प्रहरीभित्र कोरोना फैलिँदै

प्रहरीभित्र कोरोना फैलिँदै

जनकपुरधाम : प्रदेश २ मा प्रहरी संगठनभित्र कोरोनाको जोखिम बढ्दै छ। सातवटै प्रदेशमध्ये यो प्रदेश उच्च जोखिममा छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका ब्यारेकभित्र कोरोना संक्रमण बढेको हो। लकडाउन कार्यान्वयन र अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरी, गाउँदेखि सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी र कोरोनाबाट संक्रमित शव व्यवस्थापनमा खटिएका नेपाली सेना र उनीहरूको सम्पर्कमा आएका अरूलाई कोरोना संक्रमण देखिएको हो।

प्रदेश २ को मध्यपूर्वी पृतनाका पृतनापतिसहित नेपाली सेनाको संगठनभित्र १५ जना, नेपाल प्रहरीको संगठनभित्र इन्स्पेक्टरलगायत ९२ जना र सशस्त्र प्रहरीको संगठनभित्र डीएसपीसहित २२ जना कोरोना संक्रमित भएको स्रोतले जनाएको छ। प्रदेश २ कोरोना संक्रमणबाट हालसम्म ३३ जनाको मृत्यु भएको जनस्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक विजयकुमार झाले बताए।

सेना ब्यारेकमा कोरोना

महोत्तरीको सदरमुकाम जलेश्वरस्थित नेपाली सेनाको ब्यारेकभित्र कोरोना संक्रमण फैलिएको छ। रणभीम गण पर्कौली ब्यारेकका १५ जना सैनिकमा कोरोना संक्रमण भेटिएको महोत्तरीका सीडीओ कृष्णबहादुर कटुवालले जनाए। स्रोतका अनुसार क्याप्टेनसहित १५ जना संक्रमित भएका छन्। यसअघि आठ जना सैनिक संक्रमित भएका थिए। जलेश्वरमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थान गर्न खटिएका सेनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी तथा कोभिड फोकल पर्सन गिरेन्द्रकुमार झाका अनुसार केही दिन पहिले नगरपालिकाको कार्यालयमा कार्यरत एक जना ओभरसियरमा कोरोना पुष्टि भएको थियो। विराटनगरमा ती कर्मचारीले कोराना जाँच गराउँदा संक्रमण भेटिएपछि उनले आफ्नो कार्यालयमा जानकारी गराएका थिए। उनको कन्ट्याक्ट टे«सिङ आएका सहितका ५३ जनाको कोरोना परीक्षण गर्दा नेपाली सेनासहित ३० जनामा संक्रमण भेटिएको थियो।

कोरोनाले अनुसन्धान प्रभावित

प्रदेश २ मा कार्यरत ९२ जना नेपाल प्रहरीमा हालसम्म कोरोना संक्रमण देखिएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता अंशु सिंहले जनाएअनुसार ३९ जना कोरोना जितेर अस्पतालबाट फर्किएका छन् भने ५३ जना अझै कोरोना अस्पतालको आइसोलेनसनमा उपचार गराइरहेका छन्। तालिमे प्रहरी, प्रशिक्षक प्रहरी हबलदार तथा इन्स्पेक्टरसम्मलाई कोरोना लागेको हो। थुनुवामा कोरोना भेटिएपछि प्रहरी कार्यालय नै सिल गर्नु परेको अवस्था छ। प्रहरीलाई कोरोनो लागेपछि अपराध अनुसन्धान प्रभावित बनेको छ।

साउन ५ गते वीरगन्जस्थित श्रीपुरबाट लागूऔषधसहित पाँच जना भारतीय पनि पक्राउ परे। उनीहरूमाथि मुद्दा चलाइयो। अदालतमा पेस गर्न जाँच गर्दा तिनीहरूमा संक्रमण देखियो। त्यसपछि श्रीपुर वडा प्रहरी कार्यालयलाई सिल गरियो। प्रहरी तालिम केन्द्र सप्तरीमा पनि कोरोना संक्रमण देखिएको छ। केही दिनपहिले धनुषास्थित जिल्लाा प्रहरी कार्यालयका प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भयो। धनुषामा ब्यारेक सिल गरियो भने राजविराजमा केन्द्र। कोरोनाको जोखिम बढ्दै गएपछि अपराध अनुसन्धान गर्न कठिन बन्दै गएको प्रदेश प्रहरी कार्यालयका डीआईजी धीरजप्रताप सिंहले बताए।

सीमा कडाइ गर्न ‘रिजर्भ गण’

सशस्त्र प्रहरी बल नेपाल प्रदेश २ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिबास महोत्तरीका अनुसार प्रदेशभरि कार्यरत २२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। सशस्त्र प्रहरी संगठनभित्र प्रहरी जवानदेखि डीएसपीसम्मलाई कोरोना पुष्टि भएको छ। नेपाल–भारत सीमा खुकुलो भएपछि प्रदेश २ मा कोरोना संक्रमण फैलिएको हो।

कोरोनाको महामारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले एसपीको नेतृत्वमा ‘रिजर्भ गण’ को अवधारणा ल्याएको छ। सीमा नाकाको सुरक्षालाई चुस्त बनाउन, हुलदंगा नियन्त्रण गर्न, विपद्मा राहत तथा उद्धारलगायतका कार्य प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ‘रिजर्भ गण’ को रणनीति अघि सारेको हो।

बर्दिबास एसपी सुरेन्द्र बुढाथोकीको नेतृत्वमा छिन्नमस्ता बाहिनी कार्यालयमा र बाराका एसपी मनोज थापाको नेतृत्वमा पिलुवास्थित भद्रकाली गण गरी दुई ‘रिजर्भ गण’को स्थापना गरिएको छ। दुवै गणमा ६२१ –६२१ जना जनशक्ति छन्। रिजर्भ गणका जनशक्तिलाई हाललाई सीमा सुरक्षामा खटाइने छिन्नमस्ता बाहिनी कार्यालय बर्दिबास महोत्तरीका डीआईजी कृष्णभक्त  व्रह्मचार्य जनाए।

त्यसैगरी लगातार पाँच महिनादेखि सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आराम गर्न दिने गरी सशस्त्र प्रहरीले ‘रेस्ट एन्ड रिलिफ’ को अवधारणा पनि ल्याएको छ। प्र्रदेश २ का नाकाहरूबाट ३६ हजार ३ सय ५८ जना वैधानिक रूपमा प्रवेश गरेका छन्। उनीहरू कहाँ÷कहाँ छन् कुनै ठेगान छैन। प्रदेशभरि ४ सय ६४ किलोमिटरको नेपाली भू–भाग भारतको सीमासँग जोडिएको छ। आठ जिल्लाबाट भारत प्रवेश गर्ने २ सय ४६ वटा ठूला—साना सीमा नाका छन्। सीमाबाट हुने आवतजावत बन्द गर्न अहिले ५३ स्थानमा बोर्डर आउट पोस्ट छ। सबै नाकामा सुरक्षाकर्मी रातदिन पहरा दिइरहेका छन्। सीमामा खान, बस्न सुरक्षाकर्मीलाई समस्या छ। वर्षा तथा हावाहुण्डरीबीच सुरक्षाकर्मी चार महिनादेखि खट्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.