सुनसरीमा साउन २६ गतेसम्म निषेधाज्ञा जारी
धरान : सुनसरीमा समुदायस्तरमा कोरोना संक्रमण फेलिएपछि जिल्ला सुरक्षा समितिको बैठकले साउन २६ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सुरक्षा समितिको बैठकले बुधबार राती १२ बजेदेखि साउन २६ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिएका छन् ।
सुनसरीको धरान, इटहरी, दुहवी, इनरुवालगायतका स्थानमा कोरोना संक्रमितको संख्यामा दैनिक वृद्धि भएको र सर्बसाधारणले समेत लापरवाही गर्न थालेपछि जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन र जिल्लावासीलाई कोरोनाबाट सुरक्षित बनाउनका लागि निषेधाज्ञा जारी गरेको सुनसरीका प्रमुख थापाले जानकारी दिए।
निषेधाज्ञा अवज्ञा गर्नेलाई कानुनअनुसार कारवाही हुने प्रहरी प्रमुख थापाले बताए । निषेधाज्ञाभर बजार, पसल, यातायतका साधन पूर्णरुपमा बन्द गर्नुपर्ने र सर्बसाधारणलाई समेत घरबाट बाहिर हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।
यता सुनसरीका धरान तथा इटहरी उपमहानगरपालिका, इनरुवा, दुहवी नगरपालिले गरेको लकडाउनलाई स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाले लकडाउनलाई अझ कडा बनाउने छ । धरानले साउन २८ गते, इटहरीले साउन २५ र इनरुवा र दुहवी नगरपालीकाले साउन २५ सम्म लकडाउनको घोषणा गरेका छन् ।