पीसीआर रिपोर्ट नेगेटिभ भए मात्र सुर्खेत प्रवेश पाइने
सुर्खेत : अब बाह्य जिल्लाबाट सुर्खेत प्रवेश गर्ने जो सुकैले पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ। सुर्खेत आउने मुख्य नाकाहरुबाट भित्रनेहरुले अनिवार्य पीसीआर रिपोर्ट देखाउनु पर्ने भएको हो। बबई, कुइने, कालिमाटी काल्चे नाकाबाट सुर्खेत भित्रनेहरुले पीसीआर नेगेटिभ भएको रिपोर्ट देखाए मात्रै जिल्ला प्रवेश गर्न दिने तयारी भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए।
यस्तै उनका अनुसार जिल्ला प्रशासन कार्यालय सुर्खेतले आगामी भदौ १ गतेदेखि वीरेन्द्रनगरमा पनि निषेधाज्ञा गर्ने भएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिको विहिबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि भदौ ५ गते राती १२ बजेसम्म निधेषाज्ञा गर्ने निर्णय गरेको हो। सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढ्न थालेपछि तत्काल वीरेन्द्रनगरमा निषेषाज्ञा लागुगर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए।
निश्चित समयसम्म मात्रै निषेधाज्ञा लागु गर्न लागिएकाले अत्यावश्यक र निर्माण योजनाहरु बाहेक अन्य क्षेत्र पूर्ण रुपमा बन्द गरिने उनको भनाई छ। वीरेन्द्रनगर बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड नअपनाएर पसल सञ्चालन गर्ने, भीडभाड धेरै गर्ने, पर्वहरुका नाममा जथाभावी नाचगान गर्नुका साथै दर खानजाने प्रवृत्ती बढेकाले निषेधाज्ञा गर्नु परेको जिल्ला प्रशासनले जनाएको छ।
निषेधाज्ञाको क्रममा समस्यामा परेका व्यक्तिहरुलाई राहत तथा उद्धार गर्न अनुगमन समिति बनाएर परिचालन गरिनेछ। प्रजिअ रेग्मीले भने, ‘समितिले सम्वन्धित ठाउँको आवश्यकताअनुसार त्यस्ता व्यक्तिहरुका मागलाई सम्बोधन गर्नेछ। तर विगतको जस्तो मनमौजी गर्नेलाई कुनै छुट दिने छैनौं।’ यसअघि नै कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतसहित सेवाग्राहीको भीड हुने कार्यालयहरुमा यही साउन २५ गतेबाट अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको थियो।
वीरेन्द्रनगर नगरपालिकाले पनि साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय बन्द गर्ने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए। यसैबिच विहिबार मात्रै सुर्खेतमा थप १८ जनामा कोरोना संक्रमण पृष्टी भएको छ। पछिल्लो तीन दिनमा मात्रै सुर्खेतका ६४ जनालाई कोरोना लागेको हो।