गोठीज्युलाकी सोल्टिनी
सोल्टिनी,
रहरको कर्णाली
तर्न नसकेर
यता आउन पाइनौ रे
भन्ने सुनेपछि
मैले
मेरो रहरलाई नै साङ्ली बनाएर
एउटा तुइन बनाइदिएको थिएँ
चढ्यौ ?
तिमीले ‘एसएमएस’ गरेको
इशारा पाएँ मैले
त्यसलाई बुझेर नै
संकेतका तीन शब्द
कल्पनाको पानामा पठाएको थिएँ
पढ्यौ ?
अब त पुल बनिसके
तुइन चढ्नु पर्दैन
अलिकपछि
कर्णालीको बीचबाट
जहाज पनि हिँड्नेछन्....सडक-यात्रामा
गाडीसँगै लड्नु पर्दैन
धैर्य गर्नू
रेल पनि बिस्तारै आइपुग्छ
गोठीज्युलाको डाँडा छेडेर
केही समयमा त
सुरुङमार्ग पनि बन्छ
त्यही बाटो भएर
हामी पनि रारा जाऊँला
फर्केर अलिक तल झरेपछि
जहाज चढेर
फेवा र रूपा आऊँला
बरु मलाई पनि
एक जोर दोचा बुनिदिनू
म तिमीलाई
गोल्डस्टार जुत्ता ल्याइदिन्छु
रारातिर चिसो हुन्छ
दोचा र गोल्डस्टार
चिसो मौसममा न्यानो हुन्छ।
०००
सोल्टिनी,
फेवातिर त
अलिक गर्मी छ
पातला लुगा नबिर्सनू
खास्टो बोक्नु पर्दैन
रुमाल चैं नछुटाउनू
पसिना आउँदा पुछ्नु पर्छ
धुलो त त्यत्ति उड्दैन अचेल
तैपनि परिहाल्यो भने
त्यसैले मुख छोप्नुपर्छ।
०००
रूपा जानका लागि
मैले तिमीलाई
पातला मोजा किनिदिएको छु
स्यान्डल ल्याउन नबिर्सनू
लेकसाइडतिर त
जुत्ता लगाएर के हिँड्नु हौ ?
बरु
त्यहाँ पुगेपछि
कपाल पनि
छोड्नु पर्यो भने
धागो खोल्न नलजाउनू
फुलीमात्र भा’को नाक
झनै राम्रो देखिन्छ
बुलाकी खोल्नू, तर नझर्कनू !
०००
सोल्टिनी
तिमीलाई था’छ ?
खै तिमीलाई कस्तो लाग्छ कुन्नि ?
तर, मलाई त
बुलाकी झुन्ड्या’को भन्दा
फुली मात्र लगा’को
तिम्रो नाक
खुबै मन पर्छ ! राराबाट फर्कंदा
जहाजबाट
सेती किनारमा झरौंला
अलिक अगाडि हिँडेपछि
काउन्टर पुगिन्छ
त्यहीँ टिकट काटौंला
र, ट्राम चढौंला !
०००
घुम्दाघुम्दै
भोक पनि त लाग्छ नि
म स्यान्डविच किन्छु
तिमी न्यापकिन किन्नू
ट्रामको झ्यालतिर बसौंला
र, सँगै खाऊँला।
साँच्चि,
तिमीले जुठो खाने गरेको छ ?
भन्नू है, खाने गरेको छैन भने
तर मलाई त
तिमीलाई
अलिकति जुठो खुवाउन मन छ
र, तिम्रो ओठको कुनामा
सानो भए पनि
जुठो उच्छ्रेर
घाउ भएको हेर्न मन छ !
०००
खानुअघि
तालवाराही
जानुपर्छ ल !
तिमी
के चढाउँछ्यौ त्यो ठाउँमा ?
धूप र फूल त
म बोकौंला
तिमी चैं के माग्छ्यौ
आफ्नो नाममा ?
जे मागे पनि एउटा माग्नु
पाएँ भन्दैमा
धेरै मागेरै त हो
माग्नेले अहिलेसम्म
केही नपाएको
माग्न जानिएन भने त
‘देउता’ले पनि
कहाँ दिन जानेको हुन्छ र ?