गोरु काटेको अभियोगमा तीनजना प्रक्राउ
बेंसीसहर : गोरु काटेको अभियोगमा लमजुङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । मस्र्याङदी गाउँपालिका-७ ङादी दोभानचौरमा गोरु काटेर मासु भाग लागाउँदै गरेको अवस्थामा तीनजना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ङादी दोभानचौरका ४२ वर्षीय रामबहादुर भुजेल, मस्र्याङदी गाउँपालिका ७ बस्ने ३० वर्षीय राजकुमार भुजेल र बेसीसहर नगरपालिका १० बस्ने २० वर्षीय दुर्गा थापा मगरलाई पक्राउ गरिएको हो ।
दोभानचौरमा रामबहादुर भुजेलको घरमा गोरु काटेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी खुदीबाट खटिएका प्रहरी टोलीलाई खानतलासी गर्दा घरधनी भुजेलसहित ३ जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए । उनीहरुलाई गोरुको मासुसहित पक्राउ गरिएको थापाले बताए ।
उनीहरु तीनैजनालाई आइतबार गौबध मुद्दामा लमजुङ जिल्ला अदालतबाट १२ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए ।
शुक्रबार राति साँढे १० बजेतिर गोरु काटेको देखेपछि स्थानीयले प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ ।