। समाजलाई हेर्ने नजरिया निजी र पुँजीकेन्द्रित हुन्छ। भ्रम पनि एक युद्ध कौशल हो भनेर राज्यप्रायोजित फेक न्युजको बाढी आउँछ। सदाचार, दूराचार र व्यभिचार घालमेल हुन्छन्।
५. भीडले अवैज्ञानिक चेतको संरक्षण र विकासमा जोड दिन्छ।
६. भीडलाई उत्तेजनाको पेटोल आवश्यक हुन्छ।
७. मुद्दा र नायकको अपहरण र घटनाले मान्छेभित्रको मान्छेलाई नांगो बनाउँछ रऐना देखाउँछ। देशको तस्बिर धुवाँ मडारिरहेको अवस्थामा मिडियामा पनि देखिन्छ।
८. गणतन्त्रको परिणाम उपयोग गर्नु र कारक पक्ष नकार्नु भनेको इतिहासलाई मुर्दाका कथा सोच्नेले गर्छन्।
९. अंशमा टेकेर समग्रमा आक्रमण हुँदै छ। मूल समस्याबाट ध्यान विकर्षण गराइँदै छ।
१०. बालुवाटार र शीतलनिवास नेपाली जनताको लालपुर्जा र स्वामित्व हो; कुनै पार्टीको कार्यालय हैन। हुन पाउँदैन। त्यसलाई स्विकारे जनताले नागरिक नभई रैती आफूलाई माने भो। समय बदलिन्छ र चुनौती थपिन्छन्। नयाँ चुनौतीको सामना नयाँ तरिकाले गरिनुपर्छ।
११. जुन संरचनामा राजनीति टिकेको हुन्छ, त्यसले नै व्यवस्थाको रूप र आदर्श किटान गर्छ। अरू अंशमा पर्छ राज्यसत्ताको मूल चरित्र नहेरी अंशमा बहस गर्नु भनेको विषयलाई मोड्नु हो। अंशमा हैन’ समग्रमा बुझ्न सत्ता चरित्र सिंहदरबार र बालुवाटारमा भन्दा अदालती फैसला र प्रहरी कार्यालयको मुद्दा फाँट नियाल्नुपर्छ।
१२. सत्ताधारी पार्टीको रडको अंशमा सकिने कि समग्रमा सकिने भन्ने हो। माटो जोडिन सक्छ, खपटा नै भएपछि आपसी द्वन्द्व झ्याप्पझुप्प हुनु हो। यसलाई प्रधानमन्त्री ओलीले विपक्षमाथि अख्तियार र अदालतमार्फत तह लगाउने, युद्धकालीन र क्यान्टोन्मेन्ट विषय सक्रिय पार्ने, नयाँ अध्यादेशले शक्ति झन् केन्द्रित गर्न अन्त्यमा संसद् विघटन गरेर चुनावमा जाने तर सत्ता हस्तान्तरण नगर्ने, पार्टी बैठक फेस नगर्ने हुन्छ भने प्रचण्ड–माधव प्रतिपक्षको शक्ति परीक्षण पार्टी बैठकमा र सदनमा सामना गर्ने हुन सक्छ।
१३. संसदीय राजनीतिको हर्स ट्रेडिङ समिट होटल र बैंकक प्रकरण दोहरिने छन्।