सुदूरपश्चिममा थप ३ प्रहरीसहित १० जनामा कोरोना संक्रमण, एकको मृत्यु
धनगढी : सुदूरपश्चिममा नेपाल प्रहरीका १६ जनालाई कोरोना संक्रमण देखिएको छ । बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थप तीनजना प्रहरीमा कोरोना पुष्टि भएसँगै कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या १६ पुगेको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संक्रमित हुने प्रहरीमा ४२ वर्षका दुईजना र ४४ वर्षका एकजना रहेको बताए । कैलाली प्रहरी प्रवक्ता डीएसपी प्रतिक विष्टले २० जना प्रहरीको परीक्षण गरिएकोमा तीनजनामा कोरोना संक्रमण देखिएको बताए ।
कोरोना संक्रमण देखिएका तीनैजनालाई आइसोलेसनमा राखिएको डीएसपी विष्टले जानकारी दिए ।सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुबेदीले सुदूरपश्चिमका विभिन्न जिल्लामा गरी कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या १६ पुगेको बताए ।
उनका अनुसार हालसम्म संक्रमित हुनेमा बाजुराका ६, कञ्चनपुरका ५, कैलालीमा तीन र अछामका दुई गरी १६ जना रहेका छन् । संक्रमितमध्ये २ जना कोरोना निको भएर फर्किसकेका छन् । यस्तै तीन प्रहरीबाहेक अन्य ७ जनामा कोरोना संक्रमण देखिएको छ । धनगढी र डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार १० जनामा संक्रमण देखिएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा चार सय ७९ जनाको कोरोना परीक्षण गरिएकोमा ६ महिला र दुई पुरुष गरी ८ जनामा संक्रमण संक्रमण देखिएको हो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा तीन सय ५२ जनाको परीक्षण गरिएकोमा दुई जनामा संक्रमण देखिएको हो ।
योसँगै सुदूरपश्चिममा कोरोनाबाट संक्रमित हुनेको संख्या चार हजार ९ सय ६९ पुगेको छ । यसमध्ये सबै भन्दाबढी कैलालीमा एक हजार दुई सय ८५ जनामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, डोटीमा सात सय ९५, अछाममा सात सय ३३, बाजुरामा ६ सय २२ र कञ्चनपुरमा ५ सय ८०, डडेल्धुरामा तीन सय १२, बैतडीमा तीन सय एक, बझाङमा दुई सय ९६ र दार्चुलाका ४५ जना रहेका छन् । संक्रमितमध्ये चार हजार ८३ जना डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ ।
यस्तै बिहीबार मात्र एकजना संक्रमितको मृत्यु भएको । अछामको रामारोशन गाउँपालिका ५ का १८ वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको हो। उनको साउन २८ गते ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको थियो। उनी मुटु रोगी थिए।