गोंगबुमा बीभत्स हत्या
काठमाडौं : काठमाडौंको गोंगबुमा एक अधबैंसे पुरुषको शव टुक्राटुक्रा गरेर फ्याँकिएको अवस्थामा भेटिएको छ। गोंगबुचोकबाट उत्तरतर्फ टोखा नगरपालिकाको नवज्योति मार्गमा सुटकेसमा शव फेला परेको हो।
स्थानीयले सुटकेसमा रगत देखिएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सुटकेस खोल्दा घाँटीभन्दा मुनिको भाग र घुँडाभन्दा माथिको भागको काटेर राखिएको अवस्थामा भेटिएको हो। सुटकेसमा जीउमात्रै भेटिएकाले शरीरका अन्य भाग भेट्टाउन प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग गर्यो। कुकुरको सहयोगमा सुटकेस भेटिएको ठाउँभन्दा केही पर वार्ड नं १० को स्वर्गद्वारी मार्गमा टाउको र खुट्टा फेला परेको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए।
उनले भने, ‘जीउ काटेर हालेको सुटकेस भेटिएभन्दा केही पर स्वर्र्गद्वारी मार्गमा टाउको र खुट्टा भेटिएको हो, एउटा जेब्राको झोलामा टाउको खुट्टा हालेर फ्याँकिएको थियो। यसका लागि हामीले तालिम प्राप्त कुकुरको सहयोग लियौं।’ घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीको पाँचवटा टोलीले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानले हत्या शनिबार राति भएको ठहर गरेको छ। एसएसपी थापाले भने, ‘डाक्टरहरूको भनाइअनुसार शनिबार राति हत्या गरेर फालिएको हो, थप अनुसन्धानका लागि शव पोस्टमार्टमका लागि पठाएका छौं, भोलिसम्ममा थप कुरा आउँछ।’
हत्या गरिएका व्यक्तिको पहिचान नभए पनि उनको उमेर ४० देखि ५० वर्षको भएको अनुमान गरिएको छ। मृतक स्थानीय हो होइन भनेर वडाध्यक्ष र स्थानीयसँग सोधपुछ गरिए पनि पहिचान नभएको, घर, ठेगाना र हत्या गर्ने व्यक्ति र हत्या हुने कारणबारे अनुसन्धान जारी रहेको थापाले जानकारी दिए।