खराब कार्य गर्नेलाई कुकुर नभनौं

खराब कार्य गर्नेलाई कुकुर नभनौं

कुकुर मानिसको सामिप्यमा रहेको इतिहास लामै छ। मानिस र कुकुर दुवैमा जङ्गली स्वभावको अवशेष बाँकी नै छ। कुकुर र मानिसबीच केही समानता भएरै नजिएको हुनुपर्दछ। सर्वश्रेष्ठ प्राणी मानिएको मानिसको विश्वस्त सुरक्षा सहयोगीको भूमिका निर्वाह गर्ने भएकाले कुकुर अन्य जीवको तुलनामा मानवको प्रिय छ।

कुकुरलाई दुई समूहमा विभाजन गर्न सकिन्छ; रैथाने र विकासे। रैथाने जातको कुकुरलाई नश्ल सुधार गरी अन्य जातका कुकुरहरू विकास गरिएको हो। मानिसले विकासे कुकुरलाई तालिम दिएर कठिन कार्यहरू गराउन सफल भएका छन्। मानिसले विभिन्न उद्देश्यका लागि कुकुर पालेका छन्। कुकुर पालनको आधारमा तीन किसिमका छन्ः निजी, सामुदायिक र सरकारी।

निजी कुकुरहरू घरपालुवा हुन्। यी कुकुरहरू व्यक्तिगत लगानीमा पालिएका हुन्छन्। घरको शोभा, सुरक्षाका लागि कुकुर पालिएका हुन्छन्। यिनीहरूको काम, कर्तव्य सीमित हुन्छ। घरका सदस्यहरूको चाप्लुसी गर्ने र सुरक्षाका लागि भुकिरहने। 

सामुदायिक कुकुरहरू समुदायको स्रोतसाधनको उपयोग गरी जीवनयापन गर्ने गर्छन्। यिनीहरू बढी स्वतन्त्र र आत्मनिर्भर हुन्छन्। आफ्नो गाँसबासको जोहो स्वयम् गर्छन्।  यिनीहरूलाई हेपेर भुस्याहा कुकुर भनिए पनि सामुदायिक अथवा टोले कुकुर भन्नु नै उपयुक्त हुन्छ। यिनीहरूको कार्यक्षेत्र फराकिलो हुन्छ। आफू बस्ने टोल वा समुदायको सुरक्षाको अभिभारा लिएका हुन्छन्। राति जब मानिसहरू घरमा आराम गरिरहेका हुन्छन्, टोले कुकुरहरू स्वयंसेवक, सुरक्षाकर्मीझैं ड्युटीमा तल्लीन हुन्छन्। पूर्ण रुपमा चेकजाँज गरिरहन्छन्। रातभर कर्तव्य पालनमा तदारुकताका साथ लागि रहन्छन् तर निजी कुकुरहरू मालिकसँगै आराम गरिरहेका हुन्छन्।

सरकारी कुकुरहरू विशेष किसिमका हुन्छन्। विशेष किसिमका तालिम प्राप्त हुन्छन् र सोहि अनुसारको कार्य सम्पादन गर्न लगाउँछन्। बम तथा हातहतियार पत्ता लगाउने, अपराधी पत्ता लगाउने, चेकजाँच आदि प्रमुख कार्यहरू गर्न यस्ता कुकुरहरू नियुक्त गरिएका हुन्छन्। यी कुकुरहरूलाई उचित हेरचाह गर्नका लागि कर्मचारीहरू हुन्छन्। ती कर्मचारीहरूले  कुकुरहरूलाई सम्मानित किसिमले हेरचाह गर्ने गर्छन्। कर्मचारीझैं कुकुरलाई पनि तह अनुरुप सरकारले तलब सुविधा व्यवस्था गरेको हुन्छ। उच्च ओहोदाका व्यक्तिहरू जस्तैः राष्ट्रपति, प्रधानमन्त्री, नेता, राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सुरक्षा व्यवस्थापन गर्दा यी कुकुरहरूको भूमिका विश्वसनीय र महत्त्वपूर्ण हुन्छ। बम विस्फोट र हत्याजस्ता घटनाको अनुसन्धानमा कुकुरहको भूमिका प्रभावकारी मानिन्छ। पीडित जनतालाई मानसिक सन्तुष्टिका लागि यस्ता घटनाहरूमा कुकुर परिचालन अपरिहार्य हुन्छ।

अवस्था र परिवेश फरक भए पनि टोले कुकुरको भूमिका समुदायमा व्यापक र विचारणीय देखिन्छ। यी कुकुरहरूले स्वतस्फूर्त पूर्ण जवाफदेहिताका साथ आफ्नो कर्तव्य निर्वाह गरेका हुन्छन्। स्वचालित सरकारझैँ निरन्तर सेवामा हुन्छन्। सेवाको सट्टामा मानिसबाट थोरै भए पनि सम्मानको अपेक्षा गरेको देखिन्छ। तर दुरदुर, छिःछिः र अपहेलना मात्र प्राप्त हुन्छ। मानिसले यिनीहरूको अनवरत सेवालाई नजरअन्दाज र अवमूल्यन गरेका छन्। यस्ता कुकुरहरूले टोलको धनजनको सुरक्षाको लागि जङ्गली जनावर र चोरडाकाहरूसँग वीरतापूर्वक लड्दालड्दै प्राणको आहूति दिन्छन्। यिनीहरूको बलिदानीको समाजमा कुनै मूल्याङ्कन हुँदैन।

हुन त मानिस शक्तिको पूजारी हो। आफ्नो होइन अरुको। आफ्नो शक्ति त ज्ञातै हुँदैन। अरुको शक्तिले मानिसमा भय, त्रास र डर उत्पन्न हुन्छ र उसको चाकडी, गुलामी र पूजा गर्छन्। निरीह र कमजोर जनावरलाई सिकार गर्ने सिंह र बाघलाई जङ्गलको राजा मानिन्छ। निरङ्कुश, अत्याचारी र भ्रष्टाचारीलाई शक्तिशाली राजा वा नेता मान्छन् अनि भगवानझैँ गर्छन्। निस्वार्थ प्रेम र सेवालाई यथार्थमा कमजोरी र विवशता मान्छन् अनि हेला, अपमान र अन्याय गर्छन्। आफूलाई सबैभन्दा स्वतन्त्र र शक्तिशाली ठान्छन्।

वास्तवमा सामुदायिक कुकुरहरूको दर्जा सबै कुकुरहरूभन्दा उच्च छ। यिनीहरूमा प्राकृतिकपन छ। स्वतन्त्र, इमानदार, अनुशासित र कर्तव्य परायण हुन्छन्। आफ्नो अधिकारको उपयोग र अरुको सम्मान गर्न सिकाउनु पर्दैन। यिनीहरूलाई फोहोरी र प्रजनन क्रियाका लागि अनुशासनहीन मान्छन्। हुन त मानिस स्वयं फोहोरी र अनुशासनहीन प्राणी हो भन्ने कुरा उसको अन्तरआत्मालाई राम्रोसँग थाहा छ। मानिसले जुन कुरालाई फोहोर मान्छ, कुकुरले पनि त्यसलाई फोहोर मान्नुपर्ने न्यायोचित होइन। कुकुर अनुशासित र इमानदार हुन्छ भन्ने कुरा मानिसले स्वीकारेका छन्। बलात्कार र भ्रष्टाचार निकृष्ट र अघोर फोहोरी कार्य हुन्। सबैलाई थाहा छ, बुझेका छन्।

तर मानिसहरू यी कुकर्मबाट मुक्त हुन सकेका छैनन्। झन् बढ्दो क्रममा छ। नियम कानुनले पनि मानिसलाई यी फोहोरी कर्मबाट रोक्न सकिरहेको छैन। त्यसैले भ्रष्टाचारी, व्यभिचारी र बलात्कारीलाई कुकुर भनेर गाली नगरौँ। कुकुरको अपमान हुन्छ। समुदायमा कुकुरको  दर्जा उच्च छ। कुकुरलाई अपमान होइन, सम्मान गरौँ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.