जलमग्न धनगढी
धनगढी : तीन दिनदेखि लगातारको वर्षाले धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढीका मुख्य सडक नै जलमग्न हुँदा आवत-जावतमा समस्या उत्पन्न भएको छ । प्रदेशसभा अगाडिकै सडक पार्क मोड आसपासका पसलभित्र पानी पसेको छ।
धनगढीमा सबैभन्दा बढी एलएनचोक, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहरीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । यस्तै वडा नं ३ का दर्जनभन्दा बढी घर तथा पसल डुबानमा परेका छन् ।
पानी निकास हुने गरेका पुराना खोल्सा, कुलेसामा घर निर्माण हुने क्रममा पुरिएपछि स्थानीयवासीका घर तथा पसलभित्र पानी पस्नुका साथै मुख्य सडक समेत जलमग्न भएको धनगढी-३ का शेरबहादुर धामीले बताए । उनले भने, 'उपमहानगरपालिकाका सहायक सडकमा पानीको निकास नहुँदा डुबानमा पर्नुका साथै विभिन्न मुख्य सडकमा समेत पानी जमेर स्थानीयवासीलाई आवतजावतमा समेत समस्या भएको छ ।'
वर्षाले स्थानीयवासीका धानबाली डुबानमा परेका छन् भने खेतबारी जलमग्न भई तलाउजस्तै देखिएका छन् । त्यसैगरी धनगढीमा निर्माणाधीन अवस्थामा रहेको छ लेन सडक र अर्कोतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यवस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको छ ।
धनगढी उपमहानगरपालिका-१ एलएनचोक व्यापारी राजिव गुप्ताले तीनदेखि अत्यधिक वर्षा भएको र पानी निकासको व्यवस्था नहुँदा स्थानीयवासीका घरभित्र पानी पसेको बताए । पार्कचोकका धेरै व्यापारीका पसलभित्र पानी पसेको छ ।
उपमहानगरभित्र भएका प्राकृतिक खोला नाला अतिक्रमण भएपछि डुवान समस्या बर्षेनि दोहोरिने गरेको छ । धनगढी मुख्य कैलाली नाला, सुकुटि नाला, सबैभन्दा अतिक्रमणमा परेका क्षेत्र हुन् ।
पानी निकास हुने स-सना नालाहरु हराउँदै जाँदा डुवान समस्या हुने गरेको धनगढी उपमहानगर-२ की धना बटालाले बताइन् । '२ दशक अगाडिसम्म धेरै नालाहरु खुल्ला थिए । पानी सहजै भग्ने गथ्र्ये । तर, अहिले स-साना नालाहरु मात्र नभएर मुख्य भनिएको कैलाली नाला नै साघुँरिदै जादा समस्या बढ्दै गएको छ ।'
नालाखोला अतिक्रमणले वर्षातमा धनगढी नगरका घर डुवानमा पर्ने समस्या वर्षौदेखि ज्यूँका त्यूँ छ । धनगढी-३ चटकपुरको श्रीकेदार टोल पानीको निकास हुँदा बर्षेनि डुवानमा पर्ने गरेको छ । 'चटकपुरभन्दा दक्षिणतर्फ पनि निकास हुनुपर्छ । त्यसपछि केहि सहज हुने छ।'