फसी देगमा कमसल ढुंगाको थाम प्रयोग
भक्तपुर : भक्तपुर दरबार क्षेत्रस्थित सिलु महादेव रहेको फसी देग मन्दिर पुननिर्माणमा कमसल ढुंगाको थाम प्रयोग गरिएको छ । मन्दिरका चार दिशामा आठवटा बुट्टेदार ढुंगे थाममा प्रयोग गरिएका छन् । जसमध्ये चारवटा थामको अगाडि र पछाडि करिब दुई फिट लामो छिरा परेका कमसल थाम प्रयोग गरिएको स्थानीय अधिवक्ता राजकुमार सुवालले बताए ।
उनले अन्य तीनवटा थाममा कुँडिएको ढुंगे बुट्टाको भाग फुटेपछि सिमेन्ट प्रयोग गरिएकोसमेत बताए ।२०७२ सालको भूकम्पमा क्षति पुगेको मन्दिर अहिले प्राचीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण भइरहेको छ ।
पुरातत्व विभागले भक्तपुरस्थित प्राकृतिक÷जेभी÷सानु सुवाल कन्स्ट्रक्सनलाई उक्त मन्दिर पुनर्निर्माणको ठेक्का दिएको थियो । सोही निर्माण व्यवसायीले फसी देग पुनर्निर्माणको क्रममा कमसल र चिरा परेका ढुंगे थामको प्रयोग गरेको हो ।
कमसल ढुंगा प्रयोगबारे पुरातत्व विभागअन्तर्गत भक्तपुरमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयलाई जानकारी दिँदा पनि कुनै सुनुवाइ नभएको अधिवक्ता सुवालले गुनासो गरे ।
'काठमाडौंस्थित पुरातत्व विभागसम्म पुगेर फसी देग पुनर्निर्माणमा कमसल ढुंगा प्रयोग भएको जानकारी गराएँ, उनले भने,' 'विभागले यस विषयमा भक्तपुरमै रहेको कार्यालयले हेर्ने जवाफ दिएपछि भक्तपुरलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएन ।'
उनले कमसल ढुंगाका थाम राखेरै अहिले फसी देग पुनर्निर्माण धमाधम भइरहेको छ ।यता भक्तपुरस्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी प्रमुख सरस्वती सिंहले फसी देग पुनर्निर्माणको क्रममा कमसल, चिरा परेका, बुट्टा बिग्रेको ढुंगाको थाम प्रयोग गरिएको जानकारी आएको स्वीकार गरिन् । तर कार्यालयले सम्पदा पुनर्निर्माणको अनुगमन र निरीक्षणमात्रै गर्ने भएकाले त्यसबारे विभागमा जानकारी दिइएको उनले बताइन् ।
प्रमुख सिंहले सम्पदा पुनर्निर्माणमा कुनै पनि निर्माण सामग्री कमसल प्रयोग गर्न नपाइने स्पष्ट पारिन् । उनका अनुसार चिरा वारपार भएको ढुंगाले भार थाम्न सक्दैन । यस्ता ढुंगा चिरा फाटेर फकलक्कै दुई टुक्रा हुनसक्छ ।
'फसी देग पुनर्निर्माणको क्रममा कमसल ढुंगा प्रयोग भएकोबारे जानकारी आएको छ,' प्रमुख सिंहले भनिन्, 'यसबारे विभागमा जानकारी गराइसकेका छौं ।'
विभागको विशेषज्ञ इञ्जिनियरसहितको टोलीले त्यसको अध्ययन गरेपछि मात्रै त्यसबारे निर्णय हुने उनको भनाइ छ । यसअघि उक्त मन्दिरभित्र अन्यत्रकै दक्षिणामूर्तिको मूर्ति प्रतिस्थापन गरिएको भन्दै विरोध गरिएको थियो । तैपनि उक्त मूर्ति हटाइएको छैन ।
पछिल्लोपटक थपिएको म्यादअनुसार २०७७ सालको चैतभित्र मन्दिर पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बाध्यता निर्माण व्यवसायीहरुलाई छ । तर मन्दिरको करिब ७० प्रतिशत काम बाँकी भएकाले आगामी चैतभित्र पुनर्निर्माण सकिने सम्भावना नभएको प्रमुख सिंह बताउँछिन् । उनले त्यस बेलासम्मको कामको प्रगति हेरेर म्याद थपको लागि प्रक्रिया अघि बढाइने जानकारी दिइन् ।