राजधानीमै खोला पस्यो

राजधानीमै खोला पस्यो

धनगढी : कैलालीको धनगढी–१ की कोकिला जोशी र उनको परिवारका सदस्य सोमबार दिउँसोसम्म चियासमेत नखाई कम्मरसम्मको पानीमा खटिरहेका थिए। सडकछेउमै रहेको पक्की घर अलिक उँचो भए पनि त्यसकै पछाडि रहेको पुरानो घरभित्र दुई फिटसम्म पानी पसेको रहेछ। उनीहरू त्यहाँ भण्डारण गरिएको खाद्यान्न, लत्ताकपडा ओसार्न व्यस्त थिए।

‘शिवनगरमा हरेक वर्ष बाढी बढेर आइरहेको छ’, जोशीले भनिन्, ‘तीन–चार वर्षअघि सडकमा सामान्य पानी जम्थ्यो। पछि खोलाको केही पानी बस्तीमा पस्यो। अहिले त खोला नै बस्ती भएर बग्न लागेको छ।’

सोही ठाउँका तारा चन्दको घरमा पनि तीन फिट पानी जमेको छ। ‘आधाभन्दा बढी सामान भिजेर काम नलाग्ने भयो’, चन्दले भने, ‘घरभित्रको कार्पेट सोफा र अरू सामानको बिजोग छ।’ उनका घरमा आइतबार बेलुका महेन्द्रनगरबाट चार–पाँच जना साथी पाहुना आएका थिए। ‘चुरेतिर दिनभर पानी परेकाले खोलामा अचानक पानी आएर बस्तीमै पस्यो’, चन्दले भने,

‘एकतले घर भएकाले सबै जना आधा रातिदेखि जागराम बस्यौं।’

शिवनगरकै नेकपा नेता यज्ञराज बाँस्तोलाका अनुसार सहरमा कंक्रिटका घर बने। पानी जमिनमुनि जाने माटोको सतह कम भयो। ‘अर्को कुरा खोलानाला अतिक्रमणको चपेटामा परे। खोला साँघुरिँदै आएपछि पानी नअटाएर बस्ती वा बजारमा त पस्ने हो’, उनले भने।

उनले विगतमा खोलाहरूको चौडाइ कम्तीमा ३० मिटर रहेको उल्लेख गरे। ‘तर, खोलाहरूमा लालपुर्जा बनेर अहिले १०–१२ फिट भइरहेका छन्’, उनले भने, ‘अनि पानी त जता बहाव पायो उतै त जाने हो। खोलामा अटेन अनि बस्तीमा पस्यो।’

शिवनगरकै जानकी बोगटी धनगढीको मुख्य बजारस्थित पुरानो विद्यालय त्रिनगर माविकी अध्यक्ष हुन्। त्रिनगर माविसँगै कैलाली खोला जोडिएको छ। उनको बसाइ भने शिवनगर खोलानजिक छ। ‘त्रिनगर खोलाको बीचमा पिलरका घर बनाएका सबैले देखेकै छन्। शिवनगर खोला पनि अक्रिमणको चपेटामा परेको छ’, बोगटीले भनिन्, ‘चुनावका बेला सबैले तटबन्धका कुरा गर्छन्। त्यो कुरा फेरि अर्काे पाँच वर्षमा मात्रै आउने हो। त्यो पनि चुनावी एजेन्डाका रूपमा।’

वडा नम्बर १ र ३ मा ९० डुबानमा परेको ३ नम्बर वडाध्यक्ष बलबहादुर ऐरले बताए। यस्तै, रातोपुल, एलएम चोक, पार्क चोक, संसद् भवन, सेती प्रादेशिक अस्पताल आसपास खोलाको पानी उक्लिएको छ।

‘धेरै पानी परे अलिक अलिक जम्मा हुने त सधैं हो’, एलएन चोकका व्यवसायी राजीव गुप्ताले भने, ‘तर, यसरी खोला नै सडकमा उक्लिएको भने पहिलो पटक हो।’ खोलानाला अतिक्रमणका साथै नगर क्षेत्रका नालीको निकास नभएका कारण हरेक वर्ष बजार क्षेत्र डुबानमा परिरहेको उनको भनाइ छ। ‘यसपालि सडकमा आएको पानी अहिलेसम्मकै बढी हो’, उनले भने, ‘यो हरेक वर्ष बढिरहेको छ।’

धनगढी बजारको पूर्वी क्षेत्रबाट सेतोपुल खोला, त्यसपछि जिप्रका खोला, कैलाली खोला र ज्योति स्कुल नजिकको खोला हो। ज्योति स्कुलनजिकको खोलाको त अहिले सडक बनाइएको छ। बजारको उत्तरी क्षेत्र उत्तरबेहडी, कैलाली गाउँ भएर आउने पानीले निकास नपाएपछि डुबान हुने गरेको छ।

कैलाली नालाको बीचमा पक्की घर बनेका छन्। सेतो पुल आसपास पनि घर बनेर अतिक्रमण बढेको छ। खोलाको बीचमा पर्ने जग्गा नेताहरूको सेटिङमा लालपुर्जा लिँदै घर बनाउँदै गरेपछि बर्खाका बेला बाढीले यसरी वितन्डा मच्चाउने गरेको रातोपुलका वीरबहादुर महराले बताए।

उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले पहिलो बैठकमा धनगढीमा खोलानाला अतिक्रमण हटाउने निर्णय गरेका थिए। ‘तर, त्यो निर्णयमा मात्रै सीमित रह्यो। उपमहानगरपालिकाले त्यो निर्णयअनुसार काम गर्न सकेन’, शिवनगरका बाँस्तोलाले भने, ‘सुरुमा निर्णय गरिहाले, अब खोलानालाछेउका बस्ती उठायो भने कसैका भोट कम पर्ने होलान्। अनि चुप लागेर बसेपछि, बाढीले यस्तो वितन्डा मच्चाएको छ।’

उपमेयर सुशीला मि    श्रले भने उपमहानगरपालिकाले खोलानाला अतिक्रमण हटाउन समिति गठन गरी काम गरिरहेको दाबी गरिन्। ‘खोलानाला अतिक्रमण हटाउनका लागि हामीले एक टोली गठन गरेका छौं। त्यसले सबै खोलामा गरिएको अतिक्रमणको लगत संकलन गरिसकेको छ’, उनले भनिन्, ‘उनीहरूलाई सम्झाइबुझाई गरी अतिक्रमण छोडन आग्रह पनि गरिएको छ।’

उपमहानगरपालिकाले सबैभन्दा बढी डुबानमा पर्ने वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीको अध्यक्षतामा प्राविधिकसहित खोलानाला अतिक्रमण हटाउने समिति गठन गरेको थियो। समिति गठन भएको तीन वर्ष हुन लाग्दा पूरै लगत संकलनको काम पनि हुन नसकेको भन्दै नगरवासी रुष्ट छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.