चितुवाको छाला र चोरीको मोटरसाइकलसहित सात जना पक्राउ
भक्तपुर : भक्तपुर प्रहरीले प्रतिबन्धित चितुवाको छाला र एउटा चोरीको मोटरसाइकलसहित सातजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले जिल्लाको चाँगुनारायण नगरपालिका ८ सुडालबाट चार र सूर्यविनायक नपा ८ सिपाडोलको दार्जिलिङ हाइटबाट तीन गरी सातजनालाई नियन्त्रणमा लिएको हो।
स्थानीयको विशेष सूचनाको आधारमा प्रहरीले उक्त समूहलाई नियन्त्रणमा लिन सफल भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले सुडालस्थित सुरेश कार्कीको घरमा डेराकोठा गरी बस्ने मानिसहरुले जंगली जनावरको छालालगायतका चिजवस्तु अवैध रुपमा राखी खरिद बिक्री तथा ओसारपसार गर्ने गरेका छन् भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सुरुमा चारजनालाई नियन्त्रणमा लिएको जानकारी दिए।
परिसर र महानगरीय प्रहरी अपराध महाशाखा भक्तपुरको संयुक्त अनुसन्धान अधिकृतसहितको टोलीले रामेछापको सुनापाती गाउँपालिका ५ घर भई हाल सुडाल बस्ने १९ वर्षीय कुमार लामा, १७ वर्षीय फुसाङ तामाङ, १८ वर्षीय हिमाल लामा र २१ वर्षीय पासाङ तामाङलाई नियन्त्रणमा लिएको थियो। उक्त टोलीले निजहरुको कोठा खानतलासी गर्दा कालोमा खैरो र सेतो रंगको पाटे चितुवाको सुख्खा छाला एक थान बरामद भएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।
नियन्त्रणमा लिएका चारजनासँग प्रारम्भिक सोधपुछ गर्दा दिएको बयानको आधारमा प्रहरीले सिपाडोलस्थित दार्जिलिङ हाइटबाट थप तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका ९ घर भएका २२ वर्षीय सञ्जीव सिंजाली मगर, काभ्रेपलाञ्चोकको रोशी गापा १० घर भएका २४ वर्षीय दीपेश तामाङ र काभ्रेकै रोशी गापा ५ घर भएका २३ वर्षीय मिलन मगरलाई पक्राउ गरेको हो। उनीहरु तीनैजना हाल सिपाडोलको दार्जिलिङमा बस्दै आएका छन्।
चितुवाको छाला ओसारपसार तथा बेचबिखनमा संलग्न भएको बयानको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको भक्तपुर प्रहरीले जनाएको छ।
खानतलासीकै क्रममा निजहरुले प्रयोग गरेको बा ९० प ६५१० नम्बर २२० सीसीको पल्सर मोटरसाइकलसमेत फेला परेको परिसरका प्रहरी नायब उपरीक्षक गिरी बताउँछन्। जुन मोटरसाइकल चोरीको भएको खुल्न आएको छ। परिसरका अनुसार उक्त मोटरसाइकल भक्तपुर नपा ९ का प्रजु सुवालको चोरी गरी लगिएको थियो।
प्रहरीले डेरा कोठामा शंकास्पद रुपमा राखिएको मोटरसाइकलका विभिन्न चार थान नम्बर प्लेट, एकथान मोटरसाइकलको लक, नौ थान मोबाइल फोन सेट, बा ९० प ६५१० नम्बरको सवारी दर्ता किताब र दुइटा सवारी चालक अनुमतिपत्रसमेत बरामद गरेको छ। थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएका सातैजनालाई डिभिजन वन कार्यालय भक्तपुर पठाइने जनाएको छ।