न्यायमाथि अन्याय !
जहाँ न्यायको विनाश हुन्छ, त्यहाँ स्वतः शान्ति समाप्त हुन्छ, सरकार र नेतालाई सोध्न मन लाग्छ- के देशमा शान्ति छ ?
महात्मा गान्धीले भनेका छन्, ‘सत्यको खोजीले यथार्थलाई कहिल्यै भत्काउँदैन-जुन सत्यले तथ्यमा उभिएको छ।’ नेपालमा अहिले न्यायको हुर्मत काढिएको छ भन्ने यथार्थ तथ्य हो, त्यसैले त्यो सत्य पनि हो। जसरी प्राणीका शरीरमा किर्ना, उपियाँ, जुम्रा, जुका, ढुसी लाग्छन् अहिले नेपालमा न्यायको शरीर पनि यस्तै परजीवीबाट भरिएको छ। यस्ता परजीवीबाट आक्रान्त मानिसको शरीर रोगी हुन्छ। नेपालको न्यायपालिका पनि रोगी भएको छ। जब न्यायपालिका रोगी हुन्छ, लोकतन्त्र, सुशासन र मानिसका स्वतन्त्रता धरापमा पर्छन्। न्यायपालिका कमजोर भएपछि ‘समन्यायको’ बध हुन्छ। निरंकुशताको बादल मडारिन्छ। राजनीतिक नेतृत्व ‘राजनीतिक देहव्यापारमा’ परिणत हुन्छ। पार्क चुङ हीको दक्षिण कोरिया, सुहार्तोको इन्डोनेसिया, पिनेचोको चिली, सद्दाम हुसेनको इराक, निकोलाई चचस्कुको रोमानिया न्यायपालिकाको वस्त्रहरण गर्ने सत्ता थिए- इतिहासले प्रमाणित गरेका तथ्य हुन् यी।
म्याक्सवेल एन्डरसनले कवितात्मक भावमा न्यायको विवरण लेख्दै भनेका थिए, ‘जेलाई मानिस न्याय भन्छन्, त्यो त ‘अन्धो साँप’ जस्तै हो। यस साँपले मानिसलाई ठुंग्छ, जब त्यसलाई कसैले कुल्चिन्छन् विनाभय ठुंग्छ त्यसले, त्यसपछि के होला भन्ने एक रति ख्याल गर्दैन। त्यसले मानिसलाई पछार्छ, त्यो जतिसुकै बलियो किन होस्, त्यसपछि चुपचाप कतै जान्छ।’ खोइ त्यो अन्धो सापजस्तो न्याय नेपालमा कहाँ छ ?त्यो अन्धो साँपलाई खोजीखोजी दुलाबाट निकालेर चिम्टाले चेपेर, तातो कोइला हालेर, टाउकामा कुल्चिएर मार्ने खेल भइरहेको छ। घुस खाने न्यायाधीश, पैसा तिरेर धन कमाउन न्यायाधीश बनेका वकिल, राजनीति संरक्षण गर्न गएका कार्यकर्ता, भागबन्डामा न्यायाधीशको पद प्राप्त गरेका भान्जा, भतिजा, भाइ, ज्वाइँ, भान्जी, छोरी, भतिजी वकिल, रमैले र मजस्ताले भोट दिएका बारका प्रतिनिधि, मुद्दा सेटिङ गर्ने बिचौलिया, दलाली गर्ने वकिल, आफ्नो पक्षका जितका लािग झूटो बोल्ने वकिल र देश चलाउने नेता मिलेर एन्डरसनले भनेको त्यो अन्धो साँप घाइते पारिएको छ।
मनभित्र पाप नभएका, अन्धो साँपको पूजा गर्ने, त्यसलाई दूध खुवाउने, त्यसको बगैंचामा डढेलो नलगाउने, त्यो साँप सधैं बाँचोस् भनी कामना गर्ने खालका इजलासमा बसेका न्यायाधीश, नैतिकताका पक्षधर गर्ने वकिल, राजनीतिलाई सभ्यता ठान्ने नेता सबै मूकदर्शक बनेर डिलमा उभिएर अन्धो साँपको हत्या गर्ने प्रयासका रमिता हेरेर मन खिन्न पारेर उभिइरहेका छन्। त्यो साँपको रक्षा गर्न नियुक्त गरेको रक्षक ‘बार’ ले साँपको हत्या गर्न साँप बस्ने पार्कमा आगो लगाउँदा टुँसीमा उभिएर सिटी बजाउने काम मात्र गरिरहेको छ, बचाउने प्रयास गरेन।
त्यो साँपलाई न्यायपरिषद्मा लगरे पहिला चुटियो। त्यसपछि संसद्को सुनुवाइ समितिमा लगेर मर्णान्त पारियो। त्यसलाई सुनुवाइका घरमा मर्णान्त गर्दा नेताहरू मुस्कुराइरहे। लौ खा ! तैं होइनस् मलाई ठुंग्ने साँप ! आखिर त्यस साँपलाई बध गरेर के पाउनु हुन्छ ? सन् १९७० को दशकमा मलेसियाको न्यायपालिकालाई यसै गरिएको थियो। त्यसपछि मलेसियामा ‘स्वतन्त्रता’ नामको वस्तु नै गायब भयो। बेलायतको राजनीति र अर्थतन्त्र जर्जर छ, तर पनि स्वतन्त्रता जिउँदो छ किनकि त्यहाँ न्यायपालिका अहिले पनि स्वतन्त्र छ। भारतमा लोकतन्त्रका नाममा त्यहाँको राजनीति अपराधतन्त्रमा परिणत भएको छ। ४१ प्रतिशत सांसद र सभासद् एकभन्दा बढी गम्भीर अपराधका दोषी मानिस छन्, तर पनि भारतीय न्यायपालिकामा योग्य, विवेकशील र अन्धो साँपको हत्या हुन नदिने मानिसको संख्या अधिक छ। त्यसैले भारतमा निरंकुशता ‘स्पेनका गल्लीमा कुँदेको साँढेजस्तो कुद्ने आँट गर्दैन।’
जब न्यायमा घात हुन्छ, समाजमा अन्याय हुन्छ। तर जब मानिसमा अन्यायको पीडा पराकाष्ठा हुन्छ, तब मानिसले बगावत गर्छन्। त्यसैले बेन्जामिन फ्र्यांक्लिनले भनेका छन्, ‘जब अन्यायबाट प्रभावित नभएका पनि प्रभावित हुन्छन्, तब वगावत जन्मिन्छ।’ जब हिटलरले कम्युनिस्टहरूको हत्या गर्न थाल्यो, धनसम्पत्तिले सम्पन्न यहुदीहरूले पनि ताली पिटे। तर चाँडै यहुदीको पालो आयो। गैरनाजीवादी तथा अन्य प्रजातन्त्रवादी यहुदीको विनाश गर्दा चुपचाप मूकदर्शक बनेर बसे। जब उनीहरूलाई लिन गेस्टापो आयो, उनीहरूले वरिपरि हेरे तर बोल्ने मानिस कोही बाँकी नै थिएनन्। आदरणीय नेताज्यूहरू, जब राज्ञा ज्ञानेन्द्रबाट शाही आयोग गठन भयो, संकटकाल लाग्यो। नेताहरू थुनिए, त्यसबेला अदालतले भन्यो, ‘राजालाई संविधान निलम्बन गर्ने हक छैन। जनता सार्वभौम छन्।’ फेरि ती दिन आउँदैनन् भन्ने लाग्या हो भने गल्ती गर्दै हुनुहुन्छ।
अब पनि न्याय र न्यायालय जोगाउन इमानदार वकिल, न्यायाधीश, पत्रकार, नेता र नागरिक अगुवाले आवाज एकत्रित गरेनन् भने नेपाली समाजमा अन्धो साँप मार्ने व्याधाहरूले बगैंचामा निर्बाध शासन गर्ने छन् र मन्दिरमा राक्षसको मूर्तिपूजा हुने समयको सूत्रपात हुनेछ।
खुद तपाईंहरू त्यो दिन ल्याउन व्यग्र हुनुहुन्छ, किन ?अब फेरि त्यो दिन आयो भने तपाईंहरूले छानेकै मासिनले तपाईंलाई हत्कडी लगाउने छन्। ख्याल गर्नुहोस्। हिजो त्यस्ता मानिसलाई त्यहाँ लैजाँदा लिएका पैसाले स्वयं तपाईंको स्वतन्त्रता डढाउने छन्। सुनुवाइ समितिमा सुनुवाइ गर्ने माननीयज्यूहरू ‘तपाईंहरूले किन छानबिन गर्नुभएन ?’ के तपाईंहरू पनि ‘अन्धो साँप’ मार्ने काममा संलग्न हुनुभएको थियो ?तपाईंहरूका अन्तस्करणमा लाग्दैन- तपाईंहरू लामो समयदेखि पाप गर्दै आउनुभएको छ ?मैले न्यायाधीशका गुणहरू कस्ता हुनुपर्छ भन्ने व्याख्यासहित सुनुवाइ समितिमा लिखित व्यहोरा हालेको थिएँ। तर मलाई उभिएर कुरा राख्ने अवसरबाट समेत वञ्चित गर्नुभयो। मलाई बोल्ने अवसरबाट वञ्चित गर्नुभयो। ‘तपाईंको उजुरीमा कसैको नाम लेखेको रहेनछ’ भन्नुभयो। सायद तपाईंहरूलाई डर थियो- अन्धो साँप मार्ने तपाईंहरूप्रति मेरो भनाइ लक्ष्यित छन् भन्ने लागेर।
एउटा कुरा बुझ्नुहोस्। एकजना प्रसिद्ध विद्वान्को अर्ती मान्नुहोस्। रेनहोल्ड नेबुर नामका ती विद्वान् लेख्छन्, ‘मानिसको न्याय गर्ने क्षमताले लोकतन्त्रको मर्मलाई व्यवहारमा रूपान्तरण गर्छ।’ के तपाईंहरूलाई लाग्छ- तपाईंहरूले ध्वस्त पारेको न्यायपालिकाले न्याय गरिरहेको छ ?छैन, र यदि त्यसो हो भने तपाईंहरूको यात्रा अन्धकारतर्फ मोडिएको छ। सैयद मुहमद नाकिव नामका स्लामिक दर्शनशास्त्री भन्छन्, ‘जब न्यायको अन्त्य हुन्छ, त्यहाँबाटै अन्यायको यात्रा सुरु हुन्छ।’ त्यो भनेको स्वतन्त्रताका लागि अर्को विद्रोह हो। त्यो विद्रोहको परिणाम, इतिहासप्रति प्रतिकार हो। च्याङ काई सेक, पोलपोट, पिनोचे, सुहार्तो सबैको हविगत अन्त्यमा के भयो ?तपाईंहरू ठूलाठूला पार्टीका नेता हुनुहुन्छ। आफ्ना स्वार्थका लािग न्यायपालिका ध्वस्त पार्नुभयो। तपाईंहरू विभिन्न दरबारमा हुनुहुन्छ। आम जनता तपाईहरूलाई धिक्कार्छन्। तपाईंहरू कोठाभित्र हुनुहुन्छ। तपाईंहरूकहाँ सल्लाह दिन असल मानिस आइपुग्दैनन्। पद र औकात माग्ने मात्र आइपुग्छन्। तर तपाईंले जसलाई न्यायालय जिम्मा लगाउनुभयो तिनीहरू तपाईंकै स्वतन्त्रताका चुनौती बन्नेछन् एक दिन। किनभने अयोग्य र कमजोरले बाँच्न दुलो खोज्छ, बचाउन विवेकको हतियार खोज्दैन। ऊ त ढाडिइसकेको हुन्छ, त्यसैले उसको विवेक बोसोमा परिणत भइसकेको हुन्छ।
जतिबेला हिटलर सत्तामा थियो, उसका मानिसहरू हिटलरका नाममा अपराध गर्थे। जब हिटलरको सत्ता ध्वस्त भयो, उसका न्यायाधीशलाई पनि ‘अन्तर्राष्ट्रिय ट्रिबुनलमा खडा गरियो। त्यतिबेला उनीहरू भनिरहेका थिए- सबै अपराध उनीहरूले हिटलरको आदेशमा गरेका थिए।’ यथार्थमा यी मानिस हिटलरको चाकरी गरेर न्यायाधीश भएका थिए। अमेरिकी वर्तमान प्रधानन्यायाधीशको सिनेटमा सुनुवाइ भइरहेको थियो। उनलाई ‘बेडको मुद्दामा’ भएका सर्वोच्च अदालतको फैसलाप्रति आफ्नो दृष्टिकोण राख्न सिनेटरहरूले दबाब दिए। ‘म एउटा कुनै फैसलामा आफ्नो कानुनी दृष्टिकोण राखेर प्रधानन्यायाधीश हुन चाहन्न’ भनी उनले जवाफ दिए। उनले भने, ‘दृष्टिकोण र अवधारणाको धरौटी राखेर न्यायाधीश हुन चाहन्न।’ न्याय गर्ने नैतिकतामा बाँच्ने गर्छ।
उनको भनाइको तात्पर्य थियो- जब कुनै वकिल मागेर न्यायाधीश हुन्छ, त्यसले न्याय गर्दैन। त्यसले राज्यका अवैधानिक कार्यलाई वैधानिक बनाउने काम मात्र गर्छ। न्यायाधीशको नियुक्ति राज्यले न्यायमा नवीनतम अवधारणा स्थापित गर्न गर्छ र त्यसका लागि उसले सामाजिक न्याय र समाजको अभियन्त्रण गर्ने वकिलको खोजी गर्छ। राज्यको नेतृत्व राजनीतिक नेताले गर्छन्। त्यसैले अन्ततः अन्यायको दोष नेताहरूले नै बोक्नुपर्छ। नेपालमा भइरहेका अदालतले गरेका गलत फैसला, अदालतमा हुने गरेको अपकार्य र न्यायको गला रेट्ने कार्यको जवाफदेहिता दुइटा ठूला दलका नेताहरूले जिम्मा लिनुपर्छ। निर्मला पन्तको हत्या, कोइरालापत्नीको हत्या, सडकमा गाडीले किचिएका मानिसको ज्यान, रुकुममा मारिएका निर्धाहरूले न्याय नपाउने कुराको दोष नेताहरूले लिनुपर्छ। जब मानिसले न्यायाधीशको पदको खोजी गर्छ, उसले ‘ठाँटबाट वा घुस’ को खोजी गरिरहेको छ भनेर स्वतः बुझ्न सकिन्छ। त्यो वकिल जो न्यायको पक्षमा हुन्छ, उसले न्यायाधीशको पद माग्दैन। जसले न्यायाधीशको पद मागेर खान्छ, उसले न्याय गर्दैन।
विपक्षी दलका नेता, प्रधानमन्त्री, सत्ताधारी दलका अध्यक्ष, वरिष्ठ नेताहरूलाई मेरो प्रश्न, ‘कतिजना वकिललाई न्याय गर्ने मानिसको आवश्यकता पूर्ति हुन्छ भनेर न्यायाधीश बनाउनुभयो ? ’ कतिजना वकिल न्यायाधीशको जागिर माग्न आएर न्यायाधीश बनाउनुभयो ? तपाईंहरूले जागिर दिएका न्यायाधीशले गरेका गलत फैसला जसले माफिया जागेका छन्, गरिब मरेका छन्, राष्ट्रको बेहित भएको छ र कालाबजारीको हित गरेका छन्, तिनीहरूको जिम्मा वा जवाफदेहिता तपाईंहरूले नलिए कसले लिन्छ ? त्यसैले अब न्यायका पक्षमा उभिने कानुन व्यवसायी, प्राध्यापक, कानुन र सामाजिक विज्ञानका विद्यार्थी, जीवनका कठिनाइ खपेर निर्भीक न्याय गरिरहेका शुद्ध न्यायाधीश र कानुन र न्यायका क्षेत्रमा लागेको निष्ठावान् कर्मचारीहरू, समाजले आदर्श ठानेका पूर्वन्यायाधीशहरू, इमानदार, विचारशील एवं देशभक्त युवा राजनीतिक नेताहरूले बोल्नुपर्ने बेला आइसकेको छ।
उनीहरूले अब अन्धो साँपलाई दुलाबाट निकालेर मार्दा डिलमा बसेका मूकदर्शक जस्ता मानिस बन्नु पनि अपराध हुन जानेछ। त्यसैले सोधौं- आज देशमा न्यायपालिकाप्रतिको अनास्था र न्यायको कन्तविजोगप्रति संसद्को सुनुवाइ समितिको जवाफदेहिता हुनुपर्छ वा पर्दैन ? न्यायपरिषद्मा कार्यकर्ता नियुक्त गर्ने नेताहरूको जवाफदेहिता हुनुपर्छ वा पर्दैन ? छोराछोरी, मीतमितिनी, भान्जाभान्जी, सुसारे आदि पजनीमा न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषद्का सदस्यहरूको जवाफदेहिता हुनुपर्छ वा पर्दैन ? अब अनुसन्धानबाट तथ्य खोज्ने र सत्यको स्थापित गर्ने बेला भइसक्यो।
किन ? किन न्यायप्रति यति धेरै संवेदनशीलताको ख्याल गर्नुपर्ने हुन्छ ?माथि नै भनिसकें- संरचनामा न्याय अन्धो साँपजस्तै कमजोर हुन्छ। त्यसले थाहा नै पाउँदैन, उसकै संरक्षक न्यायाधीश र वकिलले त्यसको कतिबेला हत्या गर्ने हुन्। अरू पनि महत्वपूर्ण कारण छन्। मानिसको स्वतन्त्रता मात्र होइन, मानिसको समृद्धि पनि न्यायसँगै जोडिएको हुन्छ। फ्रेडरिक डगलस नामका अमेरिकी लेखकले भनेका छन्, ‘अमेरिकी जनताले के जान्नुपर्छ भने जब न्याय मर्छ, गरिबी बढ्छ। जब न्याय मर्छ, त्यहाँ षड्यन्त्र र परिपञ्चले समाजको परिवर्तनलाई निर्देशित गर्छ, त्यहाँ डकैती हुन्छ, स्वतन्त्रता लुटिन्छ, मानिसको जीवन जोखिममा पर्छ।’ के हामीले हिँडिरहेको यात्रा यही होइन ?असारे बजेट सक्न केके भइरहेका छन् हामीले देखेका छैनौं ?के हामीलाई विश्वास छ- कसैको हत्या गर्नेलाई सफाइ दिँदा नेता र न्यायाधीशको सल्लाह हुँदैन ?के निर्दोष गरिबलाई विश्वास छ- उसलाई अदालतले सफाइ दिन्छ ?के जनतालाई भरोसा छ- एउटा वकिलले न्यायका लागि काम गर्छ ?वा उसले आफ्नो पक्षको जितका लागि सत्यको प्रमाण नष्ट गर्दैन ?हामी अन्यायको दलदलमा डुब्ने प्रतीक्षामा उभिएका छौं।
रोजा पाक्र्सले न्यायालयको धर्मप्रति इंगित गर्दै भनेका थिए, ‘म आफूलाई त्यस्तो मानिस बनाउन चाहन्छु, जो अरूको स्वतन्त्रता र समानता, न्याय र समृद्धिप्रति सरोकारबद्ध रहन सक्छ।’ माननीय न्यायाधीशज्यूहरू के न्यायपालिकाबाट यो अपेक्षा राख्न सकिन्छ ?के म बारसमक्ष यो अपेक्षा राख्न सक्छु ? हाम्रो शिर निहुरेको छ। नैतिकताको धरातल विस्तृत र फराकिलो छ। त्यसले न्यायको खोजीमा आफूलाई क्रियाशील राख्छ। न्यायलाई बिर्सने अनैतिक मानिस हो। अनैतिक न्यायाधीशले अपराध संरक्षणका लागि किल्ला निर्माण गर्छ। त्यसैले मार्टिन लुथरा किङले भनेका छन्, ‘शान्तिको आभास तनावको अन्त्यले होइन, न्यायको उपस्थितिले मात्र निर्माण गर्छ।’ अर्थात् जहाँ न्यायको विनाश हुन्छ, त्यहाँ स्वतः शान्ति पनि समाप्त हुन्छ। त्यसैले सरकार र राजनीतिक दलका नेतालाई सोध्न मन लाग्छ- के देशमा शान्ति छ ? त्यसबेला जतिबेला मार्टिन लुथर न्याय खोजिरहेका थिए, अमेरिकामा मानिस होइन, ‘काला र गोरा मानिस थिए।’ त्यसविरुद्ध उनले आवाज बोले। उनले भने, ‘जब न्यायको विनाश हुन्छ एउटा त्यस्तो बोल्नैपर्ने खास क्षण प्रकट हुन्छ, त्यतिबेला मानिसले बोल्नुपर्छ।’ नेपालमा पनि न्याय र न्यायपालिकाको सुदृढीकरणका लागि बोल्नुपर्ने समय आइसक्यो।
धेरै कानुन व्यवसायी मित्रहरू भन्नुहुन्छ- पेसी व्यवस्थापन भएपछि, अदालत नियमित भएपछि, घुस रोकिएपछि न्याय फेरि ‘कुरिलाको डुकु झैं पलाउँछ।’ होइन त्यसरी पलाउँदैन। चाल्र्स डिकेन्सले भनेका छन्, ‘जबसम्म अन्याय बुझ्ने निर्दोष बालकजस्तो न्यायाधीश इजलासमा हुँदैन, न्यायको डुकु पलाउँदैन। संसारमा जबसम्म कर्मठहरू अकर्मण्य रहिरहे, बेसरोकारवाला सरोकारवालामा परिणत भएनन्, आवाजहीनहरूले आवाज निकालेनन्, न्यायमाथि दुष्टहरूको जित कायम रह्यो।’ नेपालमा हामी त्यसै विन्दुमा आइसकेका छौं। अब पनि न्याय र न्यायालय जोगाउन इमानदार वकिल, न्यायाधीश, पत्रकार, नेताहरू र नागरिक अगुवाले आवाज एकत्रित गरेनन् भने नेपाली समाजमा अन्धो साँप मार्ने व्याधाहरूले बगैंचामा निर्बाध शासन गर्ने छन् र मन्दिरमा राक्षसको मूर्तिपूजा हुने समयको सूत्रपात हुनेछ।