बैतडीमा ३२१ जनामा संक्रमण
बैतडी : बैतडीकी एक गर्भवती महिलामा कोरोना पुष्टि भएको छ। पाटन नगरपालिका ३ की १९ वर्षीया महिलामा आइतबार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।
उपचारका लागि डडेल्धुरा अस्पताल पुगेकी ती महिलाको यही साउन २३ गते स्वाब संकलन गरिएको थियो। आइतबार आएको रिपोर्टमा कोरोना पुष्टि भएको उनले बताए। अहिले ती महिलाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।
स्क्रब टाइफस भएपछि ती महिलालाई अस्पताल पुर्याइएको र उनमा कोरोनासमेत पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। कुनै ट्राभल हिस्ट्री नभएकी गर्भवती महिलामा कोरोना पुष्टि भएपछि समुदायमा संक्रमण फैलिएको आशंका गरिएको छ। संक्रमित महिलाका श्रीमानसँगै रहेका थिए। उनको धनगढीमै स्वाब संकलन हुनेछ भने अन्य घरपरिवारका सदस्यको पनि स्वाब संकलन गरिने स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए। उनले भने, ‘ती महिला घरबाट कतै बाहिर गएको भन्ने जानकारी छैन। ती महिलामा कोरोना पुष्टि भएपछि समुदायमा संक्रमणको आशंका फैलिएको छ।’
महिलालाई स्ट्रेचरमा बोकेर सडकसम्म पुर्याउने स्थानीय १५ जनालाई पनि अलगै होम क्वारेन्टाइनमा ७ दिन बस्न आग्रह गरिएको छ। उनीहरुको पनि ७ दिनपछि स्वाब संकलन गरिने महराले जानकारी दिए। थप एकजनामा कोरोना पुष्टि भएसँगै बैतडीमा कोरोना संक्रमितको संख्या ३२१ पुगेको छ। ३२१ मध्ये सुर्नया गाउँपालिकाका १२ जना र मेलौलीका १ जना मात्रै आइसोलेसनमा छन्।
संक्रमण पुष्टि भएका ३०७ जना भने डिस्चार्ज भइसकेका छन्। जिल्लामा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित रहेका छन्। यस्तै शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४०, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २८, सुर्नया गाउँपालिकाका २६, पाटन नगरपालिकाका २४, पुर्चौंडी नगरपालिकाका ९ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ।