कोरोना नियन्त्रण गर्न प्रदेश–२ मा नयाँ रणनीति : दैनिक हजार परीक्षण
बर्दिबास : कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न प्रदेश-२ सरकारले प्रत्येक दिन एक हजार मानिसको कोरोना परीक्षण गर्ने नयाँ रणनीति बनाएको छ ।
कोरोना भाइरस नियन्त्रण गर्न सीमामा पनि कडाई गरेको छ । संक्रमितको उपचार गर्न एकै साथ ५० भेन्टिलेट खरिद गर्ने निर्णयसमेत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।
मन्त्री यादवले वीरगंजमा समुदायस्तरमा कोरोना परीक्षण थालिएको बताए । सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिबास महोत्तरीका डीआईजी कृष्णभक्त ब्रम्हचार्यलाई सीमाको आवतजावतमा कडाई गर्न निर्देशन दिइएको छ ।
मन्त्रीको निर्देशन लगत्तै डीआईजीले आठै जिल्लाका सशस्त्रका एसपीलाई सीमा सुरक्षामा कडाई गर्न निर्देशन दिएका छन् ।