नेपाली मनभित्रको देश !
राजनीतिलाई सेवा बनाउने भावनाको विकास नभएसम्म मुलुक माथि उठ्न सक्दैन।
वरिष्ठ संगीतकार तथा गायक गोपाल योञ्जनको गीतले भन्छ, ‘वास्तविक नेपाल नेपाली मनभित्र खोज्नुपर्छ।’ नागरिक सुखी हुँदा देश स्वत: सम्पन्न हुन्छ। लोकतान्त्रिक पद्धति अवलम्बन गरिँदासमेत यहाँको राजनीतिक स्वार्थको घेराभन्दा बाहिर आएन। नागरिकका चाहना र अपेक्षा जेसुकै हुन्, आफू मात्र धनी हुनु नेतृत्वको स्वभाव रह्यो। निर्वाचनमा कलात्मक भाषण गर्दा जनता आकर्षित गराइहालिन्छ भन्ने मात्र सोचाइ छ नेताहरूको। नेपाली मनभित्रका पीडा र व्यथामा अहिलेको पद्धतिले मलम लगाउने काम गरेन।
राणाशासनको अन्त्यसँगै विदेशी हस्तक्षेप नेपाली राजनीतिमा बढी नै भयो। विभिन्न समयमा निस्किएका दस्ताबेज तथा भारतीय शासक वर्गको दृष्टिकोण र व्यवहारले यस तथ्यलाई प्रस्ट पार्छ। भारत नेपालमा राजा फ्याँकेर गणतन्त्र होस् भन्ने चाहन्थ्यो। यसका माध्यमले निर्वाचन प्रक्रियाबाट नेपाललाई हडप्न सहज होस्। राजा त्रिभुवन पनि त्यसबेला भारतीय प्रभावमा परिसकेका थिए। त्यहीकारण हो, क्रान्ति सम्पन्न हुनासाथ राजाबाट संविधानसभामार्फत गणतन्त्रात्मक शासन व्यवस्था हुन्छ भन्ने घोषणा गराइएको। छिमेकीको रणनीति उनकै छोरा महेन्द्रले बुझेका थिए। महेन्द्रकै चतुर्याइँले त्यो बेला विधानसभाको निर्वाचन हुन पाएन। यसो भन्दा राजा महेन्द्र सही हुन्, उनले जे गरे राम्रो गरे भन्न खोजिएको किमार्थ होइन। उनले प्रजातन्त्रको हत्या गरे। कोही प्रजातन्त्रवादी र देशभक्तले त्यसलाई उचित मान्न सक्दैनन्। तथापि नागरिक चेतना यतिविघ्न हुँदा त देशले संविधानसभाको मूल्य चुकाउँदै छ, २००७ सालमै विधानसभाको चुनाव गरिएको भए मुलुक कहाँ पुग्थ्यो ? यो नै मूल प्रश्न हो।
भारतीयहरू अहिले पनि भन्छन्, ‘संघीयता र गणतन्त्र हाम्रो कारणले आएको हो। माओवादीलाई त्यसका निम्ति हामीले नै प्रयोग गरेका हौं।’ संघीयता गणतन्त्र उनीहरूले भिœयाएको हो भने धर्मनिरपेक्षता पश्चिमाको डिजाइन भएको प्रस्टै छ। यो वास्तविकता आज सर्वत्र उजागर भएको छ। पराईले त्यो बेलासम्म हेप्न सक्छ, जबसम्म हामी आर्थिक रूपमा सम्पन्न हुँदैनौं। नेपाल सम्पन्न हुँदा भारतीय अभीष्ट पूरा हुन सक्दैन। यो वास्तविकता छिमेकीले राम्रोसँग बुझेको छ। त्यसैले संसद्मा दुईतिहाइ हाराहारीको संख्या हुँदा पनि सरकार फ्याँक्ने खेल घनीभूत रूपमा उठाइन्छ। आखिर किन ? केपी ओलीको ठाउँमा प्रचण्ड वा माधव नेपाल हुँदा देशले अहिलेभन्दा के भिन्नता पाउँछ ? कि त ‘म सरकारमा पुग्दा देशलाई अस्थिरता पैदा गर्ने संविधानका कैयन् धारामा परिमार्जन गर्छु, नागरिकले अनुभूति पाउने गरी खर्चिलो निर्वाचन प्रणाली अन्त्य गर्छु आदि भन्नुपर्यो। अन्यथा केका लागि प्रधानमन्त्रीको परिवर्तन हो ?
लोकतन्त्रमा राजनीतिलाई सेवा मानिन्छ। यहाँ त्यो व्यापार भएको छ। व्यापारीले सेवा गर्दैन। उसले मुनाफा मात्र हेर्छ। यहाँ राजनीतिलाई राष्ट्र र जनताका हितमा लगाइएन। राजनीति गर्ने भनेको नाफा कमाउनु हो भन्ने ठानियो।
लोकतन्त्रमा राजनीतिलाई सेवा मानिन्छ। यहाँ त्यो व्यापार भएको छ। व्यापारीले सेवा गर्दैन। उसले मुनाफा मात्र हेर्छ। यहाँ राजनीतिलाई राष्ट्र र जनताका हितमा लगाइएन। राजनीति गर्ने भनेको नाफा कमाउनु हो भन्ने ठानियो। फेरि प्रधानमन्त्रीको राजीनामा जोडतोडले उठेको छ। ठीक छ, ओली सरकारले नागरिकलाई डेलिभर दिन सकेन। भ्रष्टाचार रोक्ने सामान्य प्रयत्नसम्म गरेन तर यो सरकारपछि प्रधानमन्त्री हुन खोज्ने पात्र ओलीभन्दा केकति कारणले सक्षम छन् ? यसको जवाफ नागरिकले पाउनु पर्दैन ?
क्रान्तिकारी नेताको प्रधानमन्त्रीत्वकाल पनि नेपालीले भोगेकै हुन्। उनकै कार्यकालमा लम्पसारवादलाई नांगो रूपमा मलजल गरेकै हो। जेएनयूमा ज्वाइँसरह पाएको सत्कारको पैंचो तिर्न उनलाई प्रधानमन्त्रीको कुर्सी चाहिएको हो। यो कुनै आरोप होइन। नक्सा प्रकाशनपछि भारतीयले नै जोडतोडले उजागर गरेको तथ्य हो। सरकार फेर्ने–नफेर्ने नेपालीको निर्णय हुन्छ। भारत हात धोएर ओली सरकार फेर्न लागेको छ। बोरामा पैसा बोकी ‘र’ का एजेन्ट काठमाडौंमा यत्रतत्र भौंतारिएको समाचार पढ्न पाइन्छ। भारतीय मिडियाको नांगो नाच दिनहुँ प्रहसन भइरहेको छ। यस्तो बेलामा प्रधानमन्त्री फेर्दा नेपाललाई फाइदा हुन्छ कि भारतलाई ? यति पनि क्रान्तिकारी भनिने नेताले पत्तो पाउँदैन नकि ? योभन्दा लम्पसारवादको पराकाष्ठा के हुन सक्छ ? त्यसैले भन्ने गरिन्छ, ‘पराईको पकवानभन्दा घरको सीधोपीठो हितकारी हुन्छ। मीठो बोलेर ललीपप चुसायो भन्दैमा छिमेकी असल ठान्नु मूर्खता हो। मुख्य प्रश्न नियतको हुन्छ। हाम्रो छिमेकीको नियत खोटो छ। यसैगरी ललीपप देखाई भारतले सिक्किम आफूमा विलय गरायो। ९५ प्रतिशतभन्दा बढी मत खसेको भनी प्रचार गरी चरम धाँधलीको अभिनय भएको थियो त्यहाँ।
राम्रो वस्तुको फल त्यतिबेला प्राप्त हुन्छ, जतिबेला उसले फस्टाउने मौका पाउँछ। तराईको गर्मीमा सुन्तला रोप्दा त्यसले आशातीत फल दिँदैन। फल लागे पनि त्यसमा सुन्तलाको वास्तविक गुण पाइँदैन। राजनीतिमा पनि त्यो विधि आकर्षित हुन्छ। देशको अवस्था, साधनस्रोत केही नहेरी पद्धतिको विकास गर्न खोज्दा त्यसले स्थिरता दिन सक्दैन। विस्तारै सुन्तलाको बोट चाउरिए झैं प्रणाली नै चाउरिन्छ, जुन अवस्थामा आज नेपाली समाज पुगेको छ। अहिलेसम्म आयातीत प्रणाली जोगाउन जेजति खर्च भयो, त्यसको आधा मात्र विकास निर्माणमा लगानी गरेको भए न भारतले नाकाबन्दी गथ्र्यो, न त पश्चिमाले चोर औंला देखाई धम्क्याउन सक्थ्यो। विदेशीको हस्तक्षेप बढ्नु भनेको यहाँको गरिबी र नेतृत्वको अदूरदर्शिता नै हो। यस्तो हुतिहारापनले मुलुक अघि बढ्न सक्दैन।
गुणी व्यक्तिले सही र खराबको फरक छुट्ट्याउँछ। मूर्खले आफ्नोबाहेक अरूको विचार सुन्दैन। सही सल्लाह र सुझाव पनि उसका लागि व्यर्थ हुन्छ। यहाँको राजनीतिमा त्यस्तै अहंकारी व्यक्ति अग्रभागमा आइदिए। यसको परिणाम नेताहरू गन्तव्यहीन यात्राको दोबाटोमा उभिन पुगेका छन्। पछाडि फर्कियो भने विदेशीको समर्थन छुट्ने, अघि बढ्दा जनताबाट नांगिनुपर्ने। यो अवस्थामा आज नेपाली नेतृत्व पुगेको छ। कूटनीतिक कलामा निपुण चाणक्यले भनेका छन्, ‘मूर्खलाई उपदेश दिनु हुँदैन।’ यथार्थमा मूर्खलाई असल सल्लाह दिँदा प्रत्युत्पादक बन्छ। यहाँनेर एउटा प्राचीन कथाको दृष्टान्छ उपयुक्त देखिन्छ— एउटा बाँदर झरीमा निथ्रुक्क भिज्दै रूखमुनि पुग्यो। रूखमाथि भँगेराको गुँड थियो। गुँडबाट भँगेरी निस्केर बाँदरलाई दया देखाई, ‘बाँदर दाइ, तपाई धेरै भिज्नुभयो। निमोनिया हुन्छ। कम्तीमा एउटा घर बनाउनुस् न।’ त्यो सुनेर बाँदर रिसले चुर भयो। यो मट्याङ्ग्रो जत्रोले मलाई अर्ती दिने भन्ने सोच्यो। अनि भन्यो, ‘धेरै जान्ने नहो, म जेसुकै गरौं।’ पानी रोकिएन, झन् बढी पर्न थाल्यो। बाँदर भिजिरहेको थियो। भँगेरीलाई अति करुणा भयो। पुन: भन्न लागि ‘बाँदर दाजु, त्यसरी नभिज्नुहोस् बिमारी परिन्छ। बरु गुफातिर गएर बस्नुस् न, त्यहाँ भिजिँदैन।’ भँगेरीको भनाइले बाँदर मुर्मुरियो। रिसले झन् आगो भयो, ‘ए तँ घर छ भनेर धाक लाउँछेस्, ला तेरो घर म देखाइदिन्छु’ भन्दै भँगेराको गुड बाङबुङ भत्काइदियो। बिचरी भँगेरी हेरेको हेरै भई। त्यसैले भनिएको हो– सुझाव र सल्लाह लिनेलाई मात्र दिने हो। नागरिक सुझावको बेवास्ता गर्ने शासकलाई सुझाव दिनु भनेको भँगेरीको नियति आइलाग्न सक्छ। यहाँनेर भँगेरीले नेपाली जनताको प्रतिनिधित्व गर्छे, बाँदरले लम्पसारवादको अहंकारी चरित्र देखाउँछ। त्यसकारण राजनीतिमा निष्ठा अनिवार्य ठानिएको हो। देश र जनताको सेवा गर्नु राजनीतिको धर्म मानिन्छ। वास्तविक नेपाल त्यतिबेला समृद्ध बन्छ जतिबेला राजनीतिप्रति नागरिकमा भरोसा जाग्छ। त्यसो हुँदा लम्पसारवादले पनि टाउको उठाउने ठाउँ पाउँदैन।