मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एकजना घाइते
मलंगवा : सर्लाहीको लालबन्दी नगरपालिका १७ घिमिरे चोकस्थित पूर्व- पश्चिम राजमार्गअन्तर्गत मोटरसाइकल दुर्घटनामा दुईजनाको ज्यान गएको छ । दुईवटा मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृत्यु हुनेहरुमा लालबन्दी नगरपालिका ५ का ब्रहम्देव चौधरी र रौतहट जिल्ला ईशनाथ नगरपालिका ७ का ५५ वर्षीय नन्द किशोर साह रहेको छ ।
ज.१ म २३३ र प्र.नं. २-०३-००३ प ६६८९ नम्बरको मोटरसाइकल ठोकिएका थिए । ठक्करबाट घाइते भएका चौधरीलाई लालबन्दीस्थित एक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।
त्यसैगरी मोटरसाइकल नं. ज. १ म २३३ नम्बरका चालक साहको लालबन्दीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनुषाको लालगढ अस्पतालमा लगिएको थियो ।
त्यहाँ पनि उपचार सम्भव नभएपछि धनुषाकै महेन्द्रनगरतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । साहसँगै पछाडि बसेका रौतहटकै श्याम साहको टाउकोमा चोट लागेको र महेन्द्रनगरस्थित एक हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुने चौधरी पनि मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ ।