साँगा नाकामा पैदल, अन्त गाडीमा

साँगा नाकामा पैदल, अन्त गाडीमा

भक्तपुर : काभ्रेको साँगास्थित प्रहरी चौकी नपुग्दै दुई मिटर जनकपुरबाट आएको एउटा माइक्रो टक्क रोकियो। चालकले सबै यात्रुलाई झर्न भन्छन्। यात्रु पनि एकएक गर्दै झोला र पोका लिएर माइक्रोबाट झर्छन्।

यात्रु झर्दै गर्दा चालक भन्दै जान्छन्, ‘प्रहरी र पत्रकारले कहाँबाट आएको सोधे यहीँ गाउँबाट आएको भन्नू। सकेसम्म बोल्दै नबोल्नू।’उक्त माइक्रो अगाडि बढ्छ। सडकमा अन्य सवारीसाधनसरह लाइन लागेर साँगा नाकामा आइपुग्छ। सुरक्षाकर्मीले चालकसँग केरकार गर्छन्। चालकले रिजर्भ गएर आएको अहिले खाली काठमाडौं फर्केको जवाफ दिन्छन्। सुरक्षाकर्मीले गाडीभित्र हेर्छन्। नभन्दै एकजना सहचालकबाहेक माइक्रो खाली देख्छन्। गाडीलाई अघि बढ्न हातले इसारा गर्छन्। चालक मुस्कानसहित भक्तपुरतर्फ अघि बढ्छन्। माइक्रो साँगा नाकाबाट करिब दुई सय मिटर पर आएर रोकिन्छ।

अघि झरेका यात्रु एकएक गरेर रोकिएको माइक्रोमा चढ्छन्। माइक्रो काठमाडौं उपत्यकातर्फ हुइँकिन्छ। यो दृश्य मंगलबार काठमाडौं उपत्यका छिर्ने पूर्वी नाका साँगा भन्ज्याङको हो। यो दृश्य धेरै पटक दोहोरिन्छन्। प्रशासनको अनुमतिपत्र (पास) भएका चारपांग्रे गाडीलाई कुनै रोकतोक छैन। पछिल्लो समय दुईपांग्रे मोटरसाइकल तथा स्कुटरलाई पनि साँगा नाका भएर काठमाडौं उपत्यका छिर्न कुनै रोकतोक छैन। सुरुको बिन्दुदेखि सरर गाडीमा हुइँकिएर आएका यात्रु भक्तपुर र काभ्रेका सीमा साँगा नाकामा केही क्षण पैदल हिँड्छन्। फेरि गाडी चढ्छन् र गाडीमै सरर काठमाडौं उपत्यका छिर्छन्।

सरकारले पैदल आएकालाई नियन्त्रण गर्न भने पनि साँगा नाकाबाट निर्वाध दैनिक सयौं सर्वसाधारण काठमाडौं उपत्यका प्रवेश गरिरहेका छन्। पछिल्लो समय साँगासम्मै सार्वजनिक यातायातका साधन पुग्न थालेपछि पैदल आउनेहरूको संख्या बढेको प्रहरीको तथ्यांकले देखाउँछ। काभ्रेमा चल्ने सार्वजनिक यातायातका साधन पनि साँगासम्मै पुग्छन्। जसले गर्दा काठमाडौं उपत्यका प्रवेश गर्नेहरूको संख्या बढिरहेको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले जनाएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढेपछि बेलुका ७ देखि बिहान ७ सम्म काठमाडौं उपत्यका छिर्न सरकारले कडाइ गरेको छ। तर साँगा नाकामा यो लागू हुँदैन। अरु बेला केहीको संख्यामा काठमाडौं उपत्यका छिर्नेहरू बेलुका ७ बजेपछि झन् धेरै हुने स्थानीय कृष्णकुमार श्रेष्ठ बताउँछन्। उनका अनुसार बेलुका ७ बजेपछि साँगामा सर्वसाधारणको भीड नै लाग्छ।

स्थानीयका अनुसार सुरक्षाकर्मीलाई खुसी पार्न सकिए बेलुका ७ बजेपछि पनि गाडी नै लिएर भक्तपुर प्रवेश पाउँछ। त्यसको लागि गाडीका चालकहरूले सेटिङ मिलाउने उनीहरू बताउँछन्। ‘साँगा नाकाको सुरक्षाकर्मीले रोके जस्तो गरेर गाडीलाई फर्काइन्छ’, स्थानीयले भने, ‘गाडी तल गएर साँगा प्रहरी चौकीनेर रोकिन्छ। त्यहाँका प्रहरीसँग चालकले कुराकानी गर्छन्। हात मिलाउँछन्। गाडी फेरि साँगा नाकामा आइपुग्छ। सुरक्षाकर्मीले इसारा गरेर नाका कटाउँछन्।’

पैदलयात्रु बोल्दैनन

साँगा नाकामा पैदल हिँड्ने यात्रुले हत्तपती बोल्दैनन्। धेरैपटक सोधेपछि गाउँबाट आएको भन्ने जवाफ दिन्छन्। कुन गाउँभन्दा नाम भन्दैनन्। त्यहीं परबाट भन्ने तयारी जवाफ दिन्छन्।

काभ्रेभित्र सार्वजनिक गाडी चलेकाले धेरैले एउटै जवाफ दिन्छन्, ‘बनेपाबाट आएको हो।’तर बनेपाबाट आएको जवाफ दिने अधिकांश यात्रु पोकापन्तुरो बोकेर आएका हुन्छन्। भक्तपुरतर्फ आइपुगेपछि जनकपुर अञ्चल चल्ने गाडी चढ्छन्।

साँगामा मात्रै रोकेर हुन्न : प्रजिअ पाण्डे

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले साँगा नाकाबाट अनियन्त्रित रुपमा सर्वसाधारणको हुलका हुल उपत्यका छिरिरहेको स्वीकार गरिन्। आफूहरूले पास नभएका गाडी तथा सर्वसाधारणलाई उपत्यका प्रवेशमा कडाइ गर्न खोजे पनि सफलता हात नलागेको उनको भनाइ थियो।

‘पूर्व झापादेखि कहीँ कतै नरोकिकन साँगा आइपुगेका हुन्छन्’, प्रजिअ पाण्डले भनिन्, ‘साँगामा रोकेरमात्रै उपत्यका छिर्नेलाई रोक्न सकिन्न। जिल्लाजिल्लाका नाकामै रोकिनुपर्छ।’ उनले रातको समयमा साँगासम्म पुग्नेहरू जसरी पनि उपत्यका छिर्ने गरेको समेत बताइन्। उनले कोरोना भाइरस संक्रमण बढिरहेकाले उपत्यका आउनेहरू पनि सचेत र सजग हुनुपर्नेमा जोड दिइन्।

चेकजाँच हटाउनु होस् : स्थानीय

साँगा आइसकेकालाई जसरी पनि काठमाडौं उपत्यका प्रवेश गराउने भए साँगा नाकामा सुरक्षा जाँच हटाउन स्थानीयले माग गरेका छन्। उनीहरूले प्रहरीको सुरक्षा जाँचकै कारण सर्वसाधारणले बढी दुःख पाएको बताए।

स्थानीय हरिकृष्ण श्रेष्ठले साँगा नाकामा सुरक्षाकर्मीको जाँच नाटकमात्रै भएको र केही सुरक्षाकर्मीहरूको कमाउ धन्दा भएको दाबी गरे। ‘पास भएकाभन्दा प्रहरी प्रशासनका ठूला मान्छेको फोन वा सम्पर्कको आधार साँगा नाकाबाट धेरै गाडी उपत्यका छिर्छन्’, उनले भने, ‘पास नभएका र प्रहरी प्रशासनका मान्छे नचिनेकाहरू सुरक्षाकर्मीलाई खुसी पारेर उपत्यका छिर्छन्।’

उनका अनुसार साँगा नाकामा सर्वसाधारणले मात्रै पैदल हिँड्नुपर्छ। निमुखा सर्वसाधारणमात्रै पैदल हिँड्नुपर्ने भए साँगा नाकामा सुरक्षाकर्मीको चेकजाँच हटाउनुपर्ने उनको जोड थियो।

पैदल हिँड्नेहरूबाट साँगावासीलाई कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै बुधबारदेखि पैदल हिँड्न नदिने पक्षमा आफूहरू रहेको श्रेष्ठले सुनाए। काभ्रे र भक्तपुरको प्रहरी प्रशासनलाई पैदल हिँड्नेहरूलाई नियन्त्रण गर्न पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आफूहरू आन्दोलनमा उत्रिन लागेको उनको भनाइ थियो।

‘मूल सडकबाट सुरक्षाकर्मीले हिँड्न दिँदैनन्’, उनले भने, ‘पैदल यात्रीहरू साँगाको भित्री बाटो भएर भक्तपुर छिरिरहेका छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.