सामाजिक सञ्जालको दुरुपयोग
सूचना प्रविधिको द्रूततर विकाससँगै सामाजिक सञ्जालप्रतिको आकर्षण बढिरहेको छ। किशोरकिशोरीदेखि वृद्धवृद्धामा समेत सामाजिक सञ्जालप्रति मोह जागेको छ। तर पछिल्लो समय यसको प्रयोगसँगै दुरुपयोगका घटना बढिरहेका छन्। यसले सामाजिक जीवनलाई नै आक्रान्त पारेको छ। यसलाई निरुत्साहित गर्न नसक्ने हो भने आर्थिक हिसाबले विपन्न र अरूले अविष्कार गरेको प्रविधिमा भर पर्नुपर्ने नेपालजस्तो मुलुकले अझै क्षति बेहोर्नुपर्ने छ। नीतिगत तथा व्यावहारिक सुधारबाटै यसको दुरुपयोग रोक्नेतर्फ साझा पहल थाल्नुपर्छ।
पछिल्ला दिनमा विशेषगरी फेसबुक ट्विटर, इन्स्ट्राग्राम, भाइबरलगायतका माध्यम युवामाझ लोकप्रिय छन्। यिनै माध्यमले हत्या, हिंसा, बलात्कार, यौन दुव्र्यवहार, लुटपाट, सिकारी तथा मानव बेचबिखनका घटना हुने गरेका छन्। कतिपय घटना जानेर भएका छन् भने कतिपय अञ्जानमा पनि हुने गरेका छन्। जे भए पनि यसको दुरुपयोग हुने क्रम बढ्दो छ। चार दिनअघि गोंगबुमा भएको एक पुरुषको हत्यालाई पनि सामाजिक सञ्जाल दुरुपयोग दृष्टान्तका रूपमा लिन सकिन्छ। दुई अपरिचित महिला र पुरुषबीच फेसबुकबाटै चिनजान भयो। एक अर्कामा सुमधुर सम्बन्ध कायम भयो। फेसबुकबाट अश्लील चित्र सार्वजनिक गरेको आरोपमा महिलाबाट पुरुषको पासविक तरिकाले हत्या भयो। यसले सामाजिक सञ्जाल नबुझ्नेको जमात समाजमा बढी छ भन्ने देखाउँछ।
यसको मार किशोरकिशोरीले बढी भोगिरहेका छन्। फेसबुकबाट युवायुवतीको चिनजान हुने, सोही चिनजानका आधारमा प्रेममा फस्ने र उनीहरूको विवाह प्रस्तावमा घरपरिवारबाट अनुमति नदिएमा आत्महत्या नै गर्ने प्रवृत्ति बढिरहेको छ। परिपक्क नहुँदै विवाह गरिदिएमा एकदुई वर्षमा डिभोर्स गरेर सम्बन्ध नै तोड्ने गरेका उदाहरण पनि प्रशस्तै छन्। बेलायतमा गरिएको एक अध्ययनले सामाजिक सञ्जालको लत लागूऔषधको भन्दा पनि खतरनाक रहेको देखाएको छ। यसको प्रयोगले हाम्रो दैनिक व्यवहार र आचरणमा परिवर्तन ल्याइरहेको छ। हातमा स्मार्टफोन बोक्ने सामान्य नागरिकले हरेक १२ मिनेटको अवधिमा एकपटक सञ्जाललाई रिफ्रेस गर्ने गरेका छन्। अध्ययनअनुसार यसको लतमा फसेकाले त हरेक दुईतीन मिनेटको अवधिमा सामाजिक सञ्जाल चलाइरहेका हुन्छन्। सामाजिक सञ्जालमा खुसीभन्दा बेखुसी बढी हुने, राजनीतिक घोचपेच तथा नकारात्मक पोस्ट् र कमेन्ट बढी देखिन्छन्। यस्ता सामग्रीले तत्काल आनन्द दिने भीडतन्त्रलाई प्र श्रय दिइरहेको छ। युवादेखि वृद्धवृद्धाले समेत यस्तै सामग्रीतर्फ मन लगाउनु र अनुत्पादक क्षेत्रमा समय खेर फाल्नु दुःखद हो। यसले प्रयोगकर्तालाई नकारात्मकतातर्फ धकेलिरहेको हुन्छ। सँगसँगै ठूलो धनराशि पनि यसले खर्च गराइरहेको हुन्छ। यसतर्फ कमैको मात्र ध्यान गएको पाइन्छ। यसका फाइदा–बेफाइदाबारे आम नागरिकलाई चेतना फैलाउन नसक्नुको परिणाम पनि हो यो।
यसका सकारात्मक पक्ष भने हामीले सधैं बिर्सिरहेका हुन्छौं। इन्टरनेट र सामाजिक सञ्जालको सदुुपयोग गर्न सके विश्व बजारमा सजिलै बिक्न सकिन्छ भन्ने ज्ञान प्रयोगकर्तामा हुनुपर्छ। व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न सकिन्छ। कतिपय अवस्थामा व्यक्तिभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन पनि यसले मद्दत गर्छ। सदुपयोग गर्न नसके समय मात्र बर्बाद नभई ऊर्जासमेत खेर जानेछ। सामाजिक सञ्जालमार्फत गैरकानुनी गतिविधिमा सामेल हुनेलाई कठोर दण्डको व्यवस्था गर्नुपर्छ। कतिपय अवस्थामा अनलाइनमा अपुष्ट र नियोजित समाचार पोस्ट गरेर, फेसबुक तथा ट्विटरमा व्यक्तिको मर्यादामा आँच आउनेजस्ता सामग्री पोस्ट गरेर, टिप्पणी गरेर पनि व्यक्ति तथा संस्थाको इज्जतमा दाग लगाउने प्रवृत्ति बढिरहेको छ। यस्ता कुकृत्यमा संलग्नलाई पनि कडा कारबाहीको व्यवस्था हुनुपर्छ। ताकि भविष्यमा यस्तै काम गर्न खोज्नेहरू निरुत्साहित होऊन्।
युवा जमातमा सामाजिक सञ्जालको लत बढी छ। तसर्थ स्कुले तहको पाठ्यक्रममै सामाजिक सञ्जाल के हो ? यसका फाइदा, बेफाइदा र दुरुपयोग भए के कारबाही गर्ने भन्ने विषय पनि पाठ्यक्रममा समेट्नु उचित हुन्छ। सामाजिक सञ्जाललाई कसरी रचनात्मक काममा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा युवावस्थादेखि सिकाउनुपर्छ। अभिभावकले नानीबाबुले इन्टरनेटमा कस्ता सामग्री हेरिरहेका छन् र यो उनीहरूको व्यक्तित्व विकासमा कति सहयोगी बनिरहेको छ भन्ने विषयमा ज्ञान राख्नुपर्छ। सामाजिक सञ्जालको दुरुपयोगसँग जोडिएका घटनालाई सुरक्षा संयन्त्रले गम्भीररूपमा लिएर त्यसको निराकरणतर्फ विशेष चासो दिनुपर्छ।