अछाममा १२ सय ५० जनाले गरे कोरोना बिमा
अछाम : साँफेबगर नगरपालिकाले ४ सय २५ जनाको कोरोना बिमा गरेका मध्ये ११ जनाले एक लाखका दरले रकम प्राप्त गरेका छन् । नगरपालिकाले २ लाख ५२ हजार खर्च गरेर जनप्रतिनिधि र स्वास्थकर्मीको कोरोना बिमा गरेको थियो ।
प्रतिव्यक्ति ६ सयका दरले बिमा गरिएको हो । १ सय ५६ जना संक्रमितमध्ये ७ जना स्वास्थकर्मी र ४ जना जनप्रतिनिधि संक्रमित भएका थिए । उनीहरुले प्रति व्यक्ति १ लाखका दरले रकम प्राप्त गरेको नगर प्रमुख कुलबहादुर कुँवरले बताए ।
उनले भने, 'अग्रपंक्तिमा रहेका जनप्रतिनिधि र स्वास्थकर्मीको बिमा गरेका छौं, ४२५ जनामध्ये १४१ जना महिला स्वयम सेविका छन्।' बान्नीगढी जयगढ गाउँपालिकाले पनी जनप्रतिनिधि र स्वास्थकर्मी गरी ५२ जनाको कोरोना बिमा गरेको छ । ४१ जना स्वास्थकर्मी र ११ जना जनप्रतिनिधिको कोरोना बिमा गरेको हो । अछाममा १२ सय ५० जनाले कोरोना भाइरस बिमा गरेको युनाइटेड इन्सुरेन्स कम्पनीका अछाम शाखा प्रमुख प्रेम रेग्मीले बताए ।
देशभरीमा ६ लाखको हाराहारीमा कोरोना बिमा गरिएको उनले बताए । उनले भने, 'सबैभन्दा बढी साँफेबगर नगरपालिकाले गरेको छ। बान्नीगढी जयगढ गाउँपालिकाले पनि बिमा गरेको छ। जिल्लामा रहेका गैरसरकारी संस्थाले पनि कोरोना बिमा गरेका छन्।' देशभरीमा ३५ जनाले भुक्तानी लिएका र ३२ जना पाउने प्रक्रियामा रहेको रेग्मीले बताए ।