स्कुलबाट हटाइदै क्वारेन्टाइन, व्यवस्थापनमा अन्यौलता
बागलुङ : देशमा जारी तीन महिना लामो बन्दाबन्दी (लकडाउन) खुलेसँगै बागलुङमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विद्यालयमा बनाइएका क्वारेन्टाइन हटाउन थालिएको छ ।
तर, क्वारेन्टाइन विद्यालयबाट हटाए पनि तत्काल विदेशबाट आउने र आगन्तुक शंकास्पद व्यक्तिलाई कहाँ राख्ने भन्नेमा अन्यौलता देखिएको छ । जिल्लाका स्थानीय तहका प्रमुखसहितको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले समेत अब पठनपाठन सञ्चालन तयारीका साथ विद्यालयमा रहेका क्वारेन्टाइन हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी धिरेन्द्र पन्तले जानकारी दिए ।
जिल्लाका १० वटै पालिकामा विद्यालयमा क्वारेन्टाइन बनाएर भारतलगायतका देशबाट आएका नागरिकलाई व्यवस्थापन गरिएको थियो । अहिले भारतबाट आएका दुई हजार बढी क्वारेन्टाइन बसेका पीसीआर परीक्षणसँगै घर गएकाले अहिले अधिकांश क्वारेन्टाइन खाली भइसकेका छन् ।
सबैभन्दा ठूलो संख्याको भार खेपेको निसीखोला गाउँपालिकामा अहिले ३१ जना मात्रै क्वारेन्टाइनमा छन् । यो पालिकाले ८ सय ३७ जनालाई क्वारेन्टाइन राखेर पीसीआर परीक्षण गरेर घर पठाएको छ ।
बडिगाड गाउँपालिकाले पनि अधिक संख्याको व्यवस्थापन गर्यो । ५ सय ८५ जनालाई क्वारेन्टाइनमा राखेर सबैलाई घर पठाइएपछि अहिले सबै क्वारेन्टाइन रित्तो भएको छ ।
ढोरपाटन नगरपालिकामा अहिले पनि १४ जना क्वारेन्टाइनमा छन् । जिल्लाको काठेखोला गाउँपालिकामा १८, बागलुङ नगरपालिकामा १८, जैमिनी नगरपालिकामा २८ र बरेङ गाउँपालिकामा ६ जना जना क्वारेन्टाइन छन् ।
यी सबै क्वारेन्टाइनमा वैकल्पिक व्यवस्थापन गर्ने तयारी छ । प्रि-आइसोलेसनको रुपमा रहेको धौलागिरी बहुमुखी क्याम्पस पनि अब पढाइ र परीक्षा सञ्चालन गर्ने तयारीमा छ ।
कोरोना संक्रमित बिरामी राख्न छोडिसकिएको छ । आगामी भाद्र १ गतेदेखि विद्यालयमा पढाइ सञ्चालन गर्ने सरकारको तयारी छ । लकडाउन खुलेसँगै सबै स्थानीय तह र विद्यालयलाई अब पढाइ सञ्चालनको तयारीमा रहेकाले विद्यालयमा राखिएका क्वारेन्टाइन हटाउन र अन्य वैकल्पिक व्यवस्थापन गर्न निर्देश गरिएको जिल्ला शिक्षा समन्वय समितिका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिए ।
यद्यपी, पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेकाले केही अनिश्चितता देखिन थालेको छ । क्वारेन्टाइन बनाइएका स्कुलमा पढाइ सञ्चालन गर्ने तयारीसँगै स्थानीय सरकारले पनि स्थानीयस्तरको विद्यालय इतरको वैकल्पिकस्थल खोजीमा लागेका छन् ।
अधिकांश स्थानीय तहका प्रमुखले जिल्ला सदरमुकाममै अब क्वारेन्टाइन केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । तर, बजारमा मात्रै क्वारेन्टाइन राख्ने विषयमा स्थानीय तह बीच यसअघिको व्यवस्थापन खर्चको विषयलाई लिएर केही विवाद र अन्यौल देखिएको छ ।
जिल्लामा कोरोना रोकथाम र नियन्त्रणका लागि देशमा जारी लकडाउन खुलेपनि कोरोना जोखिम कायमै रहेकाले फरक तवरले सुरक्षा सचेतता अपनाउनेमा सबै स्थानीय तह एकमत भएपनि व्यवस्थापन खर्चको विषयले विवाद छ ।
यसअघि कोरोनाको तीव्र जोखिम हुँदाको समयमा बागलुङ बजारमा होल्डिङ सेन्टर बनाएर सबै स्थानीय तहका अलपत्र नागरिकलाई उद्वार तथा व्यवस्थापन गर्ने, त्यसको नेतृत्व र व्यवस्थापन बागलुङ नगरपालिकालाई गर्ने र सबै स्थानीय तहले खर्च बाँडफाड गर्ने सहमति भएको थियो ।
तर, गत आर्थिक वर्षमा सहमति अनुसार काठेखोला गाउँपालिकाले दुई लाख रुपैयाँ बाहेक अन्य कुनै पनि पालिकाले खर्च नदिए पछि अब विदेश र अन्य स्थानबाट आउनेलाई बागलुङ बजारमै होल्डिङ सेन्टर बनाएर क्वारेन्टाइनमा राख्ने विषयमा बागलुङ नगरपालिकाले असहमति जाहेर गरेको छ ।
स्थानीय तह प्रमुखको भने सदरमुकाममै क्वारेन्टाइन केन्द्रित गर्नेमा जोड छ । 'विदेशबाट आउने र कोरोना संक्रमित संख्या पनि घटेको छ, लकडाउन हटेको छ,'ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले भने, 'अब बर्खायाम भएकाले लैजान र संक्रमित भए फेरी ल्याउन पनि समस्या छ, ठाउँ-ठाउँमा सडक अवरुद्व भएका छन् । यसकारण जिल्ला सदरमुकामै समन्वय व्यवस्थापन गर्ने सहमति भएको छ ।'
बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद पौडेलले पनि सदरमुकामकै क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गरेर नेगेटिभ आएपछि मात्र गाउँ पठाउँदा राम्रो हुने बताए ।विदेशबाट १÷२ जना आउने र उनीहरुलाई छुट्टा छुट्टै लैजाँदा सवारीदेखि अरु व्यवस्थापनमा पनि समस्या र खर्चिलो हुने भएकाले सदरमुकाममै उत्तम विकल्प भएको उनको भनाइ छ ।
तर, बागलुङ नगरपालिकाले यसको व्यवस्थापनमा यसअघि जिल्लाका ८ वटा स्थानीय तहले सहमति गरे अनुसार क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखेको खर्च व्यहोर्ने निर्णय कार्यान्वयन नगरेकाले अब व्यवस्थापन गर्न नसकिने अडानमा छ ।
'अहिलेसम्म केही समय पहिलेको निर्णय अनुसार जिल्लाका सबै स्थानीय तहका नागरिकलाई उद्वार गरेर क्वारेन्टाइनमा व्यवस्थापन गर्यौं तर काठेखोलाले बाहेक अरुले सहमति कार्यान्वयन गरेनन्,' बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले भने, 'त्यसैले फेरी निर्णय गर्ने कुरामा असहमति जाहेर गरिएको हो, हामी मानवीय हिसाबले गर्नुपर्ने उद्वार र व्यवस्थापन पहिला जुन हिसाबले गरेका थियौं, अब पनि आफ्नै हिसाबले गर्छौं।'
काठेखोला बाहेक अरु स्थानीय तहमा सहमति अनुसार रकम नदिए पनि बागलुङ नगर रकम माग्न पनि नजाने उनको भनाइ छ ।जिल्ला कमाण्ड पोस्टका संयोजक तथा बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले अहिलेका क्वारेन्टाइन सबैजसो स्कुलमा भएकाले तत्काल हटाउन भनिएको बताए ।
'अब विद्यालय सञ्चालन गर्ने कुरा छ, यो संवेदनसिल विषय हो, अरु सम्भावित वैकल्पिक भवनहरु खोज्न जिल्लाका सबै पालिकासँग अनुरोध गरिसकेका छौं, 'प्रजिअ न्यौपानेले भने, 'जिल्ला सदरमुकाम पनि रहेकाले बागलुङ नगरपालिकाका सम्भावित वैकल्पिक भवन हेर्ने काम भइरहेको छ, हामी विद्यालयको अरु विकल्प खोज्ने क्रममा छौं, बजारका हकमा बागलुङ नगरपालिकाले यसको विकल्प खोज्ने पहलमा छ ।'
अब सदरमुकाममा मात्रै क्वारेन्टाइन केन्द्रित गर्ने विषयमा छलफल भए पनि पालिकाका बीचको यसअघिको सहमति कार्यान्वयनको विषयमा असमझदारी देखिएकाले केही असहज भएको न्यौपानेको भनाइ छ ।