ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि कुटपिट
बैतडी : बैतडीमा एक महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका ३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्र्तगतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि आइतबार कुटपिट भएको हो ।
स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको बताइन् । उनले भनिन् ' म बिरामीको उपचार गरिरहेकी थिँए । एक्कासी आएर ममाथि कुटपिट भयो ।'
पुर्चौडी नगरपालिका ३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय विरेन्द्र कुँवरले जानकीमाथि कुटपिट गरेको हो । स्थानीय एक वृद्धा बिरामीलाई स्लाइन चढाइरहेका बेला ती युवकले कुटपिट गरेको पीडित भट्टले बताइन् । उनले भनिन् 'वृद्धा आमा कान नसुन्ने र उहाँसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलौज गर्दै ममाथि कुटपिट भयो । मेरो हातको औंला भाँचिएको छ । मुख, छाती र टाउकोमा चोट छ ।'
पीडित अनमी भट्टले आफू न्यायका लागि नगरपालिका पुगेको बताइन् । कुटपिट गर्ने ती युवकले स्वास्थ्य केन्द्रमा कार्यरत स्वीपर(कार्यालय सहयोगी) बिमला कुँवरमाथि पनि हातपात गर्नुका साथै कार्यालयमा रहेका कागजात पनि च्यातेको बताइएको छ ।
कुटपिटपछि जानकीले ती युवालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रहरी चौकी पुरघाटमा निवेदन दिएकी छन् । स्वास्थ्यकर्मीमाथि स्वास्थ्य संस्थामै कुटपिट र दुव्र्यवहार भएकाले आफूहरु असुरक्षित रहेको न्वादेउ स्वास्थ्य चौकीका इञ्चार्ज गणेश धानुकले बताए ।
उनले भने, 'कार्यस्थलमै स्वास्थ्यकर्मीमाथि हातपात हुन्छ भने हामीले कसरी काम गर्ने ? झन् यस्तो महामारीका बेला हामीहरुलाई हातोत्साहित बनाउने काम भएको छ । दोषीमाथि कारवाही हुनुपर्ने हाम्रो माग छ ।'
यसैबीच स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने ती दुबै युवक फरार छन् । फरार रहेका मोहन कुँवर र विरेन्द्र कुँवरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्ने उजुरी आएको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।