‘अबको तीज, नो व्रत प्लिज’

‘अबको तीज, नो व्रत प्लिज’

काठमाडौं : अबको तीज, नो व्रत प्लिज

नो खुट्टाको पानी, महिला पुरुष दुवै नै बराबरी।

रंगी विरंगी चुरा र सारी गहनाको भारी

गुडिया जस्तै सजिएर नखाने दर हामी।

अबको तीज नो नक्कल प्लिज

नो खर्चको पार्टी, महिला पुरुष दुवै नै बराबरी।

गीतले उठाएको सवाल महिला पुरुष समान हुन् भन्ने नै हो। गायिका सोफिया थापाका अनुसार श्रीमान्को आयु बढ्छ भन्ने गलत मान्यता अपनाउँदै दिनभर भोकै बस्नु कसैगरी धर्म हुन सक्दैन। थोरै खर्च गरेर सामान्य तवरमै तीज मनाऊँ भन्ने आशयको यो गीत धर्मका नाममा खेती गरिरहेकालाई पाच्य भएन। उनीहरूले निरन्तर सोफियालाई प्रहार गरे। सार्वजनिक रूपमै गालीगलौजमा उत्रिए। हिन्दु धर्मविरुद्ध गीत गाएको भनेर आरोप लगाए। अत्यधिक दबाबपछि यो गीतलाई युट्युबबाट हटाइएको छ।

गीत युट्युबबाट हटेपछि सोफिया केही अशान्त बनेकी छन्। उनी घरिघरि प्रश्न गर्छिन्, नो व्रत प्लिज गीतका शब्द साँच्चिकै धर्मविरुद्ध थियो त ? महिलालाई तीजको बेला व्रत नबसौं भनेर गरिएको आग्रहले हिन्दु धर्मको चलन नै नाशिने हो ? गुडियाजस्तै वस्तु बनेर नक्कल नपारौं भन्दै गर्दा कमजोर हुने कस्तो खालको सनातन धर्म यो ?     

उनलाई धर्मका नाममा पुरुष सत्ताले सधैंभरि महिलामाथि गरेको विभेदप्रति आपत्ति छ। हिन्दु जागरण अभियान लगायतका धार्मिक संस्थामा आबद्ध भएका धर्मका हिमायतीहरूको नियतमाथि नै शंका छ ? खासमा उनीहरूले हिन्दु धर्मका नाममा समाजमा गलत प्रवृत्ति र गलत मान्यतालाई प्रश्रय दिइरहेको उनको दाबी छ।

उनी भन्छिन्, एउटा गीतलाई सहन नसक्ने धार्मिक अभियन्ता भन्नेहरूले मन्दिरअगाडि बसेर भीख माग्नेहरूको उद्धार किन गर्दैनन् ? के हिन्दु धर्ममा गरिबको उद्धार नगर्न लेखिएको छ ? धर्मका नाममा अनेकौं विकृति समाजमा चलिरहेका छन्। जातका आधारमा गरिने विभेदलाई धर्मले सही ठान्छ ? हैन भने हरेक हिन्दु मन्दिरमा पानी चल्ने जात मात्रै पण्डित किन हुन्छन् ? दलितलाई मन्दिर प्रवेश गर्न नदिने चलन पनि धर्मबाटै ल्याइएको हो ? हैन भने यस्तो गलत चलन र संस्कारविरुद्ध उनीहरू किन बोल्दैनन् ? तीजको पञ्चमीमा महिलालाई सुनाइने कथा के साँच्चै विज्ञानसम्मत छ ? महिनावारी भएको पाप कटाउने संस्कार मनाउँदै गर्दा पुरुषले गरेका पाप कटाउने संस्कार किन बनेन ? धर्मको नाममा हुने विभेद सहँदै धर्म जोगाउने जिम्मा महिलाको मात्रै हो ?     

श्रीमान्को आयु लामो होस् भनेर पानी पनि नखाई दिनभर भोकै बसेर शिवजीकोे पूजा गर्दै मनाइने चाड हो तीज। अरूका लागि गरिने पूजा आज कसरी आफ्नो पर्व हुन्छ ?

सोफिया पेसाले लेक्चरर हुन्। उनी अंग्रेजी र मनोविज्ञान विषयमा अध्यापन गर्छिन्। गीत गाउनु र लेख्नु रहरको काम। बेलाबखत गीत सार्वजनिक गरिरहन्छिन्। बुटवलमा हुर्किएकी उनले काठमाडौंलाई कर्मक्षेत्र बनाएकी छन्। यो पटक लामो समय फुर्सदमा घर बस्दा केही सिर्जनशील काम गरौं भन्ने लागेर तीजको विषयमा गीत लेखेको बताउँछिन् उनी।

उनी भन्छिन्, ‘कोरोनाको त्रासले सबैतिर आहत बनाएको अवस्थामा सबैलाई रमाइलो दिने गीत लेख्ने सोच गरिरहेकी थिएँ। तीजको गीत पनि भनेकी छैन मैले। तीजको विषयमा लेखेकी हुँ।’ सानैदेखि हक्की स्वभावकी सोफियाले सानोमा तीजको व्रत बस्ने क्रममा हजुरबुवाले तीजका नाममा महिलामाथि कसरी विभेद गरिन्छ भनेर सम्झाउनुभएको बताइन्। त्यसपछि उनले समाजको चलन गहिरो गरी बुझ्न थालिन्। धर्म र संस्कृतिका नाममा महिलामाथि गरिने असमान व्यवहारलाई बेवास्ता गर्न सिकिन्।

तीजको कथा खोतल्दै उनी भन्छिन्, ‘तीजका नाममा धेरै विकृति देखेकी छु। तीज मनाउनुका पछाडि श्रीमान्को आयु बढ्छ भन्ने कपोलकल्पित धारणा छ। एउटाले व्रत बसेर अर्कोको उमेर बढ्ने हुन्छ त ? गीतमा व्रत पछाडिको कहानी र विकृतिको विषयमा आवाज उठाएकी छु।’ यसपालिको तीजमा नो व्रत प्लिज भनेकै कारण उनको गीत धर्मविरुद्ध भयो भनिएकोमा उनको आक्रोश छ।

तीजलाई विशेषतः महिलाको पर्व भनिन्छ। तर यसमा सोफियाको फरक मत छ। भन्छिन्, ‘श्रीमान्को आयु लामो होस् भनेर पानी पनि नखाई दिनभर भोकै बसेर शिवजीकोे पूजा गर्दै मनाइने चाड हो तीज। अरूका लागि गरिने पूजा आज कसरी आफ्नो पर्व हुन्छ ? श्रीमान्का लागि व्रत बसिने चाड भएपछि यो त  श्रीमान्को चाड भयो नि। पुरुषका लागि पूजा गरिने भएपछि महिलाको चाड कसरी भयो ? हामी महिला आफ्नो लागि राम्रो होस् भन्दै कामना गर्दै व्रत बस्न कहिले पाउने ? ’

जतिसुकै शिक्षित पुरुष भए पनि उसले महिलालाई हेर्ने नजरमा परिवर्तन आएको छैन। उनी आक्रोश पोख्दै भन्छिन्, ‘मैले महिला दिदीबहिनीलाई व्रत नबस्न आग्रह गरेको हुँ, पुरुषलाई टाउको दुख्नुपर्ने किन ?’ अब महिलाले व्रत बस्दैनन् कि भन्ने पिरलो भएकै कारण यस्ता विचारलाई समाजमा फैलन नदिन गीत रोकेको उनको दाबी छ।

आफूलाई सार्वजनकि रूपमा गरेको गाली बेइज्जतीविरुद्ध उनले साइबर क्राइममा निवेदन दर्ता गरिसकेकी छन्। गीत पुनः बजाउन पाउनका लागि कानुनी उपचारको बाटोमा जाने योजना रहेको पनि उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.