मधेस राजनीतिको दृश्य
मधेसले पनि राष्ट्रिय मूलधारमा हस्तक्षेप गर्नैपर्छ। तराई–मधेसले शिर उँचो पारेर पहाड, हिमालतिर हेर्नैपर्छ। मधेसलाई टेकेर पहाडतिर उक्लिनैपर्छ।
नेपालको दक्षिणी समथर भूगोल (तराई–मधेस पनि भनिन्छ) उसैगरी पूर्व–पश्चिम तन्किएको छ, जसरी विश्वको मानचित्रमा नेपालको सीमा तन्किएको छ। यो समथर भूगोलमा पूर्व–पश्चिम छिचोल्ने दुई राजमार्ग छन्–पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग र हुलाकी राजमार्ग। हुलाकी राजमार्गको निर्माण अझै पूरा हुन सकेको छैन। नेपालको उपेक्षित विकासको प्रभावकै रूपमा हुलाकी राजमार्गलाई हेर्न सकिन्छ।
तराई–मधेसको विकास र समृद्धिमा कायाकल्प गर्ने सम्भावना बोकेको यो राजमार्ग नेपालका सबै चालू राजमार्गभन्दा पुरानो भईकन पनि दशकौंदेखि निर्माण सम्पन्न नहुनुको बहुआयामिक कारण छन्। नेपालको जेठो सडक अझै पनि बनिनसक्नु आफैंमा एक ऐतिहासिक उल्झन हो। र, हो यो एक अनुत्तरित प्रश्न पनि। यही एउटा राजमार्गले नेपालको काठमाडौंकेन्द्रित शासनसत्ताले तराई–मधेसलाई कस्तो व्यवहार गरिरहेको छ भन्ने छर्लंग पारेको छ। अनि यही एउटा राजमार्गले तराई–मधेसलाई हेर्ने सांगोपांगो नजरियासमेत प्रतिविम्बित गरिदिएको छ।
राजमार्गमा राजनीति
हुलाकी सडक, राणाकालीन समयमा चिठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने छोटो बाटो हो। त्यही बाटोलाई हुलाकी राजमार्ग नामाकरण गरियो। हालको पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग निर्माण हुनुपहिले यो नै एकमात्र पूर्व–पश्चिम सडक थियो। यो मार्ग तराई–मधेसका जिल्लाहरू जोड्ने पहुँच मार्ग हो। यति पुरानो र ऐतिहासिक भईकन पनि यो हुलाकी लोकमार्ग निर्माण सम्पन्न हुन सकेको छैन।
त्यसैले अहिलेको अवस्थामा पूर्व–पश्चिम नेपालको यात्रा गर्ने एक मात्र चालू बाटो ‘पूर्व–पश्चिम राजमार्ग’ नै हो। तत्कालीन राजा महेन्द्रले २०१९ सालमा निर्माण सुरु गराएको यही राजमार्ग पञ्चायती विकासको एक मात्र जीवित उम्दो दृष्टान्त पनि मानिन्छ। त्यो बेला महेन्द्रले चाहन्थे भने सबैभन्दा पहिले हुलाकी राजमार्ग बन्ने थियो। तर पूर्व–पश्चिम तराई–मधेसका सहर जोड्ने हुलाकी मार्गको साटो चुरेको फेदकेन्द्रित भएर व्यापक मात्रामा वन फडानी गरी नयाँ राजमार्ग खोलियो। यो राजमार्ग खोल्नुको कारण पहाडबाट बसाइँसराई गरी पूर्व–पश्चिम नयाँ बस्ती बसाउनु थियो। अनि त्यो नयाँ बस्तीमार्फत तराई–मधेसको भूराजनीतिलाई सन्तुलनमा ल्याउनु थियो– ‘महेन्द्रीय राष्ट्रवाद’ का खातिर !
त्यही राष्ट्रवादको राजनीतिले आजको पुस्तासम्मलाई नराम्ररी गाँजेको छ। आखिर यो देशको विविधता नचिन्ने, समुदाय, स्थानीयता, भूसंस्कृति, भेषभूषा र रहनसहन चनिन्ने केवल भूगोल र शासकीय समुदायलाई मात्रै चिन्ने ‘राष्ट्रवाद’ को भाष्यको निर्माण त्यही महेन्द्र राजमार्ग निर्माणसँगै विस्तारित भयो। पूर्व–पश्चिम चुरेको फेदैफेद निर्माण गरिएको राजमार्ग र यसले चर्चेको स्थानमा नयाँ सहर बन्दै गर्दा मध्यमधेस छिचोल्ने हुलाकी राजमार्गचाहिँ उपेक्षित भइरहनुले त्यही ‘महेन्द्रीय राष्ट्रवाद’ को सचेतन राजनीति उजिल्याउँछ।
देखिने दृश्य
अनि आज हामी त्यही पूर्व–पश्चिम राजमार्गको यात्रा गर्दै समग्र तराई–मधेसको दृश्य र मनोविज्ञानको संश्लेषण गर्न पुग्छौं, जुन वास्तवमै असंगत एवं त्रुटिपूर्ण छ। साँच्चिकै मधेस बुझ्नका लागि हुलाकी सडक हुँदै दक्षिण नेपालका पुराना सहर, राजमार्गवरिपरिका अव्यवस्थित देखिने बजार, खेत खलियान हुँदै तराई–मधेसका गाउँटोल पुग्ने धुलाम्य र हिलाम्य बाटोको कष्टकर यात्रा तय गर्नैपर्छ। बल्ल मधेस के हो बुझिन्छ। मधेसको समस्या के हो ज्ञात हुन्छ।
पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्दा एक खालको विकासको झझल्को पाउन सकिन्छ। राजमार्गवरिपरि देखिने दृश्यले भन्छ– जताततै आबादी बढेको छ। बढ्दै गरेको आबादीले केही मात्रामा विकासका गतिविधि पनि बढाएकै छन्। अनि शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सञ्चार आदिको विकास हुँदै जो छ, मुख्य सहर–बजारमा चौडा बाटो हुने क्रम जारी नै छ। हो, पूर्व–पश्चिम राजमार्गको यात्रामा यही गुल्जार हुँदै गरेको तराई–मधेस देख्छौं र हामी सहज निष्कर्षमा पुग्छौं, आखिर तराई–मधेसमा सबै ठीकै त छ।
तर, त्यही राजमार्गबाट टाढिएर केही किलोमिटर दक्षिणी शाखा सडकहरूको यात्रा गर्दा अर्कै यथार्थको बोध हुन्छ। हो, त्यो दक्षिणी भेकको दृश्यमा भने अर्कै संसार दृष्टिगोचर हुन पुग्छ। सडकवरिपरि देखिने निकै पुरानो तर अव्यवस्थित र दुर्गन्धित बजारले प्रश्न उठ्छ– एउटै भूगोलको केही किलोमिटर दक्षिण र केही किलोमिटर उत्तरको दृश्यमा किन यत्रो अन्तर ? अनि लाग्छ– यो दुइटा पूर्व–पश्चिम नेपाल जोडिने सडकबीच कुनै सम्बन्ध नै छैन। तराई–मधेसको वास्तविक कथा बोल्ने यिनै दृश्य हुन्।
निर्मित दृष्टिकोण
यी दुई राजमार्गवरिपरि देखिन दुईथरी दृश्यको अन्तरविरोध नै तराई–मधेसको राजनीतिक परिदृश्य हो। अनि यहाँका गरिब र उत्पीडित जनता भने राज्य, समुदाय र छिमेकीको मिचाह प्रवृत्तिको तेहेरो शोषणमा पिल्सिएका छन्। पहिलो, राज्यसत्ताले गरेको शोषण र दमन। दोस्रो, सामुदायिक रूपले टाठाबाठाबाट हुने उत्पीडन, जसलाई उनीहरूकै नाउँमा हुने राजनीतिले संरक्षण गरेको हुन्छ। तेस्रो, भारतीय सीमा अतिक्रमणको बलमिच्याइँ र ज्यादती।
मधेसका नेताहरू जब सत्ताको निकट आउँछन् र मधेस बिर्सिन्छन्। मधेसको माटोमा जन्मेहुर्केका अनि त्यहीं राजनीतिक कर्म गर्ने नेताहरूलाई काठमाडौंको वातानुकूलित मौसम किन प्यारो लाग्छ ? उनीहरूले किन मधेसमै बसेर मधेसी जनताको हितका लागि काम गर्दैनन् ?
खासमा उनीहरूका लागि न त राज्य छ, न पार्टी छ, न स्थानीय छन्, न त सुरक्षा छ। बाह्य र आन्तरिक दुवैतर्फबाट दमित भइबस्नुपर्ने सीमाञ्चल क्षेत्रका नागरिकका वेदना, पीडा अनि दैनन्दिनी झेल्नुपर्ने समस्याको चाङ कसले देखोस् ?
परिणामस्वरूप रोग, भोक र शोक नै दक्षिणी सीमाञ्चल क्षेत्रका नागरिकको दैनिकी बनेको छ। यिनै समस्यासँग जुध्दाजुध्दै तिनको जुनी बित्छ। त्यही अभाव र पीडामाथि समाजले सामाजिक विभेद र बहिस्करणको बल्छी थाप्छ। अनि मान्छे भएर बाँच्न सकेको छैन मान्छे।
उता राज्यको चरम् लापरबाही र अमानवीय व्यवहारबाट पनि तिनै मरिरहेका छन्। केही समयअघि त्यही तराई–मधेसको सीमाञ्चल क्षेत्रका तीन होनाहार युवाहरूको ‘अकारण’ ज्यान गयो। प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदा, अस्पतालमा जीवनजलसमेत पाउन नसकेर प्राण त्यागेका राजु सदा र पेट भर्ने खाना नपाएर भोककै कारण ज्यान गुमाएका मलर सदाको मृत शरीरले यो देशलाई गिज्याइरह्यो– राज्यको अमानवीय र संवेदनहीन चरित्र उदांगो पारिदियो। तर, काठमाडौंको सत्तालाई त्यसको कुनै असर परेन।
खासमा त्यो स्वाभाविक मृत्यु थिएन। त्यो राज्यहत्या नै थियो। आफ्ना नागरिकको न्यूनतम बाँच्न पाउने अधिकारसम्मको सुरक्षा गर्न नसक्ने राज्यले दैनन्दिनी नागरिकको हत्या गरिरहेको छ। हो, मधेसको राजनीतिमा ती अनाहकमा ज्यान गुमाएका मानिसले भोगेका समस्या नखोतल्ने हो भने त्यो राजनीति नक्कली प्रतीत हुन्छ।
इतिहासको योगदान
इतिहासको फलकमा मधेस र मधेसको राजनीतिलाई हेर्दा सबै जागरणमुखी आन्दोलन र राजनीतिक रूपान्तरणको संघर्षमा मधेसको योगदान महत्वपूर्ण र निर्णायक देखिन्छ। हालसम्म भएका सबैजसो राजनीतिक संघर्षमा तराई–मधेसको योगदान उच्च छ। झन् २००७ सालको क्रान्तिताका त मधेसका केही सहरले निर्णायक इतिहास रचेकै हुन्।
वीरगन्ज, जनकपुर, राजविराज, विराटनगर, भैरहवा यस्ता केही दक्षिण नेपालका पुराना सहर हुन्, जसले २००७ सात सालको क्रान्तिलाई नै नयाँ उचाइ र गन्तव्यमा पुर्याए। तर, एकाध सहरलाई छाड्ने हो भने गौरवमय राजनीतिक इतिहास बोकेका अनि दिग्गज नेतृत्व जन्माएका यी सहर आज किन गुमनाम छन् ? किन तिनको शान, सौकत र वैभव मुर्झाएको छ ? ती तराई–मधेसका पुराना सहर किन आज सुनसान बने ? ती किन राजनीतिक नेतृत्व र राज्यबाट उपेक्षित भए ? कसले उपेक्षा गर्यो ? अनि किन गरियो ?
तराई–मधेसको विकासक्रमको कारण खोतल्दा जहाँ बसाइँसराइ भएर आउने क्रम बढी हुन्छ, त्यहाँ विकासको प्रक्रिया पनि तीव्र भएको देखिन्छ। अनि यसरी बसाइँसराइ गर्नेमा पहाडी मूलका आर्य खस समुदायकै बाहुल्य देखिन्छ। तर, तुलनात्मक रूपमा दक्षिणतिरका मधेसी थारू समुदायको बसाइँसराइको दर पनि कम छ र उनीहरूको समुदायको भौतिक विकासको दर पनि उस्तै न्यून देखिन्छ।
हो, यहींबाट राज्यको स्रोतसाधनको उपयोग सबैभन्दा बढी कुन समुदायले गरेको छ ? अनि उत्पीडन र विभेदको शृंखला कहाँ बढी छ ? स्पष्ट हुन्छ। खस आर्य समुदायको बाहुल्य भएका स्थानमा विकासको गति बढी हुनुमा उनीहरूको उन्नत सभ्यता, संस्कार र चेतना हो भनेर तर्क गर्नेहरू पनि प्रशस्त छन्। यसमा केही सत्यता पक्कै छ। तर, किन त्यसो भयो भनेर प्रश्न गर्ने हो भने त्यो समुदाय जहाँजहाँ पुग्छ राज्यको स्रोतसाधन त्यहींत्यहीं पुगेको यथार्थ अस्वीकार गर्न सकिँदैन। अतः भौतिक विकासको अवस्था र अवसरको बाहुल्य पनि त्यही समुदायको भागमा बढी पर्न गएको साँचो हो।
वैकल्पिक नजर
उत्पीडन, विभेद र अविकाश मधेसका खास समस्या हुन्। त्यसैले तराई–मधेसमा कुनै न कुनै जागरणको आन्दोलन चलिरहेको छ। आन्दोलनको फरक–फरक स्वरूप र झाँकी प्रस्तुत भइरहेको छ। त्यही जागरणमुखी आन्दोलनले नयाँ वैकल्पिक रणनीति प्रस्तावित गर्दै छ। जुन मधेसको पछिल्लो राजनीतिक जागरण हो।
मधेसका नेताहरू जब सत्ताको निकट आउँछन् किन उनीहरू मधेस बिर्सिन्छन् ? मधेसको माटोमा जन्मेहुर्केका अनि त्यहीं राजनीतिक कर्म गर्ने नेताहरूलाई काठमाडौंको वातानुकूलित मौसम किन प्यारो लाग्छ ? उनीहरूले किन मधेसमै बसेर मधेसी जनताको हितका लागि काम गर्दैनन् ? यस्ता अनगिन्ती प्रश्न अनुत्तरित नै छन्।
यी प्रश्नको उत्तर खोज्दै गर्दा अब उही पारम्परिक आँखाले हेरेर हुँदैन। तराई–मधेसको अहिलेको अभावग्रस्त अवस्था र असन्तुलित विकासले त्यहाँको जीवनस्तर झन् खस्किँदै गएको छ। त्यसैले राज्यको समतामूलक समृद्धिमा अब तराई–मधेसको सहभागिता बढाउनुपर्छ। पूर्व–पश्चिम राजमार्गमा नयाँ बस्ती र सहरहरू गुल्जार हुँदै गर्दा दक्षिणतिर मुर्झाएका बस्तीहरूमा पनि त्राण भर्नुपर्छ। उत्तर–दक्षिण व्यापारिक र भावनात्मक सम्बन्धको विस्तारले नै समग्र तराई–मधेसको उन्नति हुने हो। मधेस राजनीतिको वैकल्पिकता यही हो कि– सामुदायिक स्वरूपमा रहेको राजनीतिलाई राष्ट्रिय स्वरूप दिनैपर्छ। मधेसले पनि राष्ट्रिय मूलधारमा हस्तक्षेप गर्नैपर्छ। तराई–मधेसले शिर उँचो पारेर पहाड, हिमालतिर हेर्नैपर्छ। मधेसलाई टेकेर पहाडतिर उक्लिनैपर्छ।