हिँड्दाहिँड्दै पहिरो खसेपछि...
जाजरकोट : बाटोमा हिँड्दाहिँड्दै एक्कासी पहिरो खसेपछि जाजरकोटमा एक युवती गम्भिर घाइते भएकी छन्। बारेकोट गाँउपालिका-९ निवासी खिमबहादुर बिसीकी २२ वर्षीय छोरी टीका बिसी गंभिर घाइते भएकी हुन्।
घरबाट सदरमुकाम खलंगा आउँदै गर्दा नगलगाड-५ स्थित गेरेनी भीर नजिक सुख्खा पहिरो खस्दा उनको टाउकोमा गम्भिर चोट लागेको छ। घाइते टीकाको अवस्था गम्भिर भएपछि उनलाई उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत पठाईएको छ। बारेकोट गाँउपालिकाले खर्च ब्यहोर्ने गरि माउन्टेन एयरको हेलिकोप्टरबाट उनको उद्धार गरिएको हो। घाइते युवतीको अवस्था निकै जोखिममा रहेकोले गाउँपालिकाले दुई लाख ७५ हजार रुपैयाँमा हेलिकोप्टर चार्टर गरेर उद्धार गरिएको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए।
युवतीसँगै आएका आफन्तले उनको उद्धार गरेका थिए। घाइते टीकालाई इलाका प्रहरी कार्यालयका प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्र दल्ली लगेर प्राथमिक उपचार गराएका थिए। घाइते युवतीको अझै होस खुल्न नसकेको र अवस्था निकै गम्भिर रहेको स्वास्थ्यकर्मीले बताएका छन्।