तोडियो मार्तडीको सम्बन्ध
बाजुरा/अछाम : विकासका दृष्टिले सबैभन्दा पछि रहेको बाजुरा जोड्ने सडकको ट्र्याक खुलेको २२ वर्षपछि बल्लतल्ल कालोपत्रे भयो। कालोपत्रे भएपछि बिहान हिँडेका सवारीसाधन साँझ सदरमुकाम मार्तडी पुग्थे।
तर, कालोपत्रे भएकै वर्षदेखि हरेक वर्षामा पैमाको पहिरोले मार्तडीको सम्बन्ध विच्छेद गर्दै आएको छ। दुई वर्षदेखि पहिरोले अवरुद्ध हुन थालेको साँफेबगर–मार्तडी सडक यसपटक झनै जोखिममा परेको छ। बूढीगंगा नदीको किनारमा रहेको सडकको दुई किलोमिटर भाग बाढीले बगाएपछि असार दोस्रो सातादेखि बाजुरा सदरमुकामको यातायात बन्द छ। दुई वर्षअघि १५ दिन र गत वर्ष एक महिनासम्म अवरुद्ध भएको यो सडकमा यसपटक नयाँ ट्र्याक नबनाएसम्म यातायात सञ्चालन हुने सम्भावना छैन।
साँफेबगर–मार्तडी सडकखण्डको ताँप्रीसेरा, द्वारीपानी, नाउलनलगायत क्षेत्रमा नदीको कटान र माथिबाट आएको पहिरोले सडक बगेको छ। बाजुराको त्रिवेणी नगरपालिका–९ पैमाको पहिरोले बूढीगंगा नदीलाई साँफे–मार्तडीतिर धकेलेपछि सडक पूरै बगेको हो। बूढीगंगा नदीमा वारिपट्टि पैमा र पारिपट्टि द्वारीको पहिरोले बूढीगंगा नदी थुनिएको छ। तीन वर्षदेखि पहिरो खसिरहँदा नदी थुनिएर तल्लो तटीय क्षेत्र अछामको साँफेबगर बजार र विमानस्थल आसपासका बस्ती जोखिममा पर्ने सम्भावना बढेको छ।
बाजुरा सदरमुकाम जोड्ने मेरुदण्डको रूपमा रहेको सडक भत्कँदा सदरमुकाम मार्तडीसँग स्थानीय तह, अन्य जिल्ला, संघ र प्रदेश सरकारसँगको सम्बन्ध विच्छेद भएको बूढीगंगा नगरपालिका–२ का वडाध्यक्ष हीरालाल थापाले बताए। ‘पानी पर्नेबित्तिकै तीन वर्षदेखि सडक भासिइहाल्छ, वैकल्पिक सडकका लागि कतैबाट पहल भएको छैन’, उनले भने। अहिले मार्तडीमा दैनिक उपभोग्य सामग्रीको अभाव छ। सडक अवरुद्ध भएको स्थानबाट खच्चरमा ढुवानी गर्नुपर्ने भएकाले सदरमुकाममा सामानको भाउ आकासिएको थापाको भनाइ छ।
द्वारी क्षेत्रमा पूरै सडक भासिएकाले तत्काल यातायात सुचारु हुने अवस्था नरहेको बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताए। पहिरो झरेकै स्थानमा पैदल ओहोरदोहोर हुन थालेपछि प्रहरीको टोली परिचालन गरिएको बताउँदै उनले भने, ‘जोखिम मोलेर जानेलाई अर्को पैदलमार्ग भएर जान अनुरोध गरिरहेका छौं, तीन किलोमिटर उकालो चढेर अमकोट गाउँ हुँदै ओहोरदोहोर भइरहेको छ।’ माथिबाट पहिरो र तलबाट बूढीगंगा नदीको कटान जारी छ।
तीन वर्षदेखि यो समस्या जारी रहे पनि सरोकारवाला निकाय जिम्मेवार नभएका मार्तडी हाटबजार व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्लले बताए। ‘बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्य आकासिएको छ। ताप्रीसेराबाटै भरिया खच्चरद्वारा मालसामान ढुवानी गर्दा सामानको मूल्य बढेको मार्तडीका व्यापारी हंशबहादुर सिंह बताउँछन्। चामल व्यापारीहरूसँग पुरानो मौज्दात रहेकाले त्यसैले सदरमुकाममा खाद्यान्न आपूर्ति भइरहेको तर सदरमुकामको सम्बन्ध विच्छेद भएको दुई महिना हुन लागेपछि अब सबै सामग्री अभाव हुने उनले बताए। सडक अवरुद्ध हुँदा अत्यावश्यक औषधि अभावसँगै गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल लान समस्या भएको छ।
बाजुराका बिरामी रिफर भएमा अछामको बयलपाटा अस्पताल र धनगढी लाने गरिन्छ। ‘बिरामीलाई सबैभन्दा बढी समस्या भएको छ, कैलाली, नेपालगन्ज, काठमाडांै रिफर गर्नुपर्ने हुन्छ, सडक दुई महिनादेखि बन्द छ’ जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रूपचन्द्र विश्वकर्माले भने। बल्दे, अम्कोट, द्वारी र मलाती क्षेत्र पहिरोले भासिएपछि सडकको साँधसिमाना छैन। पहिरोले सडक भत्काउँदा अमकोट गाउँ नै उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए।
सडक डिभिजन कार्यालयको टोलीले सडकको अवस्थाबारे जिल्ला प्रशासनबाट पनि माथिल्लो निकायमा खबर गरिसकेको जानकारी उनले दिए। ‘पहिरो मात्रै खसेको भए सडक कति दिनमा सञ्चालन गर्न सकिन्छ भनेर भन्न सकिन्थ्यो तर दुई किलोमिटर सडक नै भासिएर नदीमा बिलाएकाले कहिले सञ्चालनमा आउँछ भन्न सकिने अवस्था छैन’, गैरेले भने। विज्ञको टोलीले पहिरो प्रभावित क्षेत्रको विस्तृत अध्ययन गरेपछि मात्रै समाधानका उपाय भन्न सकिने काठमाडौंमा रहेका सडक डिभिजन कार्यालयका प्रमुख ललित खनालले बताए।
रामारोशनमा ठूलो क्षति
यसपटकको पहिरोले अछामको रामारोशनमा ठूलो क्षति गरेको छ। १ सय ३ घरपरिवार विस्थापित भएका छन्। रामरोशन गाउँपालिका–५ अल्लेडीका ५७, रामारोशनका ७, वडा नम्बर ४ बाटुलासैनका १६, वडा नम्बर ६ भाटाकाटियाका २ र अन्य वडाका सहित १ सय ३ परिवार प्रभावित भएका छन्।
बाढी र पहिराले गाउँपालिकाका सयौं रोपनी खेतीयोग्य जमिनलाई बगर बनाएको छ। छियाछिया हुने गरी आएको पहिरोबारे भूगर्भविद्हरूले अध्ययन गर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले बताइन्। रामारोशन क्षेत्रका ६ झोलुंगे पुल, ५ जलविद्युत् परियोजना, ३० भन्दा बढी पानी घट्ट, १४ खानेपानीका मुहान र ६ वटा सिँचाइ कुलो पूर्णरूपमा क्षति पुगेको छ। सबैभन्दा बढी क्षति रामारोशन गाउँपालिकामा भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए। उनले भने, ‘मानवीय क्षति नभए पनि सार्वजनिक र व्यक्तिको सम्पत्ति धेरै क्षति भएको छ।’