सरकारको उपेक्षामा जेठो पुस्तकालय

सरकारको उपेक्षामा जेठो पुस्तकालय

पाल्पा : राणा शासनको कठिन समय। जनताका छोराछोरीले शिक्षा आर्जन गरेको शासकहरू देखिसहन्नथे। देशको ढुकुटीमाथि राणाहरूको चरम दोहन थियो। यही बेला मानवीय चेतनाको आलोक फिँजाउन १९८३ सालमा पाल्पाली शिक्षासेवी अम्बिकाप्रसाद लाकौलको अगुवाइमा पुस्तक पढ्ने दलानका रूपमा अहिलेको धवल पुस्तकालयको   श्रीगणेश गरिएको थियो।

सेन वंश होस् या मल्ल वा शाह वंश, पाल्पा जिल्लाको बेग्लै महत्व छ। ऐतिहासिक रूपमा ख्यातिप्राप्त पाल्पा टुक्रे र खण्डे राज्य बनाएर आफू अनुकूलको शासन सञ्चालन गर्न खोज्नेविरुद्ध उभिने विशाल राज्यका रूपमा परिचित थियो। सामूहिक रूपमा पुस्तक पढ्ने र ज्ञान बाँड्ने, बेथितिविरुद्ध एकजुट हुने अभियान सञ्चालन गर्न दलान सुरु गरिएको थियो। यही दलानले २००३ सालदेखि धवल पुस्तकालयको परिचय पायो। लगभग ९४ वर्षको इतिहास बोकेको यो पुस्तकालय नेपालकै जेठो पुस्तकालयका रूपमा आज पनि उभिएको छ।

पश्चिम नेपालको शैक्षिक इतिहास बोकेको धवल पुस्तकालय यस क्षेत्रका नागरिकको ज्ञान र चेतना स्तर उठाउन सदैव सहयोगी बन्यो। राजनीतिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक चेतना जगाउन अग्रसर अग्रज तथा पुर्खाहरू भेटघाट हुने, छलफल चलाउने ठाउँका रूपमा स्थापित भयो। यही दलानमा पढेर अनेकौं राजनीतिक नेतृत्व केन्द्रीय राजनीतिमा उदाए। धेरै अग्रज र पूर्वजले बौद्धिक शक्तिको स्वाद थाहा पाए। पश्चिम पाल्पाको शैक्षिक इतिहासमा कोशेढुंगाको रूपमा धवल पुस्तकालय रहिरह्यो।

धवल पुस्तकालय सम्झँदै अहिलेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लेख्छन्, ‘ पुस्तकालय नभएको भए हामीले कसरी चिन्दा हौं गान्धीलाई, जसले अहिंसा र सत्याग्रहको हतियारद्वारा कहिल्यै घाम नअस्ताउने उपनिवेश भएको बेलायतको आफ्नै घाम डुबाइदिए। पुस्तकालयकै साँघुरो कोठामा अटाएका थिए ती अनेक पुस्तक जसबाट लेनिन, माओका प्रेरक प्रसंग पढ्न पायौं। यही पुस्तकालयले नै हामीलाई अब्राहम लिंकनसँग भेट गराइदियो। लिंकनका कथाबाट नै हामीले प्रजातन्त्र भनेको जनताबाट, जनताको र जनताको निमित्त शासन रहेछ भन्ने थाहा पायौं।’

यो पुस्तकालयमा शैक्षिक गतिविधि हुने थाहा पाएपछि तत्कालीन शासकको गिद्देदृष्टि लाग्यो। लुकिछिपी पुस्तक संकलन गर्ने, पढ्ने र छलफल गर्ने कार्य रोकियो। २००२ सालमा पद्मशमशेर नेपालको प्रधानमन्त्री भएपछि सरकार र जनताको सम्बन्ध केही खुकुलो भयो। यसपछि पुस्तकालय खोल्न आवाज उठ्न थाल्यो। तानसेनका केही शिक्षित युवाले धवल क्लब स्थापना गरे। यही क्लबको अगुवाइमा २००३ सालमा औपचारिक रूपमा धवल पुस्तकालय खुलेको हो।

विसं २००७ मा प्रजातन्त्र उदयपछि नेपालभर पुस्तकालय खोल्ने अभियान चलेको थियो। यसै क्रममा पाल्पा तानसेनमा पनि कैलाश पुस्तकालय, बालसखा पुस्तकालय, ज्ञानोदय पुस्तकालय, सहिद पद्मजंग पुस्तकालय, विजय पुस्तकालय आदि स्थापना गरिए। यी पुस्तकालयले पाल्पावासीको शैक्षिक जागरणमा सहयोग पुर्‍याइरहे।

नियमित रूपमा खोलिने, साहित्यिक शैक्षिक कार्यक्रम सञ्चालन गरिने र पुस्तकालयमा विभिन्न ठाउँबाट पुस्तक प्रदान गरिने हँुदा धेरै किताब संकलन भए। अहिले पनि धेरैजसो पुस्तक जीर्ण अवस्थामा छन्। बुद्धिजीवी तथा लेखक निर्मल  श्रेष्ठका अनुसार कामको सिलसिलामा भारत जाने युवाले समेत पुस्तकालयका लागि पुस्तक बोकेर आउँथे। बनारसको गीता प्रेसबाट प्रकाशित हुने धार्मिक किताबहरू नियमित आउँथे। पाल्पाका शिक्षासेवीले पुस्तक दान गर्थे।

४० को दशकमा आइपुग्दा धवल पुस्तकालयमा १५ हजारको हाराहारीमा पुस्तक संकलन भएको थियो। विभिन्न धर्मग्रन्थ, नेपाल भाषा, हिन्दी, संस्कृत, अंग्रेजी, बंगाली र उर्दु भाषाका पुस्तक पनि पर्याप्त थिए। पत्रपत्रिका, साहित्यिक पुस्तक र नियमित अखबार पनि संग्रह गरिएको थियो। शारदा, भारती, गोरखा, साहित्यस्रोत, प्रभात, प्रगतिजस्ता पुराना दुर्लभ पत्रपत्रिका पनि थिए। विट्रानियाको इन्साइकोपेडिया, योगी नरहरिनाथको इतिहास प्रकार, प्रेमचन्दका प्रसिद्ध पुस्तकहरू तथा विभिन्न हस्तलिखित पुस्तक र अभिलेख अभैm यहाँ सुरक्षित छन्।

यो पुस्तकालयले विभिन्न कालखण्डमा अनेक समस्यासँग जुध्नु पर्‍यो। कहिले पुस्तकालय व्यवस्थापन र सञ्चालनमा चरम अर्थिक अभाव झेल्नु पर्‍यो त कहिले भवन भत्किएर पुराना किताब जोगाउन हम्मेहम्मे पर्‍यो। २००८ सालमा आफ्नै संरचनामा उभिएको पुस्तकालयको भवन २०५३ सालको बर्खायाममा गल्र्यामगुर्लुम ढल्यो। यहाँका पुस्तक केही समय बोरामै थन्किए। केही समय महाबोधी बिहारमा लगेर किताबहरू संरक्षण गरियो।

सरकारी स्तरबाट स्थायी रूपमा कुनै पनि आर्थिक स्रोत नपाएको यो पुस्तकालय अभाव, अव्यवस्था र अव्यवस्थापनसँग जुधिरहन पर्‍यो। जग्गा, भवन, पुस्तक र पत्रपत्रिका जुटाउन निरन्तर खटिरहनपर्ने अवस्था अहिले पनि छ। धवल पुस्तकालय सञ्चालन समितिका अध्यक्ष युवराज पौड्यालका अनुसार सरकारी उपेक्षा, स्थानीयवासीको बेवास्ता र संरक्षण गर्ने मानिसको अभावमा २०५२ सालपछि एक दशक यो पुस्तकालय बन्दप्रायः रह्यो। पौड्याल भन्छन्, ‘युगान्तकारी परिवर्तन बोकेको धवल पुस्तकालय आफ्नै इतिहास अभिलेख गर्न जुटिरहेको छ। नेपाल पत्रकार महांसघको संस्थागत प्रयत्नमा पछिल्लो समय यसको मुहार फेर्ने कोसिस गरिएको छ।’

नारनथान नजिकैको आफ्नै भवनमा अहिले पुस्तकालय सुरक्षित छ। तर पूर्ण रूपमा व्यवस्थापन गर्न सकिएको छैन।

मुठीदान, अनुदान, अग्रज र दाताको सहयोगबाट स्थापित अक्षयकोषबाट अहिले पुस्तकालय बाँचिरहेको छ। यो पुस्तकालय सरकारी संयन्त्रको संरक्षणमा भने पर्न सकेको छैन। अध्यक्ष पौड्यालका अनुसार स्थानीय सरकारले पुस्तकालय सञ्चालनको जिम्मा लिएर समयअनुसार परिवर्तन र परिमार्जन गर्न जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.