लमजुङमा थप ३ जनामा डेङ्गु
बेंसीसहर : लमजुङमा थप तीन जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। पछिल्लो साता ३ दिनमै ३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको लमजुङ जिल्ला सामुदायिक अस्पतालले जनाएको छ।
बुधबार, बिहीबार र शुक्रबार लगातार तीन दिनमा तीन जनामा डेङ्गु देखिएको लमजुङ जिल्ला सामुदायिक अस्पतालले जनाएको छ। अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार बुधबार बेंसीसहर नगरपालिका ३ का १७ वर्षीया महिलामा डेङ्गु देखिएको हो। बिहीबार बेंसीसहर नगरपालिका ९ का २१ वर्षीय पुरुषमा डेङ्गुको सङ्क्रमण देखिएको र शुक्रबार बेंसीसहर नगरपालिका ८ का २९ वर्षीय पुरुषमा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए।
टाउको दुख्ने र उच्च ज्वरो आउने समस्यापछि अस्पतालमा आएका तीनै जनाको परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको थियो। स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले पछिल्लो समय तीन जनामा डेङ्गु देखिएको र उनीहरू सबैको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको बताए।
दवाडीका अनुसार यसअघि असार ३० गते क्व्होलासोंथर गाउँपालिका वडा नं. २ मालिङ घर भइ बेंसीसहर नगरपालिका वडा नं. ७ घलेगाउँचोक बस्ने २९ वर्षीया महिलामा डेङ्गु देखा परेको थियो। आर्थिक वर्ष २०७६/०७७ मा मात्रै पाँच जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख दवाडीले बताए।
एडिस जातको पोथी लामखुट्टेले दिउँसोको समयमा टोक्दा उसको शरीरमा भएको भाइरस मानव शरीरमा सर्ने हुँदा डेङगु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन उनको सुझाव छ।