बिना सतर्कता मन्दिर

बिना सतर्कता मन्दिर

काठमाडौं : सोमबार जनैपूर्णिमा÷रक्षाबन्धन भएकाले काठमाडौं उपत्यकाका मठमन्दिर भीडभाड देखिए। पशुपति, जयबागेश्वरी, मैतीदेवीलगायत अन्य मन्दिरमा पूजाआजा गर्नेको घुइँचो निकै बढ्यो। पशुपति छिर्ने सडक र गल्लीमा बिहान सबेरैदेखि भक्तजनको चहलपहल बढ्नुका साथै पूजा सामग्री बेच्ने पसल र फुटपाथमा पनि सधैं भन्दा घुइँचो लाग्यो।

सामान किन्ने र बेच्नेले केहीले मास्क लगाएको देखिए पनि अधिकांशले पञ्जा र सेनिटाइजर प्रयोग गरेनन्। सामान्य अवस्थाझैं मन्दिर वरिपरिका सडकमा रहेका असहायलाई खानेकुरा, दान दक्षिणा दिनेहरू पनि भेटिए। कोरोना संक्रमण फैलिरहेका बेला स्वास्थ्य सतर्कता अपनाउनेहरू विरलै देखिए।

मुख्य मन्दिर बन्द भए पनि बाहिरबाटै दर्शन गर्नेहरूकै भीड बाक्लो थियो। मन्दिरको प्रवेशद्वारमै जनै फेर्ने, हातमा डोरो (रक्षाबन्धन ) बाँध्ने र बाँधिदिनेको लाइन थियो। जनै, डोरो र टीका लगाउनेले पण्डितलाई वरिपरिबाट घेराउ गरे। ‘सार्वजनिक स्थलमा भीडभाड नगरौं’, ‘सामाजिक दूरी कायम गरौं’, जस्ता सन्देशसँग अभ्यस्त भएका अधिकांशले चिउँडोमा मास्क लगाएर डोरो बाँधे। उपत्यकामा दैनिक ४० जना संक्रमित बढिरहेका बेला पशुपति क्षेत्र विकास कोषले पनि सामाजिक दूरी र सुरक्षा सतर्कता अपनाएन।

सरकारले अनिवार्य रूपमा मास्क लगाउन आग्रह गरे पनि अधिकांश मास्कबिनै आएका कोषका एक सुरक्षाकर्मीले बताए। ‘हामीले मास्क लगाएर आउन अनुरोध गर्ने हो’, उनले भने, ‘तर धेरैले किनेर ल्याइदिनू भन्छन्, हामीले कसरी किनेर दिने।’ भीडभाड नियन्त्रण गर्न कोषले विशेष पहल गर्नुपर्ने उनले बताए। कोषका सदस्य सचिव डा.प्रदीप ढकाल भने अहिले मन्दिर बाहिर मात्रै भीडभाड भएको बताए। ‘हामीले मुख्य मन्दिर भित्र पस्न दिएका छैनौ’, उनले भने, ‘आउनले बाहिरबाटै स्नान गर्ने, बाहिरबाटै मन्दिरको दर्शन गर्ने गरिरहेका छन। यसमा हामीले रोक लगाउन मिल्दैन।’ साउने सोमबार र जनैपूर्णिमा एकै दिन भएकाले सोमबार भीड केही बढेको उनको ठहर छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.