सीमामा कडाई गर्न ‘रिजर्भ गण’
महोत्तरी : कोरोनाको महामारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले ‘रिजर्भ गण’को अवधारण ल्याइएको छ। नेपाल–भारत सीमा खुकुलो भएपछि प्रदेश–२ मा कोरोना संक्रमण फैलिएको छ। हालसम्म प्रदेश २ मा कोरोना संक्रमणले ३१ जनाको मृत्यु भएको समाजिक विकास मन्त्रालयले जनाएको छ। ६ हजार ६८ जना संक्रमित भएका छन्।
सीमा नाकाको सुरक्षालाई चुस्त बनाउन, हुलदंगा नियन्त्रण गर्न, विपद्मा राहत तथा उद्धार लगायतका कार्य प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ‘रिर्जभ गण’को रणनीति अघि सारेको हो। प्रदेश–२ को दुई स्थानमा एसपीको नेतृत्वमा रिर्जभ गण कार्यान्वयनमा ल्याइएको हो। सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिबास महोत्तरीको मातहत एउटा र अर्को बाराको पिलुवास्थित भद्रकाली गणमा सो गण स्थापना गरिएको छ।
रिजर्भ गणका जनशक्तिलाई हाल सीमा सुरक्षामा खटाइने सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिबास महोत्तरीका डीआईजी कृष्णभक्त ब्रम्हचार्यले जनाए। लगातार पाँच महिनादेखि सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मध्यनजर गरेर शसस्त्र प्रहरीले ‘रेष्ट एण्ड रिलिफ’को अवधारणा पनि कार्यान्वयनमा ल्याइएको उनले बताए।
ड्युटीमा खटिएका थकित सुरक्षाकर्मीलाई आराम गर्न समय दिने र सो ठाउँमा नयाँ प्रहरी जवानलाई सीमामा खटाउने रणनीति नै ‘रेष्ट एण्ड रिलिफ’ को अवधारणा हो।‘पहिले लक्षणबिनाको कोरोना संक्रमण थियो तर अहिले लक्षण देखिएको छ’, उनले भने,‘सीमाबाट अवैधानिक रुपमा हुने आउजाउमा कडाई गरेका छौं।’भारतबाट आउनेको व्यवस्थापन सही ढङ्गबाट नहुँदा कोरोना फैलिएको उनको दावी छ।‘भारतबाट आउनेलाई हामीले स्थानीय तहको जिम्मा लगाएर पठायौं। क्वारेन्टाइनमा राख्छौं भनेर स्थानीय तहले सीमाबाट गाउँ लगे। तर, उहाँहरुलाई होमक्वारेन्टाइनमा राखियो। भारतबाट आउनेले होमक्वारेन्टाइनको महत्व नै बुझेनन्, जहाँ डाक्टरको उपस्थिति र निगरानी पनि भएन।’
प्रदेश २ का नाकाबाट ३६ हजार ३ सय ५८ जना वैधानिक तरिकाले नेपाल प्रवेश गरेका छन्। उनीहरु कहाँ कहाँ छन् त्यसको ठेगान छैन। प्रदेश–२ का ८ वटै जिल्ला सीमासँग जोडिएको छ। प्रदेशभरि ४ सय ६४ किलोमिटरको नेपाली भू–भाग भारतसंग जोडिएको छ। आठ जिल्लाबाट भारत प्रवेश गर्ने २ सय ४६ ठूला—साना सीमा नाका छन्। सीमाबाट हुने आवत जाबत बन्द गर्न अहिले ५३ स्थानमा बोर्डर आउट पोस्ट छ। सबै नाका, गल्लीमा सुरक्षाकर्मी रातदिन पहरा दिइरहेका छन्।