सेनाले हटायो राजमार्गको पहिरो
गुल्मी : मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास- सिमलटारी सडकखण्डमा गएको पहिरो नेपाली सेनाले हटाएको छ । लगातारको वर्षाका कारण रेसुङ्गा नगरपालिका-४ सेउघास्थित मन्दिर नजिकै पहिरो खस्दा झण्डै चार महिनादेखि त्यस सडकखण्डमा चल्ने सवारी साधन र पैदल यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य थिए ।
दुई नम्बर बिपत् व्यवस्थापन गण, काली शक्ति गुल्म र वीर भद्र जङ्ग गुल्म गुल्मीका सेनाले तीन दिनसम्म खटिएर पहिरो हटाएको वीरभद्र जङ्ग गुल्म गुल्मीका सेनानी भूपेन्द्र गुरुङ जानकारी दिए ।
तीनदिनसम्म उपसेनानी हरिबहादुर गुरुङको नेतृत्वमा ७५ जना जनशक्तिले सडकमा खसेका ढुङ्गा हटाउने र जोखिममा रहेका रुख कटान गरी पहिरो हटाएको गुरुङले बताए ।
पहिरोको जोखिम हटेसँगै सवारी साधन र यात्रुलाई सहज भएको छ । तम्घास - सिमलटारी सडकखण्ड जिल्लाको पश्चिमतर्फ जाने एकमात्र पक्की सडक हो ।
उक्त सडकखण्ड हुँदै जिल्लाका मदाने,मालिका,ईस्मा र मुसिकोट लगायत छिमेकी जिल्ला प्युठान र वागलुङका समेत सवारी साधन चल्ने गर्छन् ।