दोषी ठहर भएर फरार रहेका १० जना पक्राउ
बेनी : म्याग्दीमा प्रहरीले पछिल्लो एक महिनामा अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भएका दश जनालाई पक्राउ गरेको छ। डाडाचोरी, गौवध, अनियमित वन पैदावार, सवारी ज्यान, बहुबिवाहलगायत कसुरमा दोषी ठहर भई कैद र जरिवाना तोकिएकाहरु पक्राउ परेका हुन्।
पक्राउ परेका १० जनालाई १० वर्ष २ महिना कैद र ६२ हजार ६२५ रुपैयाँ जरिवाना तोकिएको थियो। पक्राउ परेका व्यक्तिहरुलाई कारबाही गर्न म्याग्दी जिल्ला अदालतमा पेश गरिएको डिएसपी किरनजंग कुँवरले बताए। पक्राउ पर्नेमा ६ वर्ष कैद र ३९ हजार रुपैयाँ जरिवाना तोकिएका डाका चोरी मुद्दामा फरार अन्नपूर्ण-५ शिख घर भई पोखरा बस्ने बालकृष्ण गर्बुजा भनिने कृष्ण गर्बुजा र ३ वर्ष कैद सजाय तोकिएका गौवध मुद्दाका फरार बेनी–६ घर भई कुश्मा बस्ने सम्मरबहादुर दर्जी लगायतका छन्।‘विभिन्न आवरणमा लुकिछिपी रहेका फरार व्यक्तिहरुको पहिचान र पक्राउ गर्न प्राथमिकता दिएका छौ’ उनले भने ‘अदालतको फैसला कार्यान्वयन र पीडितले न्याय पाउने अपेक्षा गरेका छौ।’