टोल–टोलमा संक्रमित
बुटवल : प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमण टोल–टोलमा पुगेको छ। रुपन्देहीको बुटवल र देवदहमा समुदायस्तरमै संक्रमण फैलिएपछि स्थानीय त्रासमा छन्। कपिलवस्तुको तौलिहवा क्षेत्रमा यात्रा विवरण नै नभएका कैयौंमा संक्रमण देखिएको छ।
बाँकेमा पनि संक्रमण दर उच्च रुपमा बढेको छ। संक्रमितको संख्या ह्वात्तै बढेपछि ‘कन्ट्याक ट्रेसिङ’ गर्न कठिन भएपछि टोलभरी नै परीक्षण गर्नुपर्ने देखिएको छ। बुटवल– ११ र १३ मा कोरोना संक्रमितको संख्या बढेको छ। लक्षण देखिएका संक्रमित बढेपछि बुटवलको कोरोना विशेष अस्पतालमा जटिल प्रकृतिका बिरामीको संख्या बढेको छ।
बुधबार मात्रै बुटवलका १४ जनामा कोरोना संक्रमण देखिएको छ। कपिलवस्तुको तौलिहवामा संक्रमितले बस्ने स्थानसमेत पाएका छैनन्। कपिलवस्तुमा संक्रमण पुष्टि भएका धेरै व्यापार व्यवसाय गर्दै आएका छन्। मासु, सुन, तरकारी पसल चलाउनेहरूमा संक्रमण देखिएको हो। संक्रमण पुष्टि भएका व्यवसायीले भने–‘घरमा छुट्टै बस्ने स्थान भएन, सरकारी अस्पतालमा बस्ने व्यवस्था भएन।’ संक्रमण उच्च भइरहेका बेला सीमाबाट निर्वाद आवतजावत जारी भए पनि निगरानी गरिएको छैन।
भारतबाट आउनेहरूबाट समाजमा संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ। यसअघि लकडाउनका बेला स्थानीय तहले क्वारेन्टाइन बस्ने नियमलाई कडाईका साथ पालना गरे पनि अहिले क्वारेन्टाइन बन्द छन्। विद्यालयबाट ती संरचना हटाउन संघीय सरकारले निर्देशन दिएको थियो। कतिपय स्थानीयतहले सार्वजनिक भवनमा आइसोलेसन बनाएका छन्। धैरै पालिकामा पूर्ववत अवस्थामा संरचना सञ्चालन गरिएको छैन।
तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरे सीमा नाकामा पहिले जस्तै निगरानी बढाउन आवश्यक रहेको बताउँछन्। ‘सीमामा पूर्ववत कडाई गरौं, उनी भन्छन, ‘त्यहाँ आउनेहरूलाई सम्बन्धित पालिकाको परामर्शपछि मात्रै घर पठाउनुपर्छ।’ अहिले सीमाबाट आउनेहरू सोझै सार्वजनिक बस चढेर गन्तव्यमा जाने गरेका छन्। उनीहरु क्वारेन्टाइन बसे कि बसेनन् भन्ने निगरानी भएको छैन। निगरानी कमजोर हुँदा बढेको संक्रमण बढेको ठहर गर्दै प्रदेश ५ ले भारतीय सीमावर्ती क्षेत्रमा कडाई गर्न प्रदेश सरकारले निर्देशन दिएको छ।
प्रदेशका बाँके, कपिलवस्तु, रुपन्देही, बर्दियामा कोरोना संक्रमितको संख्या बढिरहेको छ। यसअघि भारतबाट आउनेलाई सीमावर्ती होल्डिङ सेन्टरमा राख्ने र स्थानीय तहले आफ्ना पालिकाका नागरिकलाई जिम्मा लिएर क्वारेन्टाइनमा राख्ने गरेका थिए। स्थानीय तहले पछिल्लो समय चासो नदिदा संक्रमण समुदायस्तरमै देखिन थालेको हो। रुपन्देहीको बुटवल, भैरहवा र देवदहमा समुदायस्तरका संक्रमित भेटिएका छन्। संक्रमितको कुनै यात्रा विवरण छैन्। भारतबाट आएका कुनै व्यक्तिसँग सम्पर्क भएको हुन सक्ने चिकित्सकहरुको ठहर छ। ‘समुदायमै कोरोना फैलियो भन्ने अवस्था छैन, केही व्यक्तिमा संक्रमण देखिएको छ, ट्रेसिङ भइरहेको पनि छ’, लुम्बिनी प्रादेशिक अस्पतालका डा. विष्णु गौतमले भने।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा रहेको प्रदेशस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले सीमामा कडाइ गर्न निर्देशन दिएको छ। तोकिएका स्थानबाट सुरक्षित आवागमन गर्न दिने र उनीहरूलाई १४ दिन अनिवार्य क्वारेन्टाइन बस्न लगाउने निर्णय केन्द्रले गरेको हो। पछिल्लो समय उद्योग कलकारखानामा काम गर्न आउने मजदुरलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने जिम्मेवारी उद्योगीको भएको केन्द्रले जनाएको छ। यस अघिका क्वारेन्टाइनलाई पुनः सञ्चालन गर्न र अन्तरप्रदेश आवागमनलाई सुरक्षित बनाउन जिल्लास्थित कोरोना संकटन व्यवस्थापन केन्द्रलाई निर्देशन दिइएको छ। तराईका जिल्लामा १ सय र २ सय बेडको आइसोलेसन चलाउन निर्देशन दिएको केन्द्रले रुकुम पूर्वमा ५० बेडको आइसोलन तयार गर्न भनेको छ।
कोरोना अस्पतालमा मृत्यु
बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको छ। दुवै जना कपिलवस्तुका हुन्। एक जना संक्रमित हुन् भने अर्काको लक्षण देखिए पनि स्वाबको नतिजा आएको छैन।
कपिलवस्तु नगरपालिका–२, जमुवारका ४२ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो। अस्पतालका डा. विष्णु गौतमका अनुसार निमोनिया भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको हो। यीसँगै प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। अर्का २५ वर्षीय पुरुष मंगलबार साँझ उपचारका लागि बुटवल आएका थिए। मिर्गौलामा समस्या देखिएका उनले चार दिनसम्म कपिलवस्तुमै उपचार गराइरहेका थिए। अवस्था गम्भिर भएपछि बुटवल आएका उनको भेन्टिलेटरमा मंगलबार मध्य राति मृत्यु भएको हो।