कर्मचारीमा कोरोना देखिएपछि धरानको प्रिति भल्भ एण्ड फिटिङस इण्डष्ट्रिस सिल
धरान : सुनसरीको धरान उपमहानगरपालिकाको प्रिति भल्भ एण्ड फिटिङस इण्डष्ट्रिस प्रालि सिल गरिएको छ। भल्भमा काम गर्ने तीन जना र परिवारका तीन गरी ६ जनामा कोरोना संक्रमण देखिएपश्चात उद्योग सिल गरिएको हो।
उद्योग व्यवसायी अशोक अग्रवालले संचालन गर्दै आएका थिए। गत बुधबार प्रिति भल्भमा काम गर्ने २८ वर्षीय एक कर्मचारीमा कोरोना देखिएपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरी उद्योग सिल गरेको छ। ६ जनामा कोरोना देखिएपश्चात प्रिति भल्भलाई सिल गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए। उनले संक्रमित भएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङका आधारमा अन्यको समेत खोजी भइरहेको बताए।
आइतबार प्रिति भल्भमा काम गर्ने जनकपुर घर भएका ४३ वर्षीय र विराटनगर घर भएका २८ वर्षीय पुरुषमा कोरोना देखिएको छ। ४३ वर्षीय पुरुषकी ३४ वर्षीया श्रीमती, ९ वर्षिय छोरा र ५ वर्षकी नाबालिका छोरीमा समेत कोराना पोजिटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख मेहताले बताए। संक्रमितहरुको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको छ।