भिडियोकै भर
काठमाडौं : कोभिड— १९ को संक्रमणका कारण दोस्रो चरणको लकडाउनको त्रासले पिल्सिएकाहरूलाई मनोरञ्जन दिने अहिले एउटै मध्यम बनेका छन् युट्युबमा आउने नयाँनयाँ म्युजिक भिडियो। फिल्म तथा मनोरञ्जनका अन्य माध्यम प्रायः ठप्प भएकाले ठूलो पर्दामा काम गरिरहेका कलाकार, प्राविधिक तथा निर्देशकहरू पनि अहिले यतातिर आकर्षित भएका छन्। यसैले होला यिनै म्युजिक भिडियोले नै अहिले युट्युबमा अग्रस्थान बनाइरहेका छन्।
फिल्मको पर्दामा बेग्लै परिचय बनाएका नायक पल शाह र नायिका स्वतिमा खड्का अभिनीत एउटा म्युजिक भिडियोले लकडाउनपछि पहिलो पटक करोड भ्युज पाएर रेकर्ड कायम ग¥यो। ‘मायालु तिमी कता छौ’ बोलको गीतको यो म्युजिक भिडियोमा दिनेश थपलियाको शब्द तथा राजनराज शिवाकोटी र स्मिता दाहालको स्वर छ।
यो गीतको भिडियोमा बाल–कलाकारद्वय एन्जल राई र अर्विन खड्काले अभिनय गरेका छन्। ‘मायालु तिमी’ बोलको गीत हिट भएपछि निर्देशक सरोज आली र उनको टिमले यसको दोस्रो भाग ल्याएको हो।
रेकर्ड कायम गरेको यो टिमले बिहीबार ‘माया गरौंला ओए माया गरांैला’ भन्दै अर्को गीत सार्वजनिक गरेको छ। नायक पल शाह तथा टिकटकका भाइरल कलाकारहरू सुधीर श्रेष्ठ, सुनिशा बजगाईं र उषा उपे्रती एकैसाथ नयाँ म्युजिक भिडियो ‘माया गरौंला’ मा देखिएका छन्। गज्जब टीभी युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो। गीतमा दिनेश थपलियाको शब्द, आचार्यकृष्ण भारद्वाजको संगीत एवं सरोज ओली र अस्मिता अधिकारीको स्वर छ। यसले पनि माया पाउने विश्वास निर्देशक सरोज आलीले गरेका छन्।
भिडियोको छायांकनमा नवराज उप्रेती, सम्पादनमा अमन मानन्धर र कलरमा श्याम कुँवर रहेका छन्। यस्तै कोरियोग्राफी÷कथा विक्रम स्वाँरको रहेको छ।
युट्युब टे«न्डिङको कुरा उठाउँदा गायक प्रकाश सपुतले दर्शक तथा श्रोताको मन जितेका छन्। अघिल्लो पटक उनको स्वर र कन्सेप्टमा आएको ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ बोलको गीतले धेरैको रेकर्ड च्यातेको थियो। यसपालि कोरोना संक्रमण महामारीबीच उनले ल्याएको एउटा कारुणिक भिडियोले तहल्का मच्चाएको छ। बलात्कारविरुद्धको अभियानस्वरूप ल्याइएको ‘बदला बरिलै’ बोलको यो भिडियो अहिले युट्युब ट्रेन्डिङमा नम्बर एकमा छ।
दुई छोरीका बुवा बनेका गुल्मी घर भई बागलुङमा व्यवसाय गर्दै आएका तुलसीराम पाण्डेले तेस्रो कहिले त ? भन्ने प्रश्नको झमेला घर परिवारदेखि आफन्त र बाटोघाटोसम्म निरन्तर बेहोरिरहेका छन्। यस्तो प्रश्न गर्नुको कारण छोरोप्रतिको परम्परागत आशक्ति हो। तर, पाण्डेलाई यी प्रश्न र व्यवहारले बिझाए पनि दुई छोरी पर्याप्त भएकोमा सन्तोष मान्छन्।
अहिले तीजको रौनक लाग्दै गर्दा गायक सपुतले आफ्नो तीज गीतको विषय यही सामाजिक मनोविज्ञानमा आधारित रहेर तयार गरेका छन्। छोरी, त्यसमा पनि समाजका सत्ता, शक्ति र सम्पत्तिको पहुँचमा गरिने बलात्कारको विषयमा तयार तीज विशेष गीत ‘बदला बरिलै’ ले समाजमा नयाँ तरंग पैदा गरेको छ।
यो गीत युट्युबमा सार्वजनिक भएको केही समयमै युट्युब ट्रेन्डिङमा आउनुका साथै छोराछोरीबीचको विभेद, त्यसमा छोरीहरूले बेहोर्नु परेको जघन्य बलात्कारको सवाल संवेदनशील ढंगले उठान गरिएको छ।
समाजमा छोरीलाई हेर्ने दृष्टिकोण र बलात्कार जस्तो जघन्य अपराधले विगत एक वर्षदेखि आफूलाई बिझाइरहेको र अहिले आएर गीतमार्फत प्रस्तुत गरिएको गायक सपुतले बताए। अहिलेको कठिन परिस्थितिमा यो गीत र म्युजिक भिडियोमा ठूलो लगानी भए पनि समाजमा व्याप्त सामाजिक समस्या उठान गरेकाले आफूलाई बढी सन्तुष्टि मिलेको सपुतको भनाइ छ।
सपुतको शब्द, लय तथा भिडियो निर्देशनमा रहेको गीतमा चर्चित देवी घर्तीको आवाज र लोकप्रिय नायिका केकी अधिकारीलगायतको अभिनय छ। अघिल्लो शुक्रबार राति अबेर सार्वजनिक गरिएको गीत अहिले युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ। एक सातामा यो गीतले २० लाख भ्युज पाएको थियो।
नेपाली लोक सांगीतिक क्षेत्रमा गायक सपुतको ‘बोलमाया’, ‘गलबन्दी’ गीत सर्वाधिक लोकप्रिय गीत हो। युट्युबमार्फत हालसम्म ‘बोलमाया’ गीत १ करोड ६६ लाख पटक हेरिएको छ भने ‘गलबन्दी’ ४ करोड १२ लाख ९३ हजार ९ सय ५६ पटक हेरिएको छ।
अहिले धेरै कलाकारलाई तीजका गीत निकाल्न पनि भ्याइनभ्याइँ छ। फिल्ममा समेत महिला संगीतकारको परिचय बनाएकी रेखा पौडेल अहिले आफ्नै स्वरमा ‘नाचौं न नाचौ न’ बोलको गीत लिएर आएकी छन्। कृष्णहरि बरालका शब्दमा रहेको भिडियोको निर्देशन ओम
श्रेष्ठले गरेका छन्। भिडियोमा नीतु कोइराला, सुशीला थापा एवं गीतकार तथा पौडेलको नृत्य तथा अभिनय रहेको छ।
बिहीबार नै अर्को तीज गीत फूलबुट्टे सारी सार्वजनिक भएको छ। बिन्दु परियारको आवाजमा शान्तिप्रियको शब्द तथा सुदीप सागरको एरेन्ज तथा संगीतमा यो गीत आएको हो। फुलबुट्टे सारीमा अभिनेत्री अनामिका चौलागईं मोडलका छिन्।