भाषा मात्र होइन संस्कृत

भाषा मात्र होइन संस्कृत

संस्कृत भाषालाई प्रारम्भिक शिक्षामा प्रवेश गराउने चर्चाले अलिकति रोमाञ्चित झैं हुन पुगेको छु। अलि ढिलै भए पनि सम्बन्धित निकायको ‘घैंटोमा घाम लागेको’ हो कि जस्तो पनि लागिरहेको छ। अर्कोतिर यसलाई बाहुनवाद या जातिवादका रूपमा अथ्र्याएर विरोध गर्नेहरू पनि नभएका होइनन्।

हुन पनि हो। संस्कृत भन्नाले ‘कर्मकाण्ड गर्ने पुरेत, पुराण भन्ने पण्डित, अनि मठमन्दिरमा हुने साधुसन्त-महाराजहरूकै प्रयोगमा रहने भाषा’का रूपमा बुझिएको छ जनमानसमा। तर, तथाकथित ‘बाहुन’कै परिवारमा अनि संस्कृतका धुरन्धरहरूको सान्निध्यमै जन्मेहुर्केको भए पनि म योे विहंगम ज्ञानराशिको सतहमा मात्रै भौंतारिरहेको छु अझसम्म। मैले जान्न-बुझ्न-सिक्न-अध्ययन गर्न त धेरै नै बाँकी छ। यसलाई दुर्भाग्य नै ठान्छु म आफ्नो।

घरपरिवारको संस्कार अनि प्रारम्भिक शिक्षण-कालमा विद्यालयको शैक्षिक वातावरण (पहिले यसको पढाइ कक्षा ४-७ हुने गथ्र्यो)का कारणले पनि होला, सानैदेखि संस्कृत जान्नैपर्ने विषय हो भन्ने मलाई नभएको भने होइन। अलिअलि संस्कृत जाने बुझेको पनि छु। यति अर्धज्ञानको भरमै पनि आफूले मानसिक स्वास्थ्यको उच्च शिक्षा लिएको ठाउँ भारतको कर्णाटक राज्यको भाषा ‘कन्नडा’ सिक्न मलाई सुलभ भएको थियो। तर, पनि यसको गहिराइमा पुग्न भने अझै सकेको छैन म। आधुनिक चिकित्सा अनि मानसिक स्वास्थ्यको विद्यार्थी हुँदाहुँदै पनि संस्कृतको बारेमा थोरै मात्र भए पनि अध्ययन गर्ने हुटहुटीको उपज नै हो यी शब्दहरू कोर्ने जाँगर।

आजसम्म संस्कृत भाषामा तीन करोड कृति उपलब्ध छन् भनिएकै छ, ‘जे संसारमा छ, त्यो महाभारतमा छ। जे महाभारतमा छैन, त्यो अन्त कतै छैन।’

हाम्रो प्राचीन इतिहासले नै देखाउँछ— संस्कृत तथाकथित ‘बाहुन’हरूको मात्र हुँदै होइन। ‘गायत्री मन्त्र’का प्रथम साधक विश्वामित्र क्षत्रीय कुलमा जन्मेका, ज्ञानभण्डार वेदका संकलक गुरु व्यास माझिनी (शुद्र) को कोखबाट जन्मेका अनि आदिकवि वाल्मीकि डकैती पेसामा संलग्न थिए। तिनले संस्कृत अध्ययनबाटै ऋषिकल्पको स्थान पाएका थिए भने अहिले आएर संस्कृत भाषा ‘बाहुन’हरूको पेवा या संस्कृतको अध्ययन-अध्यापनले बाहुनवादलाई प्र श्रय दिएको भनेर कसरी भन्न सकिएला ?

संस्कृत भाषाकै कृति श्रीमद्भागवतगीताको अध्याय ४ को १३औं श्लोक ‘चातुर्वण्र्यं मया सृष्टं गुणकर्म विभागशः...’ अध्ययन गर्दा नै थाहा हुन्छ— ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्र, यी चार वर्ण जन्मका आधारमा नभएर गुण र कर्मका आधारमा वर्गीकृत भएका हुन्। मेरा कुरा गर्दा मैले विश्वविद्यालयको सहप्राध्यापकको नाताले पढाउने कार्य गर्ने हुँदा म ‘ब्राह्मण’ हुँ, अनि बिरामीको सेवा गर्ने चिकित्सा पेसा भएका कारण म ‘शुद्र’ पनि हुँ। जन्मको आधारमा ‘बाहुन’ भएकै कारण मैले संस्कृत पढ्न पाउने भन्ने हुँदै होइन। शिक्षा अनि ज्ञानका लागि मेहनत गर्ने जोसुकैले पनि संस्कृत पढ्न पाउनुपर्छ। तब मात्र ज्ञानको दायरा फराकिलो हुने अनि भाषा समृद्ध बन्ने हो।

अध्ययनहरूले दर्शाएका छन्— कर्मकाण्ड या धार्मिक-सांस्कृतिक उपयोगका लागि मात्र पाँच प्रतिशत ‘संस्कृत’को प्रयोग भएको छ। बाँकी ९५ प्रतिशत ‘संस्कृत’ त दर्शन, कानुन, विज्ञान, साहित्य, व्याकरण अनि ध्वनिविज्ञानको आधारस्तम्भ भएर रहेको छ। व्याकरण, शब्दभण्डार अनि उच्चारणको वैशेष्यताले ओतप्रोत संस्कृत भाषा विश्वका दुई सय ५० विश्वविद्यालयमा अध्ययन-अध्यापन भइरहेका छन्। खर्बभन्दा बढी (१०२ अरब ७५ करोड ५० लाख) शब्द-भण्डार भएको यो भाषा विश्वको प्राचीनतम भाषा हो, अनि यसलाई देव भाषा पनि मानिन्छ। विश्वका थुप्रै भाषाकी जननी मातृभाषा संस्कृतका ३६ व्यञ्जन अनि १६ स्वर आजसम्म पनि अपरिवर्तित अनि अपरिमार्जित अवस्थामै छन्।

अनुस्वार, विसर्ग अनि प्रत्येक शब्द उत्पत्ति गर्ने ‘धातु’हरूको उच्चारण मात्र पनि मानव शरीरको आरोग्यताको परिसूचकका रूपमा रहेको बताएका छन् आधुनिक वैज्ञानिकहरूले समेत। आजसम्म संस्कृत भाषामा तीन करोड कृति उपलब्ध छन्। यति समृद्ध छ संस्कृत। ‘वैदिक’ र ‘लौकिक’ दुई अवयवमा विकसित हुँदै गएको संस्कृत भाषा ऋग्वेदका ऋचाहरूमा नै सर्वप्रथम अभिव्यक्त भएको देखिन्छ।

श्रुति-स्मृति परम्परा अनि गुरु-शिष्य सम्बन्धमा प्रसारित हुँदै गयो वैदिक संस्कृत। करिब पच्चीस सय वर्ष अघिसम्म राजकीय भाषाका रूपमा रहेको थियो लौकिक संस्कृत। हाम्रै देशको इतिहास हेर्दा लिच्छविकालीन शिलालेख (मानदेवको चाँगुनारायण अनि अंशुवर्माको विश्वरूप मूर्ति)मा संस्कृत भाषा नै लिपिबद्ध भएको पाइन्छ। मल्लकालीन राजाहरूमा प्रताप मल्लले रचना गरेका संस्कृत कृतिहरूका कारण उनलाई कवीन्द्र भनिने गरिएको अनि सिद्धिनरसिंह मल्लले संस्कृतकै अध्ययन गरेर तान्त्रिक साधना गर्ने गरेको पाइन्छ। आर्यजगत्को धर्मसंस्कृतिको जगका रूपमा रहेको संस्कृत ‘ब्राह्मण’ (जात बाहुन होइन) ग्रन्थहरूको नाममा सांस्कृतिक एवं कर्मकाण्डीय पद्धतिहरूको दस्तावेजका रूपमा रहेको पनि पाइन्छ।

संस्कृत साहित्यको कुरा गर्दा ‘महाभारत’जस्तो महाकाव्य द्वैपायन व्यासले रचना गरेको अनि वैशम्पायन, लोमहर्षण र उग्र श्रवाले इतिहासका रूपमा दुई हजार वर्षअघि त्यसको व्याख्या गरेको देखिन्छ। आजपर्यन्त महाभारत साहित्यका लागि मात्र नभई राजनीति र अर्थशास्त्रको समेत अमूल्य निधिका रूपमा रहेको छ। भनिएकै छ, ‘जे संसारमा छ, त्यो महाभारतमा छ। जे महाभारतमा छैन, त्यो अन्त कतै छैन।’ त्यस्तै वाल्मीकिको रामायण मानवीय संवेदनाको द्योतकका रूपमा अद्यापि छ। संस्कृतको विरोधमा ठूलाठूला काण्ड मच्चाउन पछि नपरेकाहरूले समेत विद्वता छाँट्न यिनै ग्रन्थका श्लोकहरूको सहायता लिने गरेको कसैबाट छिपेको छैन।

इसाको पहिलो शताब्दीमा अश्वघोषले लेखेका बुद्धचरित्र बौद्ध दर्शनको प्रमुख कृति हो। चौथो शताब्दीमा विष्णु शर्माको पञ्चतन्त्रको कथा आएको थियो, जुन आजपर्यन्त अनेक भाषामा नीति कथाका रूपमा अनूदित भइरहेका छन्। पाँचौं शताब्दीमा महाकवि कालिदासको कुमारसम्भव अनि रघुवंश बहुप्रचारित भएको थियो। रघुवंश त साहित्य मात्र नभई दर्शनका रूपमा मानवका चार पुरुषार्थ— धर्म, अर्थ, काम, मोक्षको सैद्धान्तिक विवेचनामा पनि सफल हुन पुगेको छ।

छैटौं शताब्दीमा आएको भारवीको किराँतार्जुनीय मोक्ष नाटक आजपर्यन्त प्रसिद्ध छ। सातौं शताब्दीमा वाण भट्टको कादम्बरी जन्मिएको थियो। एघारौं शताब्दीको गोधालाको उदयसुन्दरी उपन्यासले अद्यापि औपन्यासिक विशिष्टता बोकेको छ। त्यस्तै, सोमदेवको कथाचरित सागर, क्षेमेन्द्रको कलाविलाश र दशावतार चरितम् पनि संस्कृत साहित्यका अमूल्य निधि हुन्। साहित्यिक समालोचनाको क्षेत्रमा पनि संस्कृत भाषाको योगदान अतुलनीय छ। भरतको नाट्यशास्त्र, दण्डी एवं भोजजस्ता विद्वान्हरूको यस क्षेत्रमा ठूलो प्रयास पाइन्छ। नीलकण्ठको मनोवाद एवं व्यंग्य रचना पनि प्रसिद्ध नै छन्।

छन्द शास्त्रमा संस्कृतको योगदान त सबै ग्रन्थ-पुराणमा देखिएको सर्वविदितै छ। सनातन हिन्दु धर्म त भयो नै, अन्य धर्मग्रन्थ पनि संस्कृतमै रहेको पाइन्छ। बौद्ध धर्मको महायान पन्थका कृतिहरू सुरुमा प्राकृत भाषामा रहेका तर पछि संस्कृत भाषामै तिब्बत आदि देशमा विस्तारित हुन पुगे। सिख धर्मको पवित्र गुरुग्रन्थ साहिब पनि संस्कृतमै लिपिबद्ध भएको थियो। संस्कृत व्याकरण पाणिनिको अष्टाध्यायीमा उद्घाटित भएको थियो, जसका सूत्रहरू परिभाषित गरेर आजपर्यन्त संस्कृतकै ज्ञानभण्डार विकसित हुँदै गएको छ।

वैज्ञानिक, प्राविधिक एवं दार्शनिक क्षेत्रमा पतञ्जलिको योगदान हामी कसरी पो भुलौंला र ? आयुर्वेदको विकासमा तिनको प्रमुख स्थान रहेको सर्वविदितै छ। त्यस्तै, चरक एवं सु श्रुतले स्वास्थ्य क्षेत्रमा स्थान बनाएका थिए संस्कृतकै माध्यमद्वारा। चाणक्य-कौटिल्यको साहित्य, प्रशासन, कूटनीति एवं अर्थशास्त्रजस्ता थुप्रै स्थानमा दख्खल रहेको प्रमाणित भइसकेको छ। चार्वाक्, मनु, याज्ञवल्क्य, गार्गी, मैत्रेयी आदि विद्वान्-विदूषीहरूको विविध क्षेत्रमा रहेको योगदानको प्रमुख माध्यम संस्कृत नै थियो। गौतम बुद्ध, रामार्जुनाचार्य, रामकृष्ण परमहंश, विवेकानन्द आदि महात्माहरूको स्मरण नगरी संस्कृतको आध्यात्मिक-दार्शनिक पक्षको निरुपण कसरी पो होला र ?

अतः काव्य, शास्त्र अनि विनोद सबै विधामा संस्कृतको उच्चासनलाई कसैले हल्लाउन सक्दैन। हठ योग, ध्यान योग एवं वास्तुशास्त्रलाई समेत संस्कृतले नै समृद्ध बनाएको हो। नाट्यश्वर शिवको ताण्डव नृत्यको यस विधामा रहने योगदान कसरी बिर्सन सकिएला ? दक्षिण एसियाली मुलुकहरूको भाषा-संस्कृतिमा संस्कृतको स्थान त छँदैछ। लाओस, कम्बोडियाजस्ता देश अनि जर्मनीजस्ता युरोपेली राष्ट्रहरूमा समेत यसको विकास हुँदै गएको छ। भारतको उत्तराखण्ड राज्यमा अझै पनि संस्कृत राजकीय-औपचारिक भाषाका रूपमा छ।

कर्णाटकको मत्तुर गाउँका सबै जनता संस्कृतभाषी नै रहेको पाइएको छ। संस्कृतकायावत् विशेषताहरू देख्दादेख्दै पनि हामीले यसलाई कर्मकाण्डकै अंगका रूपमा मात्र अझै खुम्च्याइरहन सुहाउला त ? हामी सबै संस्कृतलाई जान्न-बुझ्न अग्रसर बन्न अब ढिलो भएन र ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.