वडाध्यक्ष कुटेको आरोपमा पक्राउ परेका अधिकृत अस्पताल भर्ना
मलंगवा : वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सर्लाहीको हरिपूर्वा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय अस्पताल भर्ना भएका छन्। शौचालय जाँदै गर्दा रिंगटा लागेर लडेका ५४ वर्षीय अधिकृतलाई उपचारका लागि सर्लाही अस्पताल मलंगवामा भर्ना गरिएको हो।
सुगर र ब्लडप्रेशरका रोगी रहेका राय बुधबार बेलुका लडेका थिए। अस्पतालमा रहेका रायको अवस्था अहिले समान्य रहेको छ। शौचालय जाँदा रिंगटा लागेर भर्याङमा लडेको अधिकृत रायले बताए। धेरै दिनदेखि सुगर र ब्लडप्रेशरको औषधी खाँदै आएको उनको भनाइ छ।
हरिपूर्वा नगरपालिका वडा नं. ३ धनकौलका वडाध्यक्ष धर्मराज सिंह कुशवाहालाई कुटपिट गरेको अरोपमा प्रहरीले उनलाई साउन ९ गते पक्राउ गरेको थियो।