सुन तोलाको १,०१,४००

सुन तोलाको १,०१,४००

काठमाडौं : हिन्दु नारीको महत्वपूर्ण पर्व तीज नजिकिँदै गर्दा बुधबार नेपाली बजारमा सुनको भाउले पहिलोपटक १ लाख रुपैयाँको ‘खुट्किलो’ पार गर्‍यो। गएको ११ चैतमा सरकारले लकडाउन घोषणा गरेयता सुनको भाउ तोलामै २४ हजार ४ सय महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि एक तोला सुनको भाउ १ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ। 

अन्तर्राष्ट्रिय बजार विश्लेषकका अनुसार तोलाको लाखमै सुनको भाउ रोकिने वाला छैन। सुनको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिऔंश २८ सय देखि ३१ सय अमेरिकी डलर पुग्ने अनुमान छ। 
केही दिन अघिमात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य कीर्तिमानी उचाइ बनाउँदै प्रतिऔंश २ हजार डलर पार गरेको छ। धेरैले अनुमान गरेजस्तो सुनको भाउ एक औंशको ३ हजार डलर पुगेको अवस्थामा नेपाली बजारमा एक तोला सुन किन्न झण्डै डेढ लाख रुपैयाँ खर्चनुपर्ने हुनसक्छ। 

विश्व बजारमा सुनको भाउ चुलिनुमा अहिलेको संक्रामक रोग कोरोना भाइरस सबैभन्दा बढी जिम्मेवार छ। उक्त भाइरसका कारण विश्व अर्थतन्त्र दिनानुदिन प्रभावित बन्न थालेपछि लगानीकर्ताका धन सञ्चय गर्न सुनमात्रै सबैभन्दा आकर्षक विकल्प बनेको छ। 

कोरोना भाइरसका कारण मूलतः अमेरिकी अर्थतन्त्र कमजोर बन्दै गएको, विश्व भर नै बैंक र ऋणपत्रको ब्याजदर ओरालो लागेको, औद्योगिक प्रतिष्ठान घाटामा जाने जोखिम बढेर गएको जस्ता कारणले लगानीकर्ता हतोत्साही भएका छन्। 

यस्तो बेला सेयर बजार, ऋणपत्र बजार, घरजग्गा र अन्तर्राष्ट्रिय ब्याजारसँगै लगानीका अन्य विकल्पमा पैसा खन्याउने ठाउँ साँघुरिँदै गएका छन्। अमेरिका र चीनबीच बढ्दो राजनीतिक कटुताले पनि लगानीकर्ताको मनोबल खस्किन सघाउ पुर्‍याइरहेको समाचार एजेन्सीले उल्लेख गरेका छन्। अमेरिकामा दर्जनौं राज्यले जारी बन्दाबन्दी खुला गर्ने योजना स्थगित गर्न थालेपछि अमेरिकी डलर पनि लगातार कमजोर भएको छ। यसले गर्दा युरो, येन वा युआनजस्ता मुद्रामा लगानी गर्ने लगानीकर्ताका लागि सुन सस्तो परेको छ। यसबाट जापानी वा युरोपेलीले थोरै भए पनि सुनको भाउमा लाभ लिन पाए। तर नेपालमा भने भारतीय मुद्रा अझै पनि डलरको तुलनामा कमजोर भइदिँदा त्यस्तो लाभ प्राप्त भएन। राष्ट्र बैंकले बुधबार पनि डलरको विक्री मूल्य १२० रुपैयाँ ३९ पैसा तोकेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महँगिने र नेपाली बजारमा डलर झनै महँगिने हुँदा हामीकहाँ सुनको मूल्य दोहोरो रफ्तारमा चुल्हिएको छ। भारतमा पनि सुनको भाउले नयाँ कीर्तिमानी स्तर पार गरिरहेको छ। 

पेट्रोलियम पदार्थको मूल्यमा ह्रास आउने र सुनको भाउ आकाशिने यो प्रवृत्तिले विश्वभरका लगानीकर्ता भावी विश्व वित्तीय संकटसँग अझै बढी डराउन थालेको प्रतित हुन्छ। कतिपयले यसलाई कमाउने अवसरका रूपमा पनि लिन्छन्। अहिले सुनमात्रै त्यस्तो वस्तु हो, जहाँ अहिले लगानी गर्दा पनि अर्को एक वर्षभित्र ५० प्रतिशतसम्म प्रतिफल पाउन सकिने आँकलन भइरहेको छ। 

लगानीको अन्य विकल्प नभएको अवस्थामा विश्व बजारमा सुनको माग ह्वात्तै बढ्ने गरेको छ। नेपालमा बढ्दो सेयर बजारमा किन्नेको चाप बढेजस्तै विदेशी बजारमा सुन किन्नेको लर्को अहिले निकै देखिएको छ। तर लगानीकर्ताले यस्तो सुन लामो समयसम्म सञ्चय गरेर राख्न भने कठिन हुन्छ। किनकी, सुनमा गरेको लगानीको ब्याज तिर्नुपरिरहेको हुन्छ भने अरु किसिमका लागत पनि खर्च भइरहेका हुन्छ। 

यसका कारण भविष्यमा कोरोना भाइरस विरुद्धको खोप सफल भयो भने सुनको भाउ नराम्ररी खस्कन सक्ने जोखिम पनि छ। सन् २०११ को अन्त्यतिर प्रतिऔंश १८  सय ९५ डलर पुगेको सुनको भाउ २०१५ को अन्त्यतिर १ हजार ५० डलरमा झरेको थियो। 

सुनको भाउ महँगिदा विश्व बजारमै मूल्य वृद्धिको चाप बढ्न सक्छ। महँगो सुनको पैसाको मूल्य घटाइदिन्छ, जसको असर समग्र महँगी बढ्न सक्छ। तर, अहिले नेपालमा
जस्तै संसारभर नै गरगहना र अन्य उपभोगमा सुनको माग ह्वात्तै घटेको छ। एजेन्सीका अनुसार यस्तो सुनको उपभोग बजार ध्वस्त भइसकेको छ। त्यसकारण सट्टेबाजीमा मात्रै लामो समय सुनको भाउ उकालो लाग्न कठिन पर्ने कतिपयको अनुमान छ। 

सुनसँगै अधिकांश बहुमूल्य धातुको भाउ अहिले उकालो लागेको छ। नेपाली बजारमा प्लाटिनम, प्यालेडियमजस्ता धातुको कारोबार नहुने भए पनि चाँदीको मूल्यमा भने ‘अस्वाभाविक’ वृद्धि भएको छ। चैतमा लकडाउन सुरु भएयता सुनको भाउ ३१ प्रतिशत महँगिदा चाँदीको भाउ ८० प्रतिशत महँगिएको छ। १० चैतमा ७ सय २० रुपैयाँमा पाइने एक तोला चाँदीको भाउ बुधबार १२ सय ९५ रुपैयाँ पुगेको छ। यसले नेपालीलाई अब गरगहना लगाउन भने निकै कठिनपर्ने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.