बैतडीको ढोलेबस्ती पहिरोको जोखिममा
बैतडी : बैतडीको सुर्नया गाउँपालिका ८ को ढोलेमा पहिरोको जोखिम बढ्दै गएको छ। ढोलेका विभिन्न क्षेत्रमा पहिरो खस्न थालेको स्थानीयबासीले बताएका छन्। गत वर्ष पनि मल्लोढोलेमा पहिरो खस्दा ६ परिवार पूर्ण रुपमा विस्थापित भएका थिए।
शुक्रबार राती तल्लोढोलेको रातापानीमा पहिरो खस्दा ६ घरपरिवार पहिरोको जोखिममा परेका वडा अध्यक्ष आनन्दसिंह बोहराले बताए। उनले भने, ‘तल्लोढोलेको रातापानीमा पहिरो खस्दा ६ घर परिवार जोखिममा परेका छन्। एकजनाको आँगन पहिरोले पुरै लगेको छ।’
पहिरोका कारण स्थानीय लोकेन्द्र बोहरा, मञ्जित बोहरा, सालिभान बोहरा, जनक बोहरा, बीरबहालदुर बोहरा, रामसिंह बोहरा र मीन बहादुर बोहराको घर जोखिममा परेको वडा अध्यक्ष बोहराले बताए। उनले भने, ‘लोकेन्द्र बोहराको घर तलतिरबाट पहिरो खसेको छ। अरुको घर माथिबाट घर पहिरो खसेको छ। अहिले लोकेन्द्र बोहराको घर पूर्ण रुपमा जोखिममा छ।’
यस्तै वडाकै मल्लोढोलमा पनि पहिरो खस्दा शेरसिंह बोहरा लगायत ६ परिवार पहिरोको जोखिममा छन्। मल्लोढोलेमा सडकबाट खसेको पहिरोले क्षति पुरयाउँदै आएको वडा सदस्य जयसिंह बोहराले बताए। उनले भने, ‘गत वर्ष साउनकै महिनामा पहिरोले क्षति पुर्याएको हो। यो वर्ष पनि पहिरोले क्षति पुर्याउन थालेको छ।’
गत वर्ष पहिरो खसेकै ठाउँमा फेरि पहिरो खस्न थालेपछि स्थानीय त्रसित बनेका छन्। गत वर्ष विस्थापित भएकाले पनि अहिलेसम्म राहत पाउन सकेका छैनन्। ‘हामीले स्थानीय सरकारबाट अहिलेसम्म केही पाएका छैनौं। पहिरोले घरबारविहीन बनाएको एक वर्ष भइसकेको छ। हाम्रो व्यवस्थापनका लागि सरकारले केही पहल गरेको छैन’, स्थानीय अम्मरबहादुर बोहराले भने, ‘घर नजिजको सरकारले समेत केही सहयोग नगर्दा हामी समस्यामा परेका छौं।’
ढोल्यामोडदेखि सुर्नया गाउँपालिकाको वडा नं ८ जोड्ने सडकका कारण मल्लोढोलेमा गत वर्षदेखि पहिरो खस्दै आएको छ। यो वर्ष पनि सडकबाट पहिरो खस्न सुरु भएकाले स्थानीय जोखिममा परेका वडा अध्यक्ष आनन्दसिंह बोहराले बताए।