ट्राफिक व्यवस्थापन संरचना बन्दै
काठमाडौं : सरकारले काठमाडौं उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न ट्राफिक व्यवस्थापन संरचना (ग्रेड स्परेटेड इन्टरसेक्सन) निर्माण गर्ने भएको छ। ट्राफिक व्यवस्थापन संरचना चक्रपथको कोटेश्वर–कलंकी खण्डको ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा बनाइनेछ। सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले ट्राफिक व्यवस्थापन संरचनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन परामर्शदाता छनोट गरिसकेको छ।
डीपीआर बनाउने जिम्मा जियोकम-बीडीए-रेज जेभीले पाएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर शंकर खनालले जानकारी दिए। डीपीआर बनाउने परामर्शदाता खोज्न विभागले २०७५ माघमा आसय माग गरेको थियो। यसका लागि आठवटा परामर्शदाताले इच्छा जाहेर गरेका थिए। तीमध्ये चारवटा प्रविधिक रुपमा सवल देखिएका थिए। सूचीकृत चार कम्पनीमध्ये प्राविधिक र आर्थिक मूल्यांकनबाट अब्बल ठहरिएको जियोकम÷बीडीए÷रेज जेभीले डीपीआर तयारपार्ने जिम्मा पाएको हो। परामर्शदाताले करिब ४५ लाख रुपैयाँमा ठेक्का प्राप्त गरेको छ। डीपीआर निर्माण गर्न साउन २ गते सडक विभाग र परामर्शदाताबीच सम्झौता भइसकेको छ। २८ हप्ता भित्रमा परामर्शदाताले डीपीआर तयार गरी विभागलाई हस्तान्तरण गर्नुपर्नेछ।
काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक चापलाई व्यवस्थित गर्न ट्राफिक व्यवस्थापन संरचना उपयुक्त हुने इन्जिनियर खनालले बताए। ‘उपत्यकाको प्रमुख समस्याका रुपमा ट्राफिक जाम देखिएको छ। खनालले भने, ‘बर्सेनि सवारीसाधन थपिरहेका छन्। रनिङ ट्राफिक धेरै हुँदा नयाँ संरचना बनाउन कठिन छ।’
उपत्यकाको ट्राफिक समस्या हल गर्न ट्राफिक व्यवस्थापन संरचना प्रयोगमा ल्याइनेछ। डीपीआरको निर्माणको क्रममा रहेकाले संरचना कस्तो हुन्छ भने ठ्याकै भन्न नसकिने खनाल बताउँछन्। उनका अनुसार संरचना फ्लाइ ओभर, ओभर पास, अन्डर पासमध्ये कुनै एक हुनेछ। संरचना कस्तो किसिमको निर्माण गर्ने भनेर परामर्शदातलाई डीपीआरको जिम्मा दिइएको हो। परामर्शदाताले ट्राफिक जाँच, माटोको गुणस्तर, सडकको लम्बाईलगायत विषय अध्ययन गरेर डिजाइन तयार गर्नेछ। परामर्शदाताले दिइएको प्रतिवेदन सकारात्मक देखिए निर्माण प्रक्रियाको चरणमा प्रवेश हुनेछ।
‘उपत्यकामा ट्राफिक व्यवस्थापन कठिन बन्दै गएको छ। परम्परागत डिजाइनको सडकले ट्राफिक चाप धान्न सकिने अवस्था छैन’, खनालले भने, ‘नयाँ संरचना र डिजाइनको आधारमा ट्राफिक व्यवस्थापन गर्न खोजिएको हो।’
ट्राफिक व्यवस्थापन संरचना निर्माण गर्न खोजिएको सडक चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार भइसकेको छ। साढे १० किलोमिटर कलंकी–कोटेश्वर सडक आठ लेनमा विस्तार गरिसकिएको छ। २०७० सालदेखि विस्तार प्रक्रिया अघि बढाइएको कोटेश्वर–कलंकी सडक सरकारलाई २०७५ माघमा हस्तान्तरण गरिएको थियो। सडक विभागले विस्तारित सडक खण्डमा ट्राफिक व्यवस्थापन संरचना बनाउन खोजेको छ। चक्रथप हुँदै सहर भित्रिने र बाहिरिने सवारीका कारण ग्वार्खो, सातदोबाटो र एकान्तकुना चोकमा सवारी चाप उच्च छ। ट्राफिक व्यवस्थापन गर्ने संरचना निर्माण गरेर ती चोकका सवारी जाम घटाउने विभागको योजना छ।
विस्तारित कलंकी–कोटेश्वर खण्डकै कलंकी चोकमा अन्डरपसा निर्माणपछि ट्राफिक व्यवस्थापन सहज भएको छ। सडकको माथिल्लो वा तल्लो स्थानमा कुनै संरचना निर्माण गर्न सकिएमा ट्राफिक व्यवस्थापन सहज हुने विभागको ठम्याइ छ। ट्राफिक व्यवस्थापनमा कलंकीमा देखिएको सफलकै आधारमा चक्रपथका तीन स्थानमा नयाँ संरचना बनाउन विभाग अग्रसर भएको हो।