कांग्रेस महाधिवेशन : बदलिएला त नेतृत्वको चित्र र चरित्र ?
पुरानै पात्रहरूको निरन्तरता र अनि त्यही प्रवृत्तिको अनुमोदन हुने हो भने महाधिवेशन हुनु नहुनुको खासै अर्थ राख्दैन। यसले कांग्रेसको जीवनमा कुनै उमंग र उर्जा भर्ने छैन।
आगामी महाधिवेशनको माहोलसँगै कांग्रेसको आन्तरिक जीवन यतिबेला तरंगित भएको छ। २०७७ को फागुनमा महाधिवेशन गर्ने क्यालेन्डर तय भएपछि सुस्ताएका कांग्रेसीहरू अलि तातिएका छन्। महाधिवेशनको तातो र तयारी हेर्दा सबैको चासो र चिन्ता नीति र अजेन्डा भन्दा पनि पदीय सुरक्षा र चुनावी अंकगणितमा देखिन्छ।
महाधिवेशन केका लागि भन्ने प्रश्न महत्वपूर्ण हो। यो महाधिवेशन कांग्रेसको जीवनमा एउटा नियमित निरन्तरता मात्र नहोस् भन्ने अपेक्षा कांग्रेसजन र कांग्रेसलाई भरोसा गर्ने आम मतदाताको हो यो। पुरानै पात्रहरूको निरन्तरता र अनि त्यही प्रवृत्तिको अनुमोदन हुने हो भने महाधिवेशन हुनु नहुनुको खासै अर्थ राख्दैन। खालि विधानको झारा टार्ने काम मात्र हुनेछ। यसले कांग्रेसको जीवनमा कुनै उमंग र उर्जा भर्ने छैन।
महाधिवेशनपछिको कांग्रेसको चित्र र चरित्र कस्तो होला ? सबैको चासोको प्रश्न यही हो। कांग्रेसको नेतृत्व संरचनाको चित्र र त्यहाँ रहने पात्रहरूको चरित्रमा आधारभूत रुपान्तरण आवश्यक छ। यो काम महाधिवेशनले गर्न सक्छ कि सक्दैन ? अबको बहस यसमै केन्द्रित हुनुपर्छ। यतिबेला कांग्रेस वृत्तमा विचार र एजेन्डाको बहस छैन। सबैलाई पदको पिरलो छ अनि लडाइँ पनि त्यसकै लागि छ। महाधिवेशनमा पात्रहरू कसले जित्लान्, कसले हार्लान्, त्यो त्यति महत्वपूर्ण होइन। तर कांग्रेसको जुन राजनीतिक मूल्य र आदर्श छ, त्यो नै पराजित हुने अवस्था नआवोस्। नागरिकस्तरबाट यतिखेर व्यक्त भएको सरोकार यो पनि हो।
२०७२ फागुनमा भएको कांग्रेसको तेह्रौं महाधिवेशनबाट निर्वाचित नेतृत्वको चारबर्से अवधि २०७६ को फागुनमा सकिएपछि एक वर्ष थपिएको हो। सात दसक लामो इतिहास भएको कांग्रेसको यो महाधिवेशन विशिष्ट परिवेशमा हुन लागेको छ। इतिहासमै कांग्रेसको भूमिका यति कमजोर कहिल्यै थिएन। केन्द्र, प्रदेश र स्थानीय तीनै तहको चुनावमा नमजासँग हारेर शिथिल र कमजोर विपक्षीको स्थानमा खुम्चिएको अवस्था छ। कांग्रेसप्रतिको आम आकर्षण र आस्था धरमराएको छ। न नेतृत्वसँग कुनै सोच र लक्ष्य छ न त कार्यकर्ता तहमा कुनै उत्साह र अनुशासन।
यो महाधिवेशन कांग्रेसको भविष्य र पुनर्जीवनका लागि नयाँ प्रस्थानविन्दु हुन सक्छ। तर त्यो साहस र सामर्थ्य महाधिवेशनमा कसरी प्रदर्शन हुन्छ, त्यो हेर्न बाँकी छ। अहिलेको दृश्यले शुभ संकेत दिएको छैन।
भागबन्डाको किचलो
महाधिवेशनको मुखमा आन्तरिक किचलो चर्किएको छ। चार वर्षसम्म ‘सहमति’ भन्दै खुम्चिएर बसेका सभापति शेरबहादुर देउवाले ‘काम चलाउ’भएपछि बहुमतको बुल्डोजर चलाउन थालेका छन्। महाधिवेशनको क्यालेन्डर सार्वजनिक भएपछि सभापतिले विभागलगायतका संरचनाको गठन र मनोनयनले आन्तरिक झगडा चर्काएको छ। महाधिवेशनलाई प्रभावित गर्ने गरी देउवाले आफूखुसी पद बाँडेको आरोप असन्तुष्ट पक्षले लगाएको छ। तर संस्थापन पक्षले भने असन्तुष्ट पक्ष सहमतिका लागि तयार नभएपछि गठन र मनोनयन गर्नुपरेको तर्क अघि सारेको छ।
सायद इतिहासमा यति 'कमजोर र सद्दे' प्रतिपक्ष कुनै सत्ताले भोग गर्न पाएको थिएन। पार्टीभित्रैबाट चर्को घेराबन्दी र असहयोग भोगेका ओलीलाई यतिबेला प्रतिपक्षको मौन र कमजोर भूमिका ठूलो राहत भएको छ। ओलीले जहिले बोलाउँदा पनि देउवा 'ज्ञानी' भएर खुरुखुरु बालुवाटार पुग्ने गरेका छन्।
आन्तरिक भागबन्डाको हिसाबकिताबमै अल्झिए देउवाका चार वर्ष।देउवाले न विरोधीलाई विचार र नीतिले पेलेर अघि बढ्न सके न त विरोधीलाई समेटेर सँगै हिडाउन सके। देउवाका प्रतिस्पर्धीका रुपमा आफूलाई प्रस्तुत गर्ने रामचन्द पौडेलले पनि अलग्गै भूमिका र प्रभाव देखाउन सकेनन्। देउवासँग भाग माग्ने र मिलाउने चक्करमै उनको उर्जा सकिएको छ।
पराजयबाट पाठ सिकेन
केन्द्र, प्रदेश र स्थानीय तीनै तहको निर्वाचनमा भोग्नुपरेको नमिठो पराजयबाट पाठ सिकेर कांग्रेस जसरी अघि बढ्नुपथ्र्यो। त्यो हुन सकेन। सत्ता बाहिर बसेपछि कांग्रेस सुध्रिन्छ, सच्चिन्छ कि भन्ने आम आसा थियो। तर त्यो गलत साबित भएको छ। चुनावी पराजयबाट पाठ सिकेर आफूलाई सच्चाउनेतिर कांग्रेसको नेतृत्व उदासिन देखियो। यथास्थितिमा रमाउने काम भयो।
बरु सत्ताको दाउ र भागबन्डाको किचलोमै बढी अल्झियो। यो बीचमा आन्तरिक व्यवस्थापन गरेर संगठन सुधार गर्ने र जनमतलाई तरंगित गर्ने सुनौलो अवसर थियो। त्यसतर्फ कांग्रेसको ध्यान गएको देखिएन। विपक्षीमा हुँदा पनि संगठन र आन्तरिक संरचनाहरू अस्तव्यस्त भए। भ्रातृ संस्थाहरू निष्क्रिय रहे। संघीय स्वरुपअनुसार कांग्रेसको पुनर्संरचना हुन सकेन।
पद्धतिभन्दा सधै पात्र हावी
कांग्रेस कहिल्यै पनि पद्धतिमा चल्न चाहेन। सधै केही पात्रहरू मात्रै हावी भए। कार्यकर्ताहरू पनि नीतिभन्दा नेताका पछि कुद्ने प्रवृत्ति बढ्यो। पद्धतिमा भन्दा पात्रहरूप्रति भरोसा र आकर्षण देखियो। पार्टी प्रणालीमा चलेको भए शायद यो हालत हुने थिएन। केही सिमित पात्रहरूको स्वार्थ र सनकमा कांग्रेस हिड्नुपर्ने र चल्नुपर्ने अवस्थाको अन्त्य नै अहिलेको चुनौती हो। राजनीतिक परिवर्तनको विशिष्ट परिस्थितिमा केही शीर्ष पात्रहरू जस्तै बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइरालाको प्रभाव र भूमिका हावी हुनु स्वभाविक थियो। तर अहिले त्यो अवस्था होइन।
कोइराला परिवारको विरासतलाई पराजित गरेर सभापति बनेका शभापति देउवाप्रति सुरुमा बेग्लै आकर्षण र अपेक्षा थियो। तर त्यो अनुसारको भूमिका र गति भएन। कांग्रेस झन् शिथिल भएको छ। सबै राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको सबैभन्दा जेठो राजनीतिक शक्ति कांग्रेसमा वैचारिक शून्यता नै चुनौती बनेको छ। पद, पैसा र पावरका पछि कांग्रेसीहरू कुँदेका छन्। एजेन्डा र विचारसँग कसैलाई परवाह छैन। यसपालि पनि महाधिवेशन पूर्वसन्ध्याले त्यही संकेत दिएको छ।
इतिहासमै कमजोर प्रतिपक्षी
कांग्रेसले स्वामित्व लिने एजेन्डा के हो त ? यो प्रश्नको जवाफ कांग्रेस नेतृत्वले दिनसक्ने अवस्था छैन। प्रमुख प्रतिपक्षीको हैसियतमा कांग्रेसले आफैले उठाएर जितेको वा स्थापित गरेको कुनै खास एजेन्डा छैन।
२००७ सालको क्रान्ति र त्यसपछिका हरेक राजनीतिक परिवर्तनमा अगुवाइ गरेको र नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस यतिबेला राजनीतिक मैदानमा भूमिकाबिहीन मात्र होइन, एजेन्डाबिहिन भएको छ। कांग्रेसको स्थान राष्ट्रिय राजनीतिमा यसरी कहिल्यै खुम्चिएको थिएन। कांग्रेसको आन्तरिक जीवनलाई तरंगित गर्ने कुनै अभियान वा कार्यक्रम पार्टीले अघि बढाउन सकेन। राष्ट्रिय राजनीतिमा हलचल ल्याउने एजेन्डा वा नारा पनि कांग्रेसले अघि सार्न सकेन। बजारमा आउने मुद्दा तथा प्रकरणमा सामेल भएर प्रतिपक्षको झारा टार्ने काम मात्र भयो।
सशक्त प्रतिपक्षी हुनुको अर्थ सरकारका हरेक कदम र कामलाई विरोधका लागि विरोध गरेर बबन्डर मच्चाउनुपर्छ अनि सडकमा रेलिङ र संसदमा कुर्सी नै भाँच्नुपर्छ भन्ने होइन। विगतमा प्रतिपक्षको यस्तो क्रान्तिकारी चित्र र चरित्र मुलुक देखेभोगेको हो। तर फेरि सालिन र जिम्मेबार प्रतिपक्ष हुनुको अर्थ सिन्को पनि नभाँच्ने लुते अनि मौनतामा रमाउने रमिते विपक्षी हुनु पनि होइन। अहिले कांग्रेस यस्तै भूमिकामा हिड्न खोजिरहेको छ। कमजोर र उदासिन प्रतिपक्ष लोकतन्त्रका लागि खतरा हो। यसै प्रसंगमा पटकपटक मन्त्री भएका एकजना कम्युनिस्ट नेताको टिप्पणी निकै घतलाग्दो छ। चिया गफमा उनले भनेका थिए, ‘यति ज्ञानी र असल प्रतिपक्ष इतिहासमा कसैले पाएका थिएनन्। ओली साच्चिकै भाग्यमानी रहेछन्।’
शायद इतिहासमा यति 'कमजोर र सद्दे' प्रतिपक्ष कुनै सत्ताले भोग गर्न पाएको थिएन। गजबको प्रतिपक्ष पाएर ओली दंग होलान् यतिबेला। ओलीले पछिल्ला कुनै पनि अभिव्यक्तिमा प्रतिपक्षलाई गाली गरेका छैनन्। बरु पार्टीभित्रैका प्रतिपक्षले उनलाई हैरान गरेका छन्। पार्टीभित्रैबाट चर्को घेराबन्दी र असहयोग भोगेका ओलीलाई यतिबेला प्रतिपक्षको मौन र कमजोर भूमिका ठूलो राहत भएको छ। पार्टी भित्रका विरोधीले दुःख दिदा ओलीले बेलाबेला देउवालाई बालुवाटार बोलाएर भलाकुसारी गर्ने गरेका छन्। ओलीले जहिले बोलाउँदा पनि देउवा 'ज्ञानी' भएर खुरुखुरु बालुवाटार पुग्ने गरेका छन्। बालुवाटारमा देउवाको उठबस् पार्टीभित्रै पनि बहसको विषय हुने गरेको छ।
सरकारले गर्ने विवादित निर्णय र गलत कदममा औपचारिक विरोधमा विज्ञप्ती निकाल्ने तथा बोल्ने गरे पनि सरकारलाई नै अप्ठ्यारो पार्ने गरी कांग्रेसले कुनै आन्दोलन तथा अभियान चलाएको छैन। दुई तिहाइको कम्युनिस्ट सरकार लोकप्रिय छैन। पार्टीभित्र कलह चर्किएको छ। थुप्रै कान्ड र कर्तुतहरू सडकमा आएका छन्। तीनलाई क्यास गरेर कांग्रेसले आफ्नो पक्षमा माहोल गर्माउने र जनमत बढाउने गजबको अवसर पनि छ। तर यो अवसरलाई कांग्रेसले खेर फालिरहेको छ। बरु 'सत्ताको सद्दे' बनेर सत्ताको थोरै हिस्सा हासिल गर्ने कोसिसमा छ कांग्रेस छ। भागबन्डाको त्यही लोभमा कांग्रेसको भूमिका अल्झिएको छ।
अन्त्यमा,
दुइटा कुराले कांग्रेसको महाधिवेशन महत्वपूर्ण हुनसक्छ। एउटा नेतृत्व परिवर्तन अर्को एजेन्डा र अभियानको घोषणा। 'वृद्ध पुस्ता'लाई सम्मानका साथ विदा गरेर अभिभावकीय भूमिका दिने अनि नेतृत्व नयाँ पुस्तालाई हस्तानान्तरण गर्ने काम यो महाधिवेशनले गर्न सक्यो भने त्यो कांग्रेसको जीवनमा एउटा क्रान्ति नै हुनेछ। महाधिवेशनबाट मुलुकलाई तरंगित गर्ने एजेन्डा र समाजमा हलचल ल्याउने अभियानको घोषण आवश्यक छ। किनभने कांग्रेसमाथि लागेको आम आरोप के हो भने उससँग न एजेन्डा छ न त कुनै अभियान।
सत्तासँगको निरन्तर संसर्ग र सधैभरीको पदीय झगडाले कांग्रेस वैचारिक शून्यतातिर उन्मुख देखिन्छ।महामानव बीपी कोइरालाको विचार र आदर्शले सिञ्चित भएको कांग्रेसमा यो अवस्था आउनु मुलुककै लागि पनि शुभ संकेत होइन।