माया ‘बोल्ड’ छे
म मन परेको किताब एक्कै सासमा पढिसक्छु। एक सय ४० पानाको किताब छ यो, त्यस्तै भयो। युवराजले सुस्तसुस्त पढ्दै गर्दा बेलाबेला एकदुई हरफ मलाई पनि सुनाउँथे, उनलाई पनि मन परेर।
मलाई किताब कोरेर पढेको मन पर्दैन। यो किताबमा भने ठाउँठाउँमा अन्डरलाइन छन्। युवराजले प्रायः किताबमा यसरी नै अन्डरलाइन गरेका छन्। के अब किताबको नाम जस्तो यो किताब पनि परित्यक्त भयो ? कि भएन ? किताबले के सोच्छ ? मलाई थाहा छैन। जस्तो कि यो किताबको सुरुआतमा एउटी छोरी भ्रूणले गर्भमा सोच्छे, महसुस गर्छे, बाहिरी संसारका मानिसका टिप्पणी र अहं सुन्छे र मुर्मुरिन्छे। जन्मिनेबित्तिकै कि नानी खुसी हुन्छे, दुःखी हुन्छे वा रिसाउँछे।
पढ्दापढ्दै रोकिएर सम्झिन खोज्छु त्यो अनौठो संसारलाई अर्थात् भुवन ढुंगानाको यो उपन्यास ‘परित्यक्त’ लाई। म आमाको गर्भमा हुँदा कस्ती थिएँ ? जन्मिनेबित्तिकै के महसुस भयो ? याद छैन, हँुदैन होला। कम्तीमा मजस्ता सामान्य मान्छेलाई त ५/६ वर्षको उमेरपछिका कुरा मात्रै याद हुन्छ होला। तर लेखकले कसरी लेखिन् यी सारा अनुभूति ? आमा भएर कि गर्भकी बालिका भएर ? पढ्दै गर्दा मनमा कुराहरू खेल्छन्।
सुरुआतमा लिंग पहिचान नहुँदैको एउटा नयाँ प्राणले आकार लिँदै गरेको जीवको अनुभूति छ। अनि गर्भमा हुर्किंदै गरेकी एउटी छोरीले यो विभेदपूर्ण संसारलाई कसरी हेर्छे ? जन्मिएपछि पनि उसले आफूलाई कहिलेदेखि फरक महसुस गर्न थाल्छे ? एउटी बालिकाले आफू छोरी मान्छे हुँ भन्ने आफ्नो शरीरबाट र प्रकृतिबाट महसुस गर्नुअघि उसको परिवार, आफन्त र समाजले दिने धक्का डरलाग्दोसँग आएको छ उपन्यासमा। गर्भभित्रको कुरा र बच्चा जन्मिएर हुर्कंदै गर्दाका अनुभूतिमा लेखक आमा निकै ठाउँमा मिस्सिइन् जस्तो लाग्छ। म त्यो तहसम्म अनुभूत गर्न सक्दिनँ।
सायद एउटी आमाले मात्रै आफू गर्भमा भएको बेलाको महसुस गर्न सक्छिन् होला। त्यसैले यो किताब लेखकको आफ्नो जीवन भोगाइ र उपन्यासको मि श्रणबाट बनेजस्तो धेरै ठाउँ लाग्छ। त्यसैले झन् रोचक बनेको छ किताब। धेरै महिलाले आफूलाई यो किताबमा भेट्टाउँछन् होला। यो समीक्षा भएन, पुस्तकसँगको मेरो अनुभूति हो यो। मलाई यो किताबको बारेमा लेख्नु छ किनकि यो पढेर म उकुसमुकुस छु। यस उपन्यासकी कथावाचक अथवा दुःख र संघर्षकी खानी मायाको जिन्दगी जस्तो। वा मायाको मनोदशा जस्तो।
जो गर्भदेखि नै परित्यक्ता महसुस गर्छे। उसलाई थाहा छ, यो संसारमा छोरी भएर जन्मेपछि के के भोग्नु पर्छ। तर, नजन्मिन ऊसँग कुनै विकल्प छैन। अहिले पनि छोरा मात्रै मन पराउने यो समाजमा ४५/५० वर्षअघि लगातार तेस्रो सन्तान छोरी हुँदा आमा र छोरीहरूले केकस्ता आरोप भोग्न पर्यो होला त ? त्यसका बीच पनि माया र उनकी दिदीले बनारसमा पढेका छन्। आफूलाई चिन्न र आफ्नो अस्तित्व समाजमा बलियोसँग राख्न सकेका छन्। माया ‘बोल्ड’ छे। गर्भैदेखिको भावना क्रान्तिकारी भएर आएको छ।
आफ्नो अस्तित्व र यौनिकताबारे जानकार छे ऊ। आफ्नो यौन जीवनबारे खुलेर सोच्ने। कतिपय सोच स्पष्ट छ। सरल छ। आफ्नो यौवनमा आफैंले रोजेको ‘जीवनसाथी’सँग छे ऊ। पति, घर, परिवार र सन्तान ऊसँग छन्। तर पनि किन पूर्ण माया ? एउटी नारीलाई केले पूर्ण र सन्तुष्ट बनाउँछ त ? म पनि किन परम्परागत भएर सोच्दैछु ?
त्यो राति मैले थाहा पाएँ, मानसिक तनावबाट मुक्त हुन शारीरिक सहबास पनि अनिवार्य रहेछ। त्यो सहबासपछि मन कति चंगा भयो भने बिझेको काँडा सियोले खोतलखातल पारेर झिकेपछि हलुंगो भएजस्तै। तृप्ति मनको मात्र होइन, शरीरको पनि रहेछ।
नेपाली साहित्यमा पुरुष लेखकले यौन र महिलाका अनुभूतिका कुरा धेरै लेखेका छन्। महिलाका कुरा लेखेका छन् तर पुरुष मानसिकताले। एउटी महिलाले त्यो साहित्य पढेर यो मेरो अनुभूति र महसुस हो भन्न नसकिने। अनि महिलाले लेखेका कथामा चाहिँ किन दुःख, पीडा, हिंसा, आँसु मात्र आए भनेर आरोपित मात्रै गरिरहने आलोचना सुन्ने गरेकी छु। यसरी हेर्दा जीवनमा त परै जाओस्, फिक्सनमा पनि महिलालाई सुनिएन कि जस्तो लाग्छ। महिलालाई राम्ररी नसुनेपछि र नबुझेपछि पुरुषले उभ्याएको धेरै महिला पात्रको चित्रण नेपाली साहित्यमा नक्कलीजस्तो देखिन्छ।
उपन्यासमा लेखक आम दुःख पीडाभन्दा अझै पर पुगेर एउटी उमेर ढल्ँिकदै गरेकी महिलाको खुसी र जीवनको खास सुख केमा खोज्नतिर लागेजस्तो पाठकलाई पनि सोच्न बाध्य बनाएजस्तो मैले पाएँ। महिनावारी रोकिएपछिकी माया भन्छिन्, ‘म फेरि निराकारबाट एकाकार हुने कुरामा फर्किएँ। त्यो राति मैले थाहा पाएँ, मानसिक तनावबाट मुक्त हुन शारीरिक सहबास पनि अनिवार्य रहेछ। त्यो सहबासपछि मन कति चंगा भयो भने बिझेको काँडा सियोले खोतलखातल पारेर झिकेपछि हलुंगो भएजस्तै। तृप्ति मनको मात्र होइन, शरीरको पनि रहेछ।’ नेपाली साहित्यमा यति बलियोसँग मैले पहिलोपटक हो, ५० छुन लागेकी महिलाको शरीरिक सुखको कुरा पढेको।
किन महिलाको यौवन, जवानी र सौन्दर्यको कुरा मात्रै नेपाली साहित्यमा आउँछ ? आम नेपाली घरमा ४५ नाघेकी महिलाको जीवन कस्तो छ ? त्यो जीवन यौन र पुरुषसँगको हिजोको शरीर-शरीरबाट बनेको सम्बन्ध वा मनमनको सम्बन्ध कसरी परिवर्तन हुँदैछ। धेरैलाई सोच्न बाध्य बनाउँछ उपन्यासले। मायाको बाल्यकालका कति अनुभव मेरैजस्ता लाग्छन्। स्कुले जीवनका साथीहरू र अचेल उनीहरूसँग भेट हुँदा कुराले स्मृतिसम्म पुर्याउने। त्यसैले यो उपन्यास दुई घन्टामा पढिभ्याएँ मैले।
किताब पढ्दा मायाका अनुभूति र आफैंले भोगेका जीवनमाथि मायाका धेरै प्रश्न क्रान्तिकारी जस्ता लाग्छन्। तर, लेखकका परम्परागत सोचाइहरू धेरै ठाउँमा भेटिन्छन्। कहीँकहीँ मन चसक्कै हुन्छ। जस्तो कि माया आमा भएकी छे। आमा हुनु रहरको कुरा हो अनि च्वाइस पनि। आमा हुन नसक्ने वा नचाहने आआफ्ना बाध्यता र इच्छा होलान्। मायाले सन्तान नभएकी आफ्नी साथीलाई भेटेर फ्याट्ट बोलिदिन्छे, ‘बाँझी’। समाजले भएको हैन क्रान्तिकारी मायाको चेतना हो त्यो। रङ र सौन्दर्यका बारेमा पनि मायाको पारम्परिक सोच छ। एक किसिमले हेर्दा त्यो पारम्परिक सोच स्वाभाविक पनि लाग्छ।
उपन्यासमा वाक्य छोटाछोटा छन्। भाषा सरल र मीठो छ। कहीँकहीँ अल्छी लाग्छ पढ्न मलाई। चरित्रबीच संवाद छैन। मनोवाद धेरै छ। मानौं लेखककै एकालाप हो यो किताब। उतारचढाव वा देखिने ठूलो द्वन्द्व केही छैन किताबमा। तर, पनि पढिसक्दा लाग्छ, नसकिएको भए हुने। ‘माया’ जसलाई आफ्नो नाम नै मन परेको छैन। नामदेखि नै उसले आफ्नो रुचि र पहिचानको अस्तित्व खोजेकी छ, उसलाई अझै पढ्न मन लाग्छ।