गजलमा प्रस्ताव !
कक्षाको पहिलो दिन पहिलो बेन्चमा पहिलोपटक जब एउटा अनुहार देखियो, मनले मनैलाई उसैबेला काउकुती लगायो। अक्सर धेरैवटा पहिलोपटकका संयोग मिले त्यो प्रेमको पहिलो चरण मानिन्छ। ठ्याक्क कम्पासले कोरेको आर्कमा स्केलले कोरेको जस्तो ९० डिग्रीको कोण मिलाएर म दोस्रो बेन्चमा बसेँ।
कुनै मान्छे आफ्नो नभए पनि आफ्नै हो भन्ने सोचाइले मात्र पनि कति मीठो धुन मनमा बजाउँदो रहेछ। हेर्दा त्यति धेरै आँखा छाडेर हिँड्नुपर्ने अनुहार पनि होइन। मन पर्यो त पर्यो पर्यो। कारण खोजेर कहाँ प्रेम हुन्छ र ? व्यवसाय पो हुन्छ। ‘ह्याँ, उता सर’ मैले कसैलाई पनि वाल दिइनँ, लामो बाल (कपाल) लहराएकी भगवान्को फुर्सदिलो उत्पादनलाई पहिलोपटक देखेपछि।
१० कक्षा सुरु भएदेखि नै सरले सधैं मनमा डर देखाउँथे। खोइ कुन दिमाग नभएको मान्छेको दिमागले बनाएको थियो नेपालको पाठ्यक्रम ! कक्षा ९ बाट ६० प्रतिशत र १० बाट ४० प्रतिशत प्रश्न पो सोध्थ्यो त परीक्षामा। विद्यार्थी कक्षा १० मा पुगेपछि पनि ९ कै किताब बोक्थे। बरु मरे अर्को जुनी पाइन्छ तर १० मा फेल भए फेरि ९ बाटै पढ्नुपर्छ भन्ने त्रासले त्राहिमाम बनाउँथ्यो मलाई। सायद बाघ आउँदा पनि त्यति डर लाग्दैनथ्यो होला, जति एसएलसीको परीक्षा सम्झेर लाग्थ्यो। यो भूमिकाले पक्कै पनि बुझाए होला, कक्षा १० मा पढ्ने विद्यार्थीको जीवनसँग तीनवटा कुरा मात्र जोडिएको हुन्थ्यो- पढ्ने अनि पढ्ने र फेरि पनि पढ्ने।
कक्षामा आएको नयाँ मान्छेको अनुहार आँखाले मात्रै पढौं भनेको बेइमानी मनले पनि कति बेला पढिसकेछ। आँखाले पढेको मान्छेसँग पो बोल्न सजिलो हुन्छ। बोल्ने बेलामा अ... आ... इ.. ई... भन्नु पर्दैन तर मनले पढेको मान्छे...। मनसँग पनि साह्रै रिस उठेर आयो, एकाध दिन आँखालाई मात्रै पढ्न दिएको भए पनि यति धेरै डरदेवीसँग टाँसिएर बस्नुपर्ने थिएन ? अक्सर प्रेमका धेरै प्रश्न केवल प्रश्नका लागि मात्रै बनेका हुन्छन्। मलाई जवाफ कसले दिने ?
कक्षा १० मा मात्रै कोही नयाँ आयो भने सजिलै अड्कल काट्न सकिन्थ्यो, कुनै न कुनै संकट परेको होला। प्रेममा अक्सर संकट नै अवसर हुन्छ। नायक राजेश हमालले पनि त ‘गोपीकृष्ण’ चलचित्रमा कृष्टि मैनालीलाई संकटबाट जोगाएपछि प्रेम भएको थियो। संकटको सही ढंगले डायग्नोसिस गर्न सक्यो भने त प्रेममा नोबेल प्राइज जितियो जितियो। टक्क कापीको पानामा नाम हेरेर साँझ फ्रेन्ड रिक्वेस्ट पठाउने अनि हेल्लोबाट मायाको धारावाहिक शृंखला सुरु गर्ने। यो सन् २०१८ को कुरा हो। त्यो सन् २००४ को समय थियो। इन्टरनेट भन्ने नाम सुन्न पनि कम्प्युटर क्लास कुर्नुपथ्र्यो। देख्नका लागि भने किताबका पाना मात्रै। कहाँबाट फेसबुक आउनु÷पाउनु ? रेस्टुरेन्टमा मेनु हेर्दै खाना अर्डर गरेजस्तो कहाँ थियो र प्रेम प्रस्ताव ? आफंै सामान जुटाएपछि पकाएर खानुपर्ने अवस्था हो यो।
प्रेममा अक्सर संकट नै अवसर हुन्छ। नायक राजेश हमालले पनि त ‘गोपीकृष्ण’ चलचित्रमा कृष्टि मैनालीलाई संकटबाट जोगाएपछि प्रेम भएको थियो। संकटको सही ढंगले डायग्नोसिस गर्न सक्यो भने त प्रेममा नोबेल प्राइज जितियो जितियो।
पहिलो, दोस्रो, तेस्रो र चौथो घन्टी पनि दिमागमा कुरा खेलाएरै जित्यो। कुरा जति खेले पनि कहिल्यै जित्ने होइन। सधैं ड्र मात्रै। पाँचांै घण्टी भाग्यको घण्टी बजाउँदै आयो। हामीलाई कक्षामा एक्लै छाडेर सबै साथी बाहिर पो गए। पहिलोपटक केटी हेर्न गएको दुलाहालाई दुलहीसँग एउटै कोठामा राखेर कुरा गर्न लगाएजस्तो ! दुलाहा त थियो नै, दुलही पनि। तर, विवाह गर्न बाँकी थियो।
‘एक्लै देखे त बोलाउनु नि’ अहंको ‘अ’ले अलि फोकस गर्यो। सायद उसको मनमा पनि यही ‘अ’ नै कस्सिएको थियो। करिब तीन मिनेटजति अहंको युद्ध भयो। कक्षामा अप्सनल म्याथ पढ्ने ‘बी’ सेक्सनका विद्यार्थी पनि थपिए। अप्सनल म्याथ पढ्नेहरूको कक्षा जो थियो। केटी अप्सनले म्यान पढ्ने पो रहिछ। केटाका लागि मात्रै बनेको विषयजस्तो थियो अप्सनल म्याथ। उसले त्यसमा ‘ब्रेक थ्रु’ गरी। विद्यालयको इतिहासमै पहिलोपटक अप्सनल म्याथ पढ्ने केटी। नयाँ विद्यार्थीलाई स्कुलभर चिनिन विज्ञापनको यो तरिका नै काफी थियो। भर्खर जुँगाका रेखी उमार्न लागेका विज्ञापन एजेन्सीले थुक निल्दै भरमारसँग प्रचार गरे। म पनि एक प्रचारक थिएँ।
पहिलो दिन शून्य शून्य भएर गयो। संसारमा वैज्ञानिकहरूले ‘शून्य कुनै पनि कुरा हुँदैन, केही न केही चिज अवश्य भरिएको हुन्छ’ भनेका छन्। के भरिएको छ होला ? साँझ गणितका फर्मुला घोक्ने बेलामा प्रेमका फर्मुला घोक्न मन पो लाग्ने। ‘ओए बड्डा, त्यो नयाँ केटीले त मेरो नोट मागेकी छ यार ? ’, भरतेले मनमा भूकम्प जाने समाचार सुनायो। समाचारसँगै अर्को खोजी पत्रकारिताका लागि उपयोगी कुरा पनि थियो। भरते र नोट दुवै सौता लागे मलाई। ‘ऊसँग मागे पनि दिने त मैले नै हो’, मनमनै मायाको कुराउनी पो पाक्न थाल्यो। ‘तैंले लेख्दैनस्, दिने मैले त होला नि’, भरतेको कालो अनुहार उत्साहको क्रिमले उज्यालो भयो। ‘तेरो झोलाबाट निकालेर दिएँ यार, गाता च्यातेर मेरो हो भनेर।’ उसका कुराले ‘आफैंले पालेको बिरालो आफैंलाई म्याउँ’ बनायो।
घटना धेरै भए। कसले आफ्नो बनाउने ? बाजी धेरै राखिए। जित्नेले पाउँछ भन्दै पिसाब सबैभन्दा लामो कसले फेर्नेसम्मका प्रतियोगिता भए। जित्नेले मुख त मिठ्यायो तर प्रतियोगिता जितेर मात्रै कहाँ हुन्थ्यो र मन जो जित्नु थियो। केटीसँग बोलेपछि (कोरोना भाइरस...? ) रोगै सर्छजसरी कसैले पनि बोल्ने आँट र हिम्मत गर्दैनथे। संसारमा आँट भन्ने शब्द बन्न कति बल लागेको थियो होला ? मलाई सधैं यही प्रश्नले आश्चर्यचकित बनाउँथ्यो। एक दिन नेपाली पढाउने सरले इमानसिं चेम्जोङ पाठ पढाउँदै थिए। प्याट्ट बोले बूढा, ‘पुग्न सकिँदैन भनेर हिँड्दै नहिँड्नु राम्रो होइन, हिँड्न थाल्यो भने अवश्य पनि पुगिन्छ।’ संसार बदल्न त एक शब्द काफी हुन्छ भन्ने वाक्य जो सुनेको थिएँ।
दिनचर्यामा अचानक परिवर्तन आयो। अब सीधै प्रपोज राख्ने। त्यति बेला खुबै चर्चित थियो सलमान खानको ‘तेरे नाम’ भन्ने सिनेमा। त्यसमा एउटा गीत थियो, ‘प्यारमे ना का मतलब हाँ होता हे’ (प्रेममा हुन्नको मतलब हुन्छ हो)। जसलाई देखेर मनमा पत्रपत्र खुसीका फूल फुलेका थिए, उसैलाई थाहा थिएन मेरो मनको बगैंचा। पोख्नुपर्ने नै भयो मनमा भरिएको प्रेम। ‘टेस्ट परीक्षा सकिँदासम्म पनि मेरो नाम भावना थापा हो।’ यही एउटा वाक्य मात्रै बोलेकी थिई। उसले कसका लागि बोली ? मेरा लागि ? वा अरूका लागि... ? कठै विचराहरू। सबैभन्दा म नै त अगाडि थिएँ।
मनको बगैंचामा फुलेका फूलहरूमा डुलाउने रहरले बसी खान नदिएपछि केही न केही त गर्नै पर्यो। आखिर टेस्ट परीक्षा पछाडि भेट हुने होइन। आए आँप गए झटारो ! तर, त्यस्तो पनि कहाँ थियो र ? उनलाई अरूको भएको सोच्दा पनि भाउन्न हुन्थ्यो। साँचो मनले प्रेम गरे कसो पूरा नहोला ?
जीवनको पहिलो प्रपोजका लागि योजना बनाउँदै थिएँ। प्रपोज राख्ने शैलीकै कारण पनि उनले मेरो कुरा नकार्न नसकून् भनेर मैले अनेक उपाय खोजेँ। कक्षाका अन्तिम दिनहरू सुरु हुँदै थिए। फागुन लाग्न लाग्न आँटेको थियो। प्रेम दिवसको चर्चाले विद्यालय भरिएको थियो। केही दिवानाहरू आफूले मन पराएका केटीलाई जसरी पनि प्रस्ताव राख्ने ध्याउन्नमा थिए।
मलाई अरूको के मतलब ? आफ्नै जिन्दगीको बगैंचामा हरियाली भर्नु थियो सबैलाई। जीवनमा कहिल्यै गजल नलेखेको मान्छेले गजल कोर्ने प्रयत्न गर्दै थिएँ। गजल लगाउने भावनालाई गजल मन पर्छ भन्ने मलाई कसैले सुनाएको थियो। कहिलेकाहीँ उनी बाहिर गएका बेलामा कापी हेर्दा गजल लटरम्मै लेखिएको हुन्थ्यो। कनिकुथी प्रेम दिवसका दिनमा उनको कापीमा लुकाएर राख्न गजल तयार भयो।
केटाहरू प्रपोजका लागि अनेक उपाय खोजिरहेका थिए। कसैले हात काट्दै थिए, कोही मुटुको चित्र बनाउँदै थिए, अनि कोही सायरी जो सार्दै थिए। ओहो ! भव्य तयारी थियो। यति तयारी त स्कुलको वार्षिकोत्सवमा पनि हुँदैनथ्यो। म भने पूरै तयारी गरेर ढुक्क थिएँ। जिन्दगीको पहिलो प्रपोज त्यो पनि गजलमा। गजल लेख्न मन पराउने गजलमै गरिएको प्रस्ताव कसरी पो मन नपराउली र ? म शतप्रतिशत ढुक्क थिएँ। कुर्दा कुर्दा दिन पनि आयो। समय पनि आयो। मध्यान्तर पनि भयो।
मैले मौका हेरेर गजल पनि राखेँ। आहा ! मन मनमोहक पो भयो। ‘अब भोलि प्रस्ताव स्वीकार गरिएको गजल नै आउने छ।’ रातभर निद्रा लागेन। बिहानै स्कुल हिँडे। आज अलि बढी कपाल लर्काऊँ भनेको तेल धेरै भएर कपडामा पो चुहियो। शौचालय गएर निख्रिने गरी पिसाब गरेँ। कक्षामा पसेर सोधेँ, ‘भावना, हिजोको गजलवाला कागजको टुक्रो हेर्यौ ? ’ उनको हाउभाउले मुटु घुँडामा धस्सिन पुगेको महसुस भयो। जेनतेन थेगेँ।
उनले चुइगम चपाएजस्तै सजिलैसँग जवाफ दिइन्, ‘पढेँ, त्यो त पत्रिकामा छापिएको मेरै गजल त हो नि। किन सारेर दिएको ? म साहित्यमा छुट्टै नाम लेख्छु के।’ आधा मात्र होश बच्यो। त्यही बचेको आधा होशले काम गर्यो। तुरुन्तै अर्को प्रश्न सोध्न पाएँ, ‘अनि त्यसको पछाडि लेखेको कुरा नि ? ’ फेरि सजिलै जवाफ दिइन्, ‘खोइ बूढाले लिनुभयो, मैले पढ्नै पाइनँ।’