सुदूरपश्चिममा ९ दिनमै ५ सय ४९ संक्रमित
धनगढी : लकडाउन खुलेपछि सुदूरपश्चिममा कोरोना संक्रमण दर बढेको छ। साउन १० गतेयता मात्रै सुदूरपश्चिममा ५ सय ४९ जना संक्रमित फेला परेका छन्। यहाँ साउन ९ सम्म संक्रमितको संख्या ४ हजार ४४ थियो। साउन १८ मा त्यो संख्या ४ हजार ५ सय ९३ पुगेको छ। यससँगै कोरोना समुदायमा पुगेको अनुमान लगाउन थालिएको छ।
साउन १८ गते एकै दिन १ सय २८, १३ गते ८० र १४ गते ७० जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। लकडाउनका बेला गरिएको प्रयासभन्दा अहिले लापरवाही हुन थालेपछि कोरोना संक्रमण बढेको हो।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले भारतबाट फर्केका नागरिकलाई होल्डिङ सेन्टरमा राख्न नसके कोरोना संक्रमण भयावह हुने बताए। ‘विदेशबाट आउने नागरिकलाई काठमाडौंमा होल्डिङ सेन्टरमा राखिएझैं सुदूरपश्चिमका सीमा क्षेत्रमा पनि होल्डिङ बनाउनुपर्छ’, उनले भने, ‘मैले प्रदेश सरकार र सामाजिक विकासमन्त्रीज्यूलाई यसबारे अनुरोध पनि गरिसकेको छु।’
कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको खलंगा र बैतडीको झुलाघाट नाकाबाट दैनिकजसो ५ सय जना नेपाली स्वदेश फर्किरहेका छन्। तर, सीमा नाकामा ज्वरो मापन र तथ्यांक लेखनबाहेक उनीहरू यातायातको व्यवस्था आफैं गरेर सोझै घर गइरहेका छन।
सेती प्रादेशिक अस्पतालमा कोभिड— १९ का संयोजक तथा वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले समुदायमा कोरोना जाँच नहुनु, सीमामा होल्डिङ सेन्टर नहुनु संक्रमण बढ्नुको कारक रहेको बताए। ‘क्वारेन्टाइनमा बसेका, भारतबाट फर्केका सबैको पीसीआर जाँच गरी स्वास्थ्य टोली गाउँगाउँ जाने बेला हो’, उनले भने, ‘तर, पीसीआरको दायरा अझै बढाउन सकिएको छैन। यसले जोखिम बढाएको छ।’
उनका अनुसार अहिले समुदायमा कोरोनाको अवस्था अज्ञात छ। ‘समुदायको अवस्था भनेको अज्ञात हो। किनकि, समुदायमा अझै परीक्षण नै भएको छैन’, उनले भने, ‘अहिलेको परीक्षण भनेको क्वारेन्टाइनमा लक्षण देखिएका र कन्ट्याक्ट टे«सिङमा परेकाको मात्रै भइरहेको छ।’
प्रदेश सरकारले केही दिनअघि संक्रमितको परिवारमा जाने, उसको नजिकका दुई जनाको स्वाब संकलन गर्ने निर्देशिका बनाएको थियो। तर, अझै त्यो काम हुन सकेको छैन। ‘त्यसले मात्रै भन्न सकिन्छ कि कोरोनाको समुदायभित्रको संक्रमणका दर के छ भनेर’, डा. कमरले भने।
स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने बाजुराबाहेक संक्रमितको परिवारका दुई जनाको स्वाब संकलन गर्न ८ वटा जिल्लामा आवश्यक स्वास्थ्य सामग्री पठाइएको बताए। ‘बाजुरामा सडक अवरुद्ध भएकाले सामग्री पाउन सकिएको छैन। त्यसबाहेक प्रदेशका बाँकी ८ जिल्लामा स्वाब संकलन गर्न आवश्यक सामग्री पठाइसकेका छौं’, उनले भने।
सुदूरपश्चिममा साढे २५ लाख जनसंख्यामा ३६ हजार ३ सय ४९ जनाको मात्रै पीसीआर परीक्षण गरिएको छ। यो भनेको कुल जनसंख्याको १.४ प्रतिशत हाराहारी हो।
सुदूरपश्चिममा धनगढी र डँडेलधुरा गरी दुई स्थानमा प्रयोगशाला छन्। दुवै प्रयोगशालाको क्षमता भनेको दैनिक बढीमा ५ सय नमुना परीक्षण हो। दुवै प्रयोगशालामा क्षमताअनुसार नमुना परीक्षण भइरहेको छैन।
‘परीक्षण नै बढेन भने कोरोनाको जोखिम कत्तिको छ भन्ने कुरा कसरी थाहा पाइन्छ ? जबसम्म अवस्था थाहा हुँदैन तबसम्म रोकथामका उपाय पनि प्रभावकारी हुँदैनन्’, सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्टार प्रा.डा. हेमराज पन्तले भने।
प्रदेश सरकारको मन्त्रिपरिषद्ले चैतमा तीन वटा पीसीआर प्रयोगशाला राख्ने भनी गरेको निर्णय पाँच महिनापछि बल्ल कार्यान्वयनमा आएको छ। प्रदेश सरकारले दैनिक एक÷एक हजार पीसीआर जाँच क्षमताका तीन वटा मेसिन खरिद गरेको छ। एउटा मेसिन धनगढीको सेती प्रादेशिक अस्पतालमा जडानको अन्तिम चरणमा छ भने अर्को डोटीका लागि पठाइएको छ। डोटीमा पूर्वाधार निर्माण भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। मन्त्री परिषद्ले तेस्रो मेसिन बैतडी जिल्ला अस्पतालमा राख्ने निर्णय गरे पनि पूर्वाधार नबनेका कारण पीसीआर मेसिन धनगढीमै थन्किएको छ।