कमेडी फिल्म ‘हुतुतु’ बन्दै
काठमाडौं (अन्नपूर्ण) : ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले अर्को वर्षका लागि कमेडी फिल्म ‘हुतुतु’ बनाउने बताएका छन्। निर्माता सन्तोष र छेतन गुरुङले संयुक्त रूपमा फिल्म ‘हुतुतु’ निर्देशन गर्नेछन्। फिल्ममा हरिवंश आचार्य, माओत्से गुरुङ, राजाराम पौडेलका साथै प्रदीप खड्का, पल शाह, गौरव पहारी, सलोन बस्नेत, नाजिर हुसेनको प्रमुख भूमिका रहनेछ।
पूर्ण कमेडी कथामा फिल्म बन्ने जानकारी गराउँदै निर्माता सन्तोष भन्छन्, ‘अहिले फिल्मको स्क्रिप्ट लेखन भइरहेको छ।’ सन्तोषको कथामा छेतन गुरुङ र अभिमन्यू निरवीले पटकथा लेखन गरिरहेका छन्। फिल्मका लागि पुरुष कलाकार चयन गरिएको र महिला कलाकार पनि चाँडै छनोट गरिने उनले जनाए।
हास्यकलाकार हरिवंश आचार्य धेरैपछि बाहिरी ब्यानरको फिल्ममा काम गर्न सहमत भएका छन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ भने हुने छैनन्। कोरोना महामारीले अनुकूल स्थिति नरहेकाले फिल्मको छायांकन मिति भने तय भएको छैन।